शुक्रबार, कार्तिक ७ गते २०८३

बढ्दो उच्च दरको बेरोजगारी भारतको सबभन्दा ठूलो समस्या बन्दै

जेठ १८, २०८१ शुक्रबार
बढ्दो उच्च दरको बेरोजगारी भारतको सबभन्दा ठूलो समस्या बन्दै
–लोकनारायण सुबेदी 
भारतमा मई महिनाको अन्तिम सातामा जुन खबरले सबैलाई झस्कायो त्यो खबर थियो – आईआईटी क्षेत्रमा उत्तिर्ण भएका ३८ प्रतिशत यूवाहरुले रोजगारी पाएनन् । आईआईटीको यो खबर भारतका लागि निकै निराशाजनक र चकित पार्ने खबर थियो । किनभने बिगतमा आईआईटीमा प्रबेश पाए पछि राम्रो रोजगारीको सुनिश्चितता नै हुने गरेको थियो । त्यसमा केवल यत्ति मात्र फरक पर्ने गर्दथ्यो कि कतिपयले ६० लाख रुपैया प्रतिबर्षको प्याकेज पाउने गर्थे भने कतिपयलाई रु ३ करोड प्रतिबर्षको प्याकेज मिल्दथ्यो । तर यो बर्ष भने आईआईटीको प्रतिष्ठित मानिने डिग्री पाएर पनि ५० हजार महिनाको नोकरी या रोजगारी पनि पाइरहेको स्थिति पनि छैन । यसमा  कुनै सुधार आउने स्थिति पनि निकट समयमा देखापररिहेको छैन भन्ने अर्थ–बिश्लेषकहरुको निचोड देखिन्छ । किनकि यतिबेला सारा बिश्व भरी नै मन्दीको प्रभाव परिरहेको  र त्यो घट्नुको साटो बढिरहेको छ । त्यसैले भारतमा पनि ती आईआईटी डिग्रीधारी यूवाहरुले कतिबर्षसम्म घरमा बेरोजगार भएर बस्नु पर्ने हो या अन्य कुनै मामोली नोकरीमा भर पर्नु पर्ने हो कुनै सुनिश्चितता छैन ।
हुन पनि भारतमा त्यो आईआईटीमा भरना हुने र त्यहाँ अध्ययन गर्ने कुरा कुनै सरल सहज कुरा होइन पनि । आमा बाबुले आफ्नो कमाईको बर्षौको आयबाट छोराछोरीलाई आईआईटीमा भरना गरेका हुन्छन् र उनीहरुको भबिष्य बनाउन सम्पूर्ण जसो श्रम झोकिदिएका हुन्छन् । यो उनीहरुको लाखांै रुपैयाको लगानी  र बर्षाैंको तपस्या पछि बल्ल आईआईटीमा पढ्न पाउने स्थिति हुन्छ । त्यसपछि मात्र त्यसबाट आफ्नो लागतको भर्पाई हुने अपेक्षा माता पिताले राख्दछन् । भारतको दिल्ली जस्तो राजधानीको शहर होस् कि अन्य दुर दराजका कम बिकसित शहरहरु हुन् आईटी अध्ययन गर्न चाहने यूवाहरुको संख्या भने लाखौं लाख हुने गरेको देखिन्छ । तर सबैले अध्ययन गर्न पाउने कुराको पनि कुनै सुनिश्चितता हुँदैन । अनि एउटा मध्यम बर्गीय परिबारका यूवाहरु बेरोजगारीबाट निराश  भएर बसेको खिन्न अनुहार देख्दा आमा बाबुको मन पनि अप्रसन्न हुने नै भयो । यद्यपि यसमा न ती यूवाहरुको दोष छ न तिनका माता–पिताको नै । यो संकट भारतमा पनि सही आर्थिक नीतिको अभावको कारण उत्पन्न भएको नै अर्थबेत्ताहरु बताउँदछन् । 
