शनिबार, आश्विन १७ गते २०८३

दश महिनामा भित्रियो १२ खर्ब विप्रेषण, राेजगारको प्रमुख गन्तब्य युएइ र कतार

जेठ २९, २०८१ मंगलबार
दश महिनामा भित्रियो १२ खर्ब विप्रेषण, राेजगारको प्रमुख गन्तब्य युएइ र कतार

चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनाको अवधिमा करिब १२ खर्ब विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई रु. ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो ।

त्यस अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत–नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८९३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख २१ हजार २७९ र २ लाख ३८ हजार ९७६ रहेको थियो ।

चालु आ.व.मा सबैभन्दा बढी नयाँ श्रम स्वीकृति लिनेमा युएइ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेमा कतारमा रोजगारीका लागि जानेहरू रहेका छन् । दश महिनाको अविधमा युएइ जानको लागि १ लाख २ हजार ८४४ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । कतार जानका लागि ७८ हजार ७७७ जनाले श्रम स्वीकृति लिएका छन् । युएइ र कतार बाहेक वैदेशिक रोजगारका लागि कामदार मलेशिया, साउदी अरब र कुवेत गएका छन् ।