शुक्रबार, कार्तिक ७ गते २०८३

भारतीय आमचुनाव र मोदीको नयाँ सरकार : नेपालबाट हेर्दा


जेठ २८, २०८१ सोमबार
भारतीय आमचुनाव र मोदीको नयाँ सरकार : नेपालबाट हेर्दा

यसपालीको भारतीय संसदको निर्वाचनपछि गठित गठबन्धन सरकारले आफ्नो विदेशनीतिमा हेरफेर गर्ला ? हेरफेरको अपेक्षा नगर्नु बेश ! किनकि ७२ सदस्यीय मन्त्रिमण्डलमा ६० जना त प्रधानमन्त्री नरेन्द्र मोदीकै पार्टीका मन्त्री छन्, जसमा गृह, परराष्ट्र, अर्थ, रक्षा जस्ता मन्त्रालयहरू साविककै अनुहारले सम्हाल्ने निश्चितप्रायः छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीका प्रशंसक तथा भाजपा निकट मानिएको एउटा चल्तीको टीभी च्यानलमा सुनियो, “यस निर्वाचनपछि मोदीजीको सरकारले केही यस्ता काम पनि गर्नेछ, जसमा बुलडोजर लगाउनु पर्ने भए पनि किन नहोस्....!”

भारतमा छ हप्ता समय लगाएर भएको लोकसभा (केन्द्रीय संसद) को चुनावी नतिजा भारतीय जनता पार्टी (भाजपा) र प्रधानमन्त्री नरेन्द्र मोदीको हासोन्मुख लोकप्रियता र टुटे–फुटेको मतादेश (Fractured Mandate) चेतावनीको अर्थमा बुझ्नु ठीक हुन्छ । त्यो चेतावनी हो, भारत राज्य र विविधताहरूको एउटा संघ हो, राष्ट्रको विविधता र संविधानवादलाई उपेक्षा नगर ।

यही सत्तारुढ भाजपा नारा घन्काउने गर्थ्यो, “हिन्दी हिन्दू हिन्दुस्तान.....!” २० करोडभन्दा ज्यादा मुसल्मान जनसंख्या भएको भारतमा सत्तारुढ भाजपाले जम्मा ७ प्रतिशत मात्र मुस्लिम मत पाउनु चेतावनीको घन्टी (Alarming Bell) बजेको अर्थमा सत्ताले बुझ्यो कि बुझेन, तर पर्यवेक्षकहरूले यस्तै बुझे ।

अहंकारको गन्ध आउने अति आत्मविश्वास, जातिगत आग्रहको जोडमा आधारित निर्वाचन, विगत पाँचवर्षसम्म जनतामा नाकमुख नदेखिएका कतिपय उम्मेद्वारको अलोकप्रियता, मोदी–योगी (आदित्यनाथ) को कृपाले जहाजी बेडा पार लाग्ने भ्रम, राम मन्दिर निर्माण (अयोध्या–फैजावाद) क्षेत्रमै भाजपाका उम्मेद्वारको हारबाट उत्पन्न शर्मनाक अवस्था आदि कारणले गर्दा मोदी–योगीकै कर्मभूमि उत्तर प्रदेशमा भाजपाले आफ्नो बर्चश्व आधा घटाउन पुगेको अवस्थाले नेपालका एकथरिलाई साह्रै अमिल्चो अवस्था लागेको होला ।

जे होस्, नेपालको छिमेकमा दुनियाको सबभन्दा ठूलो निर्वाचन र सबभन्दा ठूलो लोकतान्त्रिक अभ्यास भएको छ । नयाँ मोदीको सरकारमा सातजना महिला मन्त्री (९.५ प्रतिशत) रहेछन् । पाँचौं प्रधानमन्त्री चौधरी चरण सिंहका नाती, पूर्वमन्त्री अजीत सिंहका छोरा जयन्त चौधरी, पूर्वप्रधानमन्त्री एचडी देवेगौडाका छोरा एच.डी. कुमारस्वामी, बिहारका समाजवादी नेता तथा पूर्वमूख्यमन्त्री कर्पुरी ठाकुरका छोरा रामनाथ ठाकुर, सबभन्दा धनी (भा.रु. ५७०५ करोड) चन्द्रशेखर पम्मासानी पनि मन्त्री बनेका छन् ।

सय दिनका कार्यसूचि (Agenda) तय गर्ने, संसदको अधिवेशन यथाशीघ्र बोलाउने, किसान  घरवारविहीन जनहित कार्यक्रम   र प्रधानमन्त्री मोदी G-7 को बैठकमा भाग लिन रोम (इटली) जाने आदिको तयारीमा मोदी सरकार लागेको छ ।

असल छिमेकी कुटनीतियुक्त ‘छिमेकी पहिले’ (Neighbour First) नीति ब्यवहारमा अनुभव गर्न पाइयोस् । जननिर्वाचित भारतीय सरकारलाई नेपाली जनताको तर्फबाट हार्दिक बधाई तथा शुभकामना !

----------
विभिन्न भारतीय सञ्चारमाध्यम का आधारमा स्वतन्त्र पर्यवेक्षण