शुक्रबार, कार्तिक ७ गते २०८३

अलेक्जेन्डर द ग्रेटका अन्तिम तीन इच्छा


जेठ २६, २०८१ शनिबार
अलेक्जेन्डर द ग्रेटका अन्तिम तीन इच्छा

१) “मेरा डाक्टरहरूले मात्र मेरो कफिन (शव बाकस) बोक्नुपर्छ । २) मेरो कफिनलाई चिहानमा लैजाँदा, मैले जम्मा गरेको धनसम्पत्तिले चिहानसम्म जाने बाटो भरियोस् । ३) मेरो तेस्रो र अन्तिम इच्छा मेरा दुवै हात मेरो कफिन बाहिरै झुण्ड्याइराख्नू ।”

जब अलेक्ज्याण्डर द ग्रेट (ई.पू. ३५६–३२३) राज्यहरू जित्दै साम्राज्य फैलाएर स्वदेश (‘म्यासेडन’ नामक प्राचीन ग्रीक अधिराज्य) फर्के, त्यसपछि उनी बिरामी परे र मृत्युशय्यामा पुगे । उनले आफ्ना सेनापतिहरूलाई भेला गरे र भने, “म अब यस संसारबाट छिट्टै बिदा हुनेछु, मेरो तीनटा इच्छा छन्, ती पूरा गरिदेउ ।”
उनले आफ्ना तीन अन्तिम इच्छा बताए—
१) “मेरा डाक्टरहरूले मात्र मेरो कफिन (शव बाकस) बोक्नुपर्छ । २) मेरो कफिनलाई चिहानमा लैजाँदा, मैले जम्मा गरेको धनसम्पत्तिले चिहानसम्म जाने बाटो भरियोस् । ३) मेरो तेस्रो र अन्तिम इच्छा मेरा दुवै हात मेरो कफिन बाहिरै झुण्ड्याइराख्नू ।”
सेनापतिहरू आफ्ना राजाको अन्तिम इच्छा पालन गर्न राजी भए र उनलाई त्यसो गर्नुपर्ने कारण पनि सोधे । अलेक्ज्याण्डरले भने, “मैले भर्खरै सिकेको तीनवटा पाठ संसारलाई बुझाएर पृथ्वीबाट विदा हुन चाहन्छु । म के चाहन्छु भने मेरा डाक्टरहरूले मेरो कफिन बोकुन् किनभने मृत्युले चाह्यो भने पृथ्वीमा कुनै पनि डाक्टरले कसैलाई निको पार्न सक्दैन । तिनीहरू मृत्युको अगाडि असहाय छन् भन्ने कठोर सत्य मानिसहरूले बुझ्नुपर्छ ।”
दोस्रो इच्छामा आफ्नो लाशमार्गमा धनसम्पत्ती छर्नुपर्ने कारणबारे राजाले भने, “मैले जीवनभर धन कमाउन बिताएँ, तर केही पनि साथमा लैजान नसक्ने भएँ । धन–सम्पत्ति भनेको बाटाको धुलोमात्र रहेछ भनेर मानिसहरूले थाहा पाउन् ।”
मेरो तेस्रो इच्छा, हामी मानिस यो संसारमा खाली हात आएको र म पनि खाली हात जाँदै छु भनेर मानिसहरूले थाहा पाउन् भन्ने कामना गर्दछु ।”
जुन १० वा ११ का दिन हो, ३२ वर्षकै उमेरमा बेबिलोनमा १४ दिनको बिमारीपछि उनको मृत्यु भयो । आफ्नो उत्तराधिकारी को हो ? भन्ने प्रश्नमा उनले “सबभन्दा बलिष्ठ जो हुन्छ उही” भनेको पाइन्छ ।
उनको मृत्युको कारणबारे दुईटा मत छन् । एकथरिले उनको मृत्यु ज्वरो बिग्रेर सायद टाइफाईड वा निमोनियाको कारण हो भनेका छन् । अर्कोथरिले चाहिं घातक वाइन खाएर ११ दिनपछि मृत्यु भएको भनेका छन् ! उहिले कहिलेको कुरो, के हो के होइन !