सरकारले विद्युतीय सवारीसाधनमा करको दर बढाएको छ। आगामी आर्थिक वर्ष २०८१ ८२ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले विद्युतीय सवारीसाधनमा कर बढाएका हुन् ।
सरकारले समग्रमा १० प्रतिशतका दरले कर बढाएको छ । यस अघि ५० किलोवाटसम्मको ईभीमा भन्सार दर १० प्रतिशत रहेकोमा १५ प्रतिशत पुर्याएको छ। अन्तशुल्क छुट रहेकोमा ५ प्रतिशत कायम गरिएको छ ।
त्यसैगरी ५१ देखि १०० किलोवाटसम्मका विद्युतीय सवारी साधनमा भन्सार र अन्तशुल्क दुवै ५ प्रतिशत बढाइएको छ । यसअघि १५ प्रतिशत भन्सार र १० प्रतिशत रहेको अन्त शुल्क अब क्रमशः २० र १५ प्रतिशत हुनेछ ।
१०१ देखि २०० किलोवाटसम्मका सवारीसाधनमा भन्सार शुल्क ३० प्रतिशत र अन्तशुल्क २० प्रतिशत पुर्याइएको छ । यस अघि भन्सार शुल्क २० प्रतिशत र अन्त शुल्क २० प्रतिशत थियो । २०१ देखि ३०० किलोवाटको २० प्रतिशत भन्सार बढाएर ४० बाट ६० प्रतिशत पुर्याइएको छ । अन्त शुल्क भने १० प्रतिशत घटेर ४५ बाट ३५ प्रतिशत कायम भएको छ ।
३०० किलोवाटभन्दा माथिका सवारीमा २० प्रतिशत भन्सार बढेर ६० प्रतिशतबाट ८० प्रतिशत कायम गरिएको छ भने अन्त शुल्क १० प्रतिशत घटेर ६० प्रतिशत बाट ५० प्रतिशत कायम गरिएको छ ।
नेपालपत्र संवाददाता