भक्तपुरमा थर्मल थेरापी संस्कृतिको आविर्भाव भैरहेकोछ I दक्षिण कोरियाको नुगा कम्पनीको नुगा एन–४ मेशिनको प्रयोग बढिरहेकोछ हिजोआज I यसै सन्दर्भमा मेरा नवपरिचित मित्र दीपक खत्रीले मलाई गट्ठाघर स्थित नुगा सेन्टर लैजानुभो र देखें तन्नेरी महिलाहरूदेखि वृद्ध वृद्धासमेत विहान चार बजेदेखि लाइन लागेर सात बजे मात्र वितरण गरिने टोकन लिएर चारतलामाथि हलमा पुग्दारहेछन् I तत्पश्चात त्यहाँ फूलको आँखामा फूलै संसार भन्ने आनी डोल्माको गीत बज्दोरहेछ सबैले ताली बजाएर गाउनु पर्दोरहेछ अनि त्यसपछि नेपालको राष्ट्रगानको पालो आउँदोरहेछ, सबै उठेर गाउनुपर्दो रहेछ अनि गान सकिएपछि फेरी जोरले ताली पिट्नु पर्दोरहेछ I अनि नुगाको अंग्रेजी गीतमा हात हल्लाएर साधारण व्यायाम गरिँदो रहेछ I अनि अन्त्यमा कुनै शारीरिक कसरत गराइँदो रहेछ I बिहान लाइन बसेर टोकन लिएर दीपकजी र म एक हूल मान्छेहरूसित चारतलामाथि उक्ल्यौं । हालको ढोकैछेउ उभिएर बसेका सञ्चालक राजेन्द्र भुसालसित वहाँले मेरो परिचय गराउनुभो- सन्तोष पोखरेल ईन्जिनियर साब् I
यो ईन्जिनियर साब भन्ने पदवीदेखि केही वर्षदेखि मेरो नातो नै छैन नेपालमा I मैले यो काम गर्न छाडेको केही वर्ष भैसक्यो, गतिलो र राष्ट्रिय महत्वको काम गर्नै दिदैनन्, भ्रस्टाचार मात्र छ तलदेखि माथि मन्त्रीसम्म, सबै सेटिंग मिलाएर खान्छन् I काम बिगार्छन् र रोक्न खोज्यो भने कामबाट हटाइदिन्छन् I म धेरै पटक कामबाट हटाइएको छु- दुई वर्षअघि मात्र सुनकोशी मरिन डाइभर्सन प्रोजेक्टबाट मैले काममा निकै कडाई गरें भनेर घर आएको बेला पारेर ईमेल गरेर सम्झौता खारेज गरिदिए I टीभी गएँ, युट्यूब गएँ, अन्तर्वार्ता दिएँ, कराएँ, पत्रिकाले पनि पहिला त कराइटोपले तर केही भएन I मन्त्रीले सुने, प्रधानमन्त्रीले सुने, कोही बोलेनन् I बहालवाला मन्त्रीलाई भेट्छु भनेर खबर पठाएँ उसैकी बुढीमार्फत-एउटा भाइले परिचय गराइदिएका थिए, मन्त्रीले भेट्दिन भनेछ I अनि वकिलहरूले हामी मुद्दा लडिदिन्छौँ भने, मुद्दा हालियो काठमाण्डौ जिल्ला अदालतमा, मुद्दा झुलाएर झन्डै बर्षै लाइदियो अनि फैसला भाको सात महिनापछि फैसलाको कागत दियो अदालतले I फैसलाको कागत त्यो न्यायाधीशले २० दिन जति खल्तीमै राखेर हिडेको थियो भन्ने सुनियो अनि पछि फैसला हेर्दा त मेरो फिरादमा कहीं कतै नलेखिएको न त प्रतिवादीको प्रतिउत्तरमै लेखिएको अनि न त हाम्रा बहसमा कसैले कहीं कतै उच्चारण गरेको एउटा भ्रस्ट ईन्जिनियरको नाम उल्लेख गरिएको मैले देखें, म छक्क परें I त्यो इन्जिनियरको डेपुटी टीमलिडर मसित विवाद परेपछि डरले राजीनामा दिएर भागेको थियो- उ भ्रष्ट थियो अनि लगत्तै उसको साथी इन्जिनियरले पनि जागिर छाडेको थियो I यो न्यायाधीश त भ्रष्ट रहेछ गालामा एक थप्पड हानुँ जस्तो लागो भने मैले, फाँटवालाले केही बोल्न सकेन I त्यो फैसलाको कागत मेरो बायोडाटा लिएर प्रोजेक्ट हात पार्ने कन्सल्टेन्सीले लेखेको थियो भन्ने कुरामा म अनि मेरा वकिल साथीहरू विश्वस्त थियौं किनभने अर्को इन्जिनियरको नाम कहीं कतै कुनै पक्षबाट पनि आएको थिएन र फैसलामा कसरी आयो त ? न्याय बिकाउ देखेर दिक्क लाग्यो तै अब ऊच्च अदालतमा हालौं भन्नुभो वकिल साथीहरूले, हाल्यौं I दुई राम्रा वकिलहरूले बहस गर्नुभो तर न्याय नास्ति – जिल्लाको सदर I