  भनिन्छ भारतको मद्रास आईआईटको प्रो.एम सुरेश बाबु र साइ चन्दन कोट्टुले भारतको बेरोजगारीका बारेमा एउटा तथ्यात्मक अनुसन्धानपत्र प्रस्तुत गरेका थिए । तिनको के भनाइ रहेको थियो भने ५० हजार करोडको ‘गरीब कल्याण रोजगार अभियान’ले तत्कालका लागि केही राहत अबश्य मिल्दो हो त्यसले शहरमा कुनै स्तरीय रोजगारी मिल्न भने सक्तैन । भारतको आर्थिक सामाजिक संरचनालाई हेर्दा शहरहरुमा अनौपचारिक रोजगारीको मात्रालाई क्रमशः घटाएर औपचारिक रोजगारीको अवसरतिर  ध्यान दिनु पर्ने उनीहरुको सुझाव रहेको छ । अहिले भारतको खुम्चिदो अर्थब्यवस्थाका कारण वास्तवमा त्यहाँ बरोजगारी खतरनाक स्तरमा पुगिसकेको औंल्याइदै । तथ्यांक प्रस्तुत गर्दै भनिएको छ – भवन निर्माणमा ५० प्रतिशत, ब्यापार, होटेल तथा अन्य सेवाहरुमा ४७ प्रतिशत, औद्योगिक उत्पादनको क्षेत्रमा ३९ प्रतिशत तथा खनन क्षेत्रमा २३ प्रतिशत बेरोजगारी अहिले फैलिसकेको छ । अझ चिन्ताको कुरा के छ भने यी माथि उल्लिखत  क्षेत्र त्यस्ता क्षेत्र मानिन्छन् जसले भारतलाई सबैभन्दा बढी रोजगारी दिन्छन् । त्यसैले माथि प्रस्तुत बेरोजगारीका तथ्यांकको प्रभाव भारतमा भयावह बनेको छ । अत्यन्तै तीब्र गतिमा ती क्षेत्रहरु खुम्चिदै गएका छन् । त्यसबाट अझ तीब्र गतिमा बेरोजगारी बढ्ने स्थिति पैदा हुँदै जानेछ  । दुइ छाक टार्न पनि नपाउने स्थितिमा लाखौ मजदुर र तिनमा आश्रित मानिसहरु जस्तो किसिकमले कोरोना महामारीका बेला पैदलै हिडेर आफ्नो गाउ घर पैदलै फर्केका थिए यो बढ्दो बेरोजगारीले त्यो भन्दा पनि भयानक स्थिति उत्पन्न हुनसक्ने औंल्याइदैछ । यहाँ के उल्लेख गर्नै पर्दछ भने दक्षिण एशियाली देशहरुमा अनौपचारिक रोजगारीको मामिलामा भारत नै सबैभनदा अगाडि छ । यसको अर्थ हो कि भारतमा करोडौं मजदुरमाथि एकदमै कठिन अबस्थमा काम गर्नुपर्ने कठिन बाध्यता टडकारो बन्दैछ । यसरी करोडौं मजदुरले कम मजदुरीमा काम गर्नु पर्ने हुन्छ जहाँ उनीहरुलाई कुनै आधारभूत अधिकारहरु पनि प्राप्त छैनन् कि कुनै कामको कसाकसी गर्न सकुन् । तिनलाई नोकरी या रोजगारी दिनेहरुले कुनै पनि बेला उनीहरुलाई त्यसबाट निकाल्न सक्छन् । किनकि उनीहरुको हक हित हेर्ने ट्रेड यूनिनय त्यो क्षेत्रमा छैनन् । 
अन्तर्राष्टिय श्रम संगठन(आईएलओ)का अनुसार नै पनि भारतमा यतिबेला ५३.५ करोड मजदुरमध्ये ३९.८ प्रतिशत करोड मजदुरले अत्यन्तै दयनीय अबस्थामा काम गर्नु परिरहेको छ, जसको दैनिक आम्दानी २०० रुपैयाभन्दा पनि कम हुन्छ । त्यसैले अहिले संसदीय चुनावको खैलाबैला चलिरहेको भारतमा जुनसुकै दलको एकल या संयुक्त सरकार आए पनि त्यसका सामु दुइटा ठूला चूनौतहरु रहेको औंल्याइदै छ । पहिलो चूनौति हो शहरहरुमा रोजगारीका अवसरहरु कसरी बढाउने ? किनभने बितेको १० बर्षमा मोदी बिकास मन्त्र जति जपिए पनि भारत बेरोजगारीको प्रतिशत लगातार बढ्दै गएको छ । बरु अहिले त के भनिएको