नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा अर्याल सहित ९ सरकारी कर्मचारी र अन्य ३ विरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरू ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबी गरिएको छ । मुद्दा दायर भएकाहरूमा मुख्यसचिव अर्यालसहित अर्थ सहसचिव रितेश कुमार शाक्य, भन्सार विभागका टेकप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल रहेका छन् । त्यसैगरी आन्तरिक राजश्व विभागका गणेश विक्रम शाही, सूचना प्रविधि केन्द्रका सफल श्रेष्ठसहित शाखा अधिकृत रविन्द्र प्रसाद पौडेल र लेखा अधिकृत विष्णु प्रसाद गौतम, चारीहरू हरि वल्लभ घिमिरे र शक्तिप्रसाद श्रेष्ठविरुद्ध पनि मुद्दा दायर भएको छ ।
त्यसैगरी खरिद परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, त्यस्तै अन्तःशुल्क स्टिकर छपाइको ठेक्का पाएको कम्पनी प्रिन्टसेल र त्यसका निर्देशक केशव शर्मालाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।