तीन दिन देशका विभिन्न भुभागमा अधिक तापक्रम हुने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क गराएको छ ।
महाशाखाले आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भूभागहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएको भन्दै आवश्यक तयारी गर्न र आवश्यक सतर्कता अपनाउन भनेको हो ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराइ भेगमा विगत केहि दिन देखि ४० डिग्री सेल्सियसभन्दा माथिकाे तापमान रेकर्ड गरिएकाे महाशाखाले जनाएकाे छ ।
२०८१ जेठ २९ गते मंगलबार देखि २०८१ जेठ ३१ गते बिहीबारसम्म ती इलाकामा तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सावधानी अपनाउन भनेको हो ।
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्छ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटक(पटक पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले भनेको छ ।

नेपालपत्र संवाददाता