छ भने बिगत ४५ बर्षयता अहिले भारतमा सबैभन्दा बढी बेरोजगारी बढेको छ । अनि दोश्रो कुरा हो – शहरी मजदूरहरुको आमदानी कसरी बृद्धि गर्न सकिन्छ भन्ने कुरा । त्यसो नगर्ने हो भने मजदुरहरुलाई तिनको अमानबीय स्थितिबाट बाहिर निकाल्दै सकिने छैन । अर्को साता अर्थात ४ जूनका दिन चुनाव परिणाम आएर सरकार बने पछि त्यसले तीनवटा काम – शहरीकरणको फैलिदो स्थितिलाई ध्यानमा राखेर शहरी रोजगारी बढाउन स्थानीय सरकारसँग समन्वय गरेर रोजगारी बढाउनु पर्नेछ । त्यसो गर्दा बढ्दो शहरीकरणबाट जुन अनियोजित बिकास र गन्दगीपूर्ण बस्ती बन्दछ त्यसलाई रोक्न पनि मद्दद मिल्छ भन्ने अर्थ–बिकास बिशेषज्ञहरु सुझाव दिइरहेका छन् । त्यसका लागि स्थानीय शासनलाई बढी संसाधन प्रदान गनुपर्ने तिनको सुझाव छ । अनि दोश्रो कुरा, स्थानीय स्तरमा रोजगारी सिजना गर्ने खालका बिकासात्मक नीतिहरु लगु गर्नु पर्ने र तेश्रो कुरा शहरी आधारभूत संरचनामाथि बिशेष ध्यान दिएर स्थानीय अर्थब्यवस्था सुधार्ने योजना हुुनपर्ने, चौथा,े बिकासका लागि बाँडफाँड गरिएको बजेट या धनराशीको लाभ ती शहरी मजदुरसम्म कहिल्यै पुग्ने गरेको छैन र त्यो माथिका मानिसहरुमै सीमित हुने गरेको छ । त्यसैले त्यहाँ बिकासका नाममा किनिने गरेका ठूला मेशिनहरुको साटो श्रममा आधारित बिकास योजनाहरुको तर्जुमा गरिनु आवश्यक छ भनिएको छ । पाँचौ, कुरा शहरी रोजगारी योजनाले स्वास्थ्य र सरसफाई जस्ता क्षेत्र पनि तीब्ररुपमा बढाइनु किन पर्दछ भने भारतको ग्रामीण अर्थब्यवस्था यस स्थितिमा छैन कि उसले प्रबासी मदुरहरुलाई पनि रोजगारी दिन सकोस् । त्यस्तो अबस्था भएको भए उनीहरु गाउँ छोडेर शहर जाने थिएनन् । बिद्यमान यस्तो  स्थितिमा  अहिलेसम्मका भारत लागु गरिएका योजनाहरुले आम मानिसहरुमा थप रोजगारी मिल्ने कुरा मूर्खता पूर्ण हुने पनि बिज्ञहरुले बताइरहेका छन् र रोजगारी पैदा गर्न तिनलाई पनि थप के सुधार गर्न सकिन्छ त्यतातिर पनि ध्यान दिनुपर्ने उनीहरु औंल्याइरहेका छन् । तर त्यसो गर्नु एउटा सानो र अपर्याप्त कुरा मात्र हुने छ भनिरहेका छन् । 
यो त केवल बिद्यमान शहरी  मजदुरहरुको कुरा मात्र भयो । भारतमा डिग्रीधारी असंख्य ठूलो करोडौंको यूवा जमात अहिले पनि बेरोजगार बनेर बसिरहेको छ ।उनीहरुका लागि जतिसक्दो चाँडो रोजगारीको ब्यवस्था नगर्ने हो भने यूवाहरुमा बढ्दो आक्रोश सम्हाल्न बहुत कठिन हुने पनि उनीहरुले औल्याइरहेका छन् । बढ्दो यो भयावह बेरोजगारीले भारतमा जुन समस्या पैदा हुँदैछ त्यो सानोतिनो चूनौति होइन । बिश्वको तेश्रो आर्थिक शक्ति र बिश्व गुरु बन्ने हो–हल्लाका बीच बेरोजगारीको यो तस्वीरले भारतको बर्तमान बास्तबिकता छर्लंग पार्दछ ।