शनिबार, आश्विन १७ गते २०८३
#NepaliEconomy #बजेटखर्च

जेठ मसान्तसम्म पुँजीगत खर्च ४४ प्रतिशत मात्रै


आषाढ २, २०८१ आइतबार
जेठ मसान्तसम्म पुँजीगत खर्च ४४ प्रतिशत मात्रै

विगत आर्थिक वर्षहरूमा जस्तै यस आ.व.मा पनि समयमा विकास खर्च नहुने परम्परका कायमै रहेको देखिएको छ ।  चालु आर्थिक वर्ष २०८०/८१ सकिन एक महिना मात्रै बाँकी रहँदा सरकारले पुँजीगत खर्च लक्ष्यको ४४.६८ प्रतिशत  मात्र गर्न सकेको देखिएको छ । 

चालु आर्थिक वर्षको जेठमसान्त सम्ममा पुँजीगत खर्चतर्फ १३४ अर्ब ९७ करोड ९२ लाख रुपैयाँ बराबर मात्रै खर्च भएको छ। यो विनियोजित रकमको ४४.६८ प्रतिशत मात्रै हो । चालु आ.व.का लागि पुँजीगत शीर्षकमा सरकारले ३०२ अर्ब ७ करोड ४४ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । 

महालेखा नियन्त्रक कार्यालयका अनुसार यस अवधिमा सरकारले चालुतर्फ भने वार्षिक लक्ष्यको ७२.६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७२.७ प्रतिशत बराबर बजेट खर्च गरिसकेको छ । 

चालु आवका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको कुल बजेट ल्याएकोमा चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ बराबर विनियोजन भएकामा जेठ मसान्तसम्ममा आठ खर्ब २२ अर्ब ८० करोड ९३ लाख रुपैयाँ बराबर खर्च भएको छ ।
     
वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षका लागि तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख रुपैयाँ बराबर विनियोजन भएकामा ७२ दशमलव सात प्रतिशत अर्थात् दुई खर्ब २३ अर्ब ५० करोड ८८ लाख रुपैयाँ बराबर खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकको बजेट सरकारले लिएकाे ऋणको साँवा र ब्याज तिर्नमा खर्च हुने गर्दछ ।