मेरानिम्ति न्यायका निम्ति एकपैसो नलिइकन मुद्दा लडिदिने मेरा शुभचिन्तक वकिलहरूलाई यसै गन्थनमार्फत् धन्यवाद दिन्छु I
मलाई थाहा छैन यो मेरो गन्थन पाठकहरूलाई कत्तिको सान्दर्भिक लाग्ला तर थेरापीसित मेरो साइनो मेरो फुर्सदी जीवनले नै सम्भव बनाएको हो - न म बेजागीरको हुन्थें न म लखर लखर घुम्थें न त शिवमन्दिरमा दीपकजीसित भेट हुन्थ्यो, न त म थेरापीमा पुग्थें I त्यसैले होला थेरापीका बारे केही शब्द कोरौं भन्दा मेरो कुरो आइहाल्यो I पाठकले पढिदिनुभो, बुझिदिनुभो म कृतकृत्य भएँ I यी कुरा बेलिबिस्तार लाउँदै गर्दा एउटा अर्को कुरो पनि भानिहालूँ यो मुलुकका नेता र कर्मचारी बहुसंख्यक भ्रष्ट छन् र इमान्दार र काम गरिखानेको यहाँ गुन्जाइस नै छैन, यही कुरो सोंच्दै घुमिरहेको यो मान्छेलाई थर्मल थेरापीमा लगेर शरीर स्वस्थ बन्न सहयोग गर्ने दीपकजी धन्यवादकै पात्र हुनुहुन्छ I म अलि तन्दुरुस्त नैं भएछु, मासु घटेछ, अनुहारको भने चमक बढेछ I बाहिर सब ठीक छ मनको कुरो कसलाई कहूँ I
बिहानको जगाई र थेरापी सेन्टर सम्मको हिंडाई अनि टोकन लिएर भागशान्तिले आफ्नो पालो पर्खाई अनि पालो आएपछिको चट्टानको धुलाबाट १३०० डिग्रीतापमा गालेर बनाइएका टर्मोलिन र अरु ढुंगाको योगबाट बनाइएका डल्लाहरूबाट सेक्ने र मालिस गर्ने काम मेशिनमाथि सुतेपछि उसैले गर्छ I
गर्धनको भागदेखि कम्मरसम्मको भाग सेन्टरको आधारभूत उपचार सुविधामा पर्दोरहेछ र त्यो निःशुल्क रहेछ अनि पो सबै तेत्रो लाइन लागेर ५ देखि ६ घण्टा दिएर उपचार गराउँदा रहेछन् I मैले पनि गराएँ म पनि अलि तन्ग्रिएँ I यसको श्रेय सेन्टर सञ्चालक मृदुभाषी राजेन्द्र भुसाललाई कसरी नदिनू ?
अँ, मैले माथि इतिवृत्तान्त फेहरिस्त प्रस्तूत गरेको राष्ट्रगानदेखि नुगा कसरत एकातिरको कुरो अनि अर्कोतिर नुगाबेस्ट आइ लव यू, आइ लव यू नुगाबेस्ट, चो स्यून ह्यून नम्बर वान, एम डी सर नम्बर वान- राजीव सर नम्बर वान, गणेश सर नम्बर वान, सञ्चालक सर नम्बर वान, राजेन्द्र सर नम्बर वान भनी सबैले आआफ्ना दुवै हात माथि उठाएर ठूलो आवाज़मा कर्तलध्वनिका साथ हल गुन्जायमान गरेको सम्झना लामो समयसम्म रहनेछ I अनि यसैबीच मृदुभाषी राजेन्द्र भुसाल अगाडि आएर नमस्कार, नमस्ते, अनानासियो भनेर झुकेको दैनिकीले सञ्चालकको व्यापारिक कौशल र व्यक्तिगत शिष्टताको याद दिलाइरहनेछ I
एउटा कुरो खट्केको पक्कै हो, सानु जागिर खानेहरू धेरै ठूला नभई नम्र भइदिन जानेको भए कति सुन्दर हुन्थ्यो होला ! मुलुक नै यो रोगले आक्रान्त जो छ कसरी चोखा रहून् यिनीहरू?
असार ४, २०८१, भक्तपुर I
(निबन्धकार विश्वचर्चित बहुभाषी कवि एवं साहित्यकार हुनुहुन्छI)