शुक्रबार, कार्तिक ७ गते २०८३

प्रत्यक्ष पराेक्ष चाप्लुसीले पछुताउनु पर्छ - महेन्द्र


जेठ ३२, २०८१ शुक्रबार
प्रत्यक्ष पराेक्ष चाप्लुसीले पछुताउनु पर्छ - महेन्द्र

लुकिछिपी वा देखापरेको चाप्लुसीले न देश बन्नसक्छ न देशवासीलाई झुक्याउन सकिन्छ। यो कुरो जानेबुझेका र खासगरी कर्मचारीले अझै राम्ररी चिनेनन् भने यसको फल त्यस्तैले पछुताएर भोग्नुपर्ने छ ....
: राजा महेन्द्र

२०१९ बैशाख १ गते राजा महेन्द्र (वि.स.१९७७–२०२८) ले नवलपरासीको गैंडाकोटमा चाँदीको गैंतीले खनेर पूर्वपश्चिम (महेन्द्र) राजमार्गको शिलान्यास गरे । त्यसअघि यो राजमार्ग बनाउन देशभित्र सर्वसाधारणबाट चन्दा उठाइएको थियो । शिलान्यास समारोहमा राजा महेन्द्रले लामो भाषण दिए । सो भाषणमा उनले कर्मचारीहरूलाई किन ललकारेका हुन्, थाहा भएन । त्यही भाषणको अंशका रुपमा माथि उल्लेखित अभिव्यक्ति उनले त्यस दिन दिएका थिए; हे.नेपालको राजनीतिक दर्पण, तेस्रो भाग, २०४० को संस्करण, पृ. ३५१–५४।

वास्तबमा यो राजमार्ग निर्माणको प्रतिबद्धता २०१६ साउन ९ गते तत्कालीन संसदको दुवै सदनमा बीपी कोईराला प्रधानमन्त्रित्वको सरकारले प्रस्तुत गरेको नीति र कार्यक्रममा “नेपाल अधिराज्यको पूर्व र पश्चिम इलाकालाई जोड्ने निर्माण गर्ने भएको राजमार्गको निमित्त समुचित सर्वेक्षण यसैपाली शुरु हुनेछ” भन्ने ब्यहोराका अतिरिक्त र आमनिर्वाचन २०१५ को लागि काँग्रेसको चुनाबी घोषणापत्रमा समावेश भईसकेको कार्यक्रमलाई महेन्द्रले अघि बढाएका हुन् ।

Bp - mahedra.jpg
२०१७ सालमा राजा महेन्द्रले जनताबाट दुईतिहाईभन्दा पनि बढीको, प्रचण्ड बहुमतप्राप्त, जननायक बीपी कोइराला नेतृत्वको सरकारलाई भङ्गमात्र गरेनन्, संसद भङ्ग, संसदका सभामुख (कृष्णप्रसाद भट्टराई) लाई समेत प्रधानमन्त्री तथा अन्य मन्त्रीहरूसहित बन्दी बनाए ।

 तर काँग्रेस सरकारले प्रस्तुत गरेका आर्थिक–सामाजिक कार्यक्रमको बाटोमा हिँडेर आफू सफल हुने आकांक्षा लिएको प्रष्ट देखिन्थ्यो । यसबारेमा प्रसिद्ध अर्थशास्त्री डा. देवेन्द्रराज पाण्डेले ठीक भनेका छन्, “बी.पी.का योजना खोसेर महेन्द्र विकास पुरुष बन्न खोजे” (नयाँ पत्रिका दै., शुक्रबार ६ असोज ०७५)।
महेन्द्रले आफ्नो दोस्रो बिहे रत्नसँग गर्ने अठोट गरेको, उनका पिता राजा त्रिभुवनलाई एकरत्ती मन परेको थिएन । बिहे नगरी नछोड्ने हो भने उनको युवराज पद खोसेर गोरखा दरबारको एक छेऊमा बसोबास मिलाईदिने तहमा त्रिभुवन पुगेका थिए । बीपी, गणेशमानजी, सुवर्णजीको प्रयासले यसो गर्नबाट राजा हच्किए, तर उनी सो बिहेमा उपस्थित नभएर कलकत्ता जाने भए, र गए । यता महेन्द्रलाई बिहेको लागि नपुगेको रू. ४० हजार सुवर्णजीले हालिदिनु भएको थियो । तर उनलाई राजा हुने रोलक्रम नखोसिदिने यिनै प्रजातन्त्रवादी नेताहरूलाई २०१७ सालमा राजाले सरकार भंग गरेर जेल हाले, सर्वश्व हरण गरे, पार्टी प्रतिबन्धित गरिदिए ।
राजा महेन्द्रको विषयमा आफूहरूलाई राजा त्रिभुवनले सचेत गराउँथे भनी बीपले आत्मबृत्तान्त (पृ. २६६, संस्करण २०६७) मा उल्लेख गर्नुभएको छ, “यो कुरा मलाई राजाले भनेनन्, तर अरूलाई राजाले भनेछन् कि बी.पी.ले यसो गरे, तर यो क्राउन प्रिन्सले तिमीहरूलाई रुवाउँछ– तिमीहरूलाई धुरुधुरु रुवाउँछ । मैले चिन्हेको छुँ, त्यसले धुरुधुरु रुवाउँछ ।” 

Bighatan.jpg

तर जे भए पनि राजनीतिक रुपमा महेन्द्रले अक्षम्य घातक काम गरे । लोकतन्त्र र क्रान्तिको दुहाई दिँदैआएका पार्टीका नेताहरू त सत्ता र शक्ति चलाउन पाउँदा निरंकुश हुनै खोज्छन् भने महेन्द्र त निरंकुशता मन पराउने राजा नै भए । तथापि उनले राष्ट्रियताको सम्बर्धनलगायत देशमा संरचनागत सुधारमा पुर्याएको योगदानलाई सकारात्मक नै मान्नुपर्छ ।