शुक्रबार, कार्तिक ७ गते २०८३

वैदेशिक रोजगारीमा जाने श्रमिकसँग लिइएको अवैध रकम फिर्ता गराउन विभाग घेराउ गरिने


जेठ २८, २०८१ सोमबार
वैदेशिक रोजगारीमा जाने श्रमिकसँग लिइएको अवैध रकम फिर्ता गराउन विभाग घेराउ गरिने


आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग लिइएको अवैध रकम फिर्ता गराउन आगामी असार २ गतेदेखि वैदेशिक रोजगार विभाग घेराउ गर्ने भएको छ ।  रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रमहरु जानकारी गराइएको हो ।

आईटीआर्मीका संस्थापक अध्यक्ष चन्द्रभुषण साहले वैदेशिक रोजगारीमा जाने लाखौं युवाहरुबाट खर्बौं रकम अवैध रुपमा असुली भएको बताए । लामो समयदेखि भइरहेको उक्त अवैध असुलीलाई आइटीआर्मीले रोक्न चाहेको उनले बताए । उनले यसरी अवैध रुपमा गरिएको असुली फिर्ता गराएर छाड्ने बताए । ‘लाखौं लाख युवासँग खर्बौैं रकम ठगी भइरहेको छ । १० हजारको नाममा १० लाख, ५ लाख गरी लाखौंलाख अवैध असुली भइरहेको छ । विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौं । असुली भएको रकम फिर्ता गराउन चाहन्छौं,’– उनले भने । 
नेपालको हरेक राजनीतिक आन्दोलनमा युवाहरुले योगदान गरेपनि युवाहरुको भविष्यमाथि सरकार गम्भीर नबनेको उनको भनाइ छ । उनले संविधानको धारा ३३ मा रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरिएपनि यो शासन सत्ताले युवाहरुलाई रोजगार दिन नसकेको बताए ।

साथै, उनले युवाहरुले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुण्डीमार्फत भित्रिइरहेको पनि बताए । नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरुले हुण्डीमार्फत पैसा ल्याएर आफ्नो कालोधन विदेशमा थुपार्ने काम गरिरहेको उनको आरोप छ । नेताहरु विना लगानी मेनपावरको शेयर होल्डर बनिरहेको पनि उनले बताए । यस्ता प्रकारका दुष्चक्र अन्त्य हुनु्पर्ने आईटीआर्मीको माग छ ।

‘हाम्रा युवाहरुलाई आज मरुभूमिमा मर्न बाध्य बनाइएको छ । ती युवाहरुले पठाउने रेमिट्यान्सलाई नेपालका भ्रष्ट नेताहरु, यहाँका प्रसाशकहरु र अवैध व्यापारीहरुले आफ्नो कालो धनलाई सट्टापट्टाको रुपमा प्रयोग गर्ने अस्त्रको रुपमा प्रयोग गरिरहेको सन्दर्भ छ,’– उनले भने । 
साथै, विदेशमा ज्यान गुमाउने युवाहरुको मृत्यूलाई उनले ‘राज्यद्वारा गरिएको हत्या’ का रुपमा परिभाषित गरे । यसको जिम्मेवारी राज्यले लिनुपर्ने बताए । वैदेशिक रोजगारीमा पठाउँदा जीटूजी प्रणाली अवलम्बन गरिनुपर्ने उनको माग छ । 
आईटी आर्मीका केन्द्रीय सचिव प्रशान्त केसीले विदेश पठाउने नाममा धेरै अनियमितता, भ्रष्टाचार र ठगी भइरहेको बताए । अहिलेसम्म यी मुद्दामा कुनै राजनीतिक दलहरुले आवाज नउठाइदिएकाले आफूले सशक्त रुपमा आवाज उठाउने निर्णय गरेको उनले सुनाए । गलत काम गर्ने मेनपावर व्यवसायी र त्यस्ता काममा संलग्नहरुको विरुद्ध अब आईटीआर्मीले धावा बोल्ने उनले उद्घोष गरे । आईटीआर्मीका महासचिव नरेश... ले नेपालमा सदियौंदेखि वैदेशिक रोगजारीमा पठाउने परम्परा चलिरहेको र कुनै न कुनै रुपमा यसमा नेताहरुको संलग्नता रहेको बताए । नेताहरुले मेनपावरको माध्यमबाट युवाहरुलाई लुटिरहेको उनले बताए ।