आइतबार, कार्तिक ९ गते २०८३

वडास्तरमा पुगेन बैंकको पहुँच, ६० प्रतिशत वडामा छैन शाखा


जेठ ३१, २०८१ बिहीबार
वडास्तरमा पुगेन बैंकको पहुँच, ६० प्रतिशत वडामा छैन शाखा

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को सामुदायिक प्रतिवेदनले नेपालको चार हजार २१ वटा वडामा वित्तिय सेवा नपुगेको देखाएको छ ।  मुलुकमा  ७५३ पालिका र ६ हजार ७४२ वटा   वडा छन् । त्यसमा ५९.६ प्रतिशत पालिकामा बैंक तथा वित्तिय संस्थाको पहुँच  पुगेको छैन । 

तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको शाखा स्थापना भएको वडा भने २ हजार ७२२ रहेको छ । त्योअनुसार ४०.४ प्रतिशत वडामा बैंक तथा वित्तिय संस्थाको शाखा स्थापना भएको देखिन्छ । त्यसमा १ देखि २ वटा बैंक तथा वित्तीय संस्था भएका वडा २५.५ प्रतिशत रहेका छन् । ३ देखि ४ वटा बैंकको शाखा हुने वडाहरु ६.६ प्रतिशत रहेको तथ्यांकले देखाएको छ  । ५ देखि ९ वटा शाखा भएका वडा ५.५ प्रतिशत छन् भने १० भन्दा बढी  शाखा भएका वडा २.८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । 

हाल नेपालको ७५३ वटा पालिका मध्ये बझाङ जिल्लाको साइपाल पालिकामै समेत बैंक तथा वित्तिय संस्थाको शाखा पुगेको छैन । नेपालमा बैंक तथा वित्तिय संस्थाको शाखा नभएको एक मात्रै पालिका साइपाल हो । २०७४ सालमा राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै बाणिज्य बैंकहरुलाई पालिका नै तोकेर शाखा खोल्न  निर्देशन दिएको थियो ।   साइपाल गाउँपालिका एभरेष्ट बैंकको भागमापरेको भए पनि सडक, इन्टरनेट लगायतका आधारभुत पुर्वाधार नभएपछि एभरेष्ट बैंकले त्यहाँ शाखा विस्तार गर्न सकेको छैन ।

राष्ट्र बैंकबाट इजाज्त प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०८१ बैशाख मसान्तमा ११० रहेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०८० असार मसान्तमा ११,५८९ रहेकोमा २०८१ बैशाख मसान्तमा ११,५६६ कायम भएको छ । राष्ट्र बैंकले एक व्यक्ति एक बैंक खाताको अवधारणा ल्याएको भए पनि वडास्तरमा शाखाको अभावले सबै नेपाली बैंकमा जोडिन सकेका छैनन्।