मे महिनामा ९० हजार २११ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले आइतबार यो तथ्यांक सार्वजनिक गरेको हो । बोर्डका अनुसार सन् २०२३ को मे महिनामा भन्दा यस वर्ष पर्यटक आगमन १६.१० प्रतिशतले वृद्धि भएको छ ।
यस अघि कुनै वर्षमा मे महिनामा यति संख्यामा पर्यटक आएका थिएनन् । सन् २०२३ को मे मा ७७ हजार ७०३ जना विदेशी पर्यटक नेपाल आएका थिए। अघिल्ला वर्षहरूमा मे महिनामा सबैभन्दा बढी सन् २०१९ मा ७८ हजार ३२९ पर्यटक मुलुकमा भित्रिएको रेकर्ड छ ।
मे महिनामा सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ३८ हजार २८८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। यस अवधिमा चीनबाट आठ हजार ३८१ जना र अमेरिकाबाट आठ हजार ५२७ पर्यटक नेपाल भ्रमणमा आएको बोर्डले जनाएको छ।
बाेर्डको तथ्यांक अनुसार सन् २०२४ को जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६ पर्यटक नेपाल भित्रिएका छन् । यसपटक सबैभन्दा बढी २०२४ को मार्च महिनामा १ लाख २८ हजार १६७ पयर्टक नेपाल भित्रिएको तथ्यांक छ । अप्रिलमा महिनामा भने १ लाख ११ हजार ३७६ पर्यटक नेपाल आए ।
विश्वव्यापी काेभिड महामारीसँगै सन् २०२० बाट ओरालो लागेको पर्यटक आगमनको ग्राफ सन् २०२२ पछि भने क्रमशः उकालो लाग्न थालेको हो ।
नेपालपत्र संवाददाता