शुक्रबार, कार्तिक ७ गते २०८३

‘अधिक तरलता भएको अवस्थामा लगानीका लागि थप सहज हुने विश्वास छ ’

जेठ १७, २०८१ बिहीबार
‘अधिक तरलता भएको  अवस्थामा लगानीका लागि थप सहज हुने विश्वास छ  ’

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले  पर्यटन, जलविद्युत्, स्टार्टअप, सूचना प्रविधि लगायत प्रचुर सम्भावनाका क्षेत्रहरूलाई पहिचान गरी प्राथमिकतासाथ बजेट छुट्टाउनु राम्रो पक्ष भएको बताए ।

 विषम परिस्थितिमा पनि आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट सन्तुलित तथा समयसापेक्ष  आएको  उनको धारणा छ । आज काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा  बोल्दै उनले   निजी क्षेत्रलाई सँगसँगै अगाडि लैजाने बजेटमा आउँदा बैंकलाई लगानी बढाउने अवसर पनि हुने  जनाए ।

अधिक तरलता भएको अहिलेको अवस्थामा लगानीका लागि थप सहज हुने उनको भनाई छ । यसका लागि बैंकिङ क्षेत्र सहकार्य गर्न तयार रहेको उनको भनाई छ । सामाजिक सुरक्षा कोषमा लाग्ने दोहोरो कर हटाउनुपर्ने, निष्क्रीय कर्जा अनुपात बढ्दै जाँदा बैंकलाई कर छुट दिनुपर्ने जस्ता सुुझाव राखिएपनि पूरा नभएको गुनासो उनले गरे । सबै सरकारी अफिस, मालपोत तथा कर कार्यालय बैंकिङ प्रणालीमा जोड्ने बजेटको उद्देश्य स्वागतयोग्य भएको बताउँदै उनले यस नीतिका कारण बैंकको लागत पनि कम हुने अपेक्षा गरिएको बताए । बैंकको सुरक्षा लगायतमा सचेतना कार्यक्रम गर्ने लक्ष्य बजेटमै आउँदा बैंकिङ क्षेत्रको मनोबल बढेको उनले बताए ।  

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता