सर्वसाधारण जनतालाइ वस्तु तथा सेवा प्रदान गर्ने उदेश्यले खुलेका सार्वजनिक संस्थान सञ्चालनको अवस्था सन्तोषजनक रहेको छैन । कतिपय सार्वजनिक संस्थानले त सरकारलाइ विगत पाँच वर्षदेखि निरन्तर नोक्सानीको भार बोकाइरहेका छन् ।
अर्थ मन्त्रालयले प्रकाशित गरेको सार्वजनिक संस्थानको वार्षिक स्थित समीक्षा २०८१ अनुसार आर्थिक वर्ष २०७९/८० मा उच्च नोक्सान भएका ५ संस्थानले करिब २ अर्ब ४० करोडको घाटा पुर्याएका छन् ।
उच्च नोक्सान भएका पाँच सार्वजनिक संस्थानमा क्रमशः नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग र नेपाल टेलिभिजन रहेका छन् । यी संस्थानको नोक्सान कूल नोक्सानको ७१.७८ प्रतिशत रहेको छ ।
ती ५ मध्येपिन आ.व. २०७९/८० मा सबैभन्दा बढी खुद नोक्सान नेपाल वायुसेवा निगमको रहेको छ। निगम आ.व. २०७६/७७ देखि समीक्षा अवधिसम्म निरन्तर नोक्सानमा सञ्चालित छ। आ.व.२०७८/७९ को तुलनामा खुद नोक्सान घटेतापनि संस्थानको वित्तीय अवस्था सन्तोषजनक रहेको देखिदैन । वित्तीय संस्थाबाट कर्जा लिई खरिद गरिएका जहाजको साँवा र व्याज भुक्तानी गर्न समस्या हुनु, उच्च प्रशासनिक खर्च, जहाजको न्यून संचालन, समयमा उडान नहुनु, व्यावसायिक योजनाको न्यून कार्यान्वयन जस्ता कारणको फलस्वरूप समग्र अवस्था खस्कँदो देखिएको समीक्षामा उल्लेख छ ।

यसैगरी खानेपानी संस्थान र नेपाल टेलिभिजन आ.व. २०७५/७६ बाट निरन्तर खुद नोक्सानीमा संचालित छन् भने उदयपुर सिमेन्ट उद्योग लि. आ.व. २०७६/७७ र दुग्ध विकास संस्था आ.व. २०७७/७८ बाट खुद नोक्सानीमा संचालन भइरहेका छन्। नेपाल टेलिभजनलाई सेवामूलक उद्देश्यका साथ संचालन गर्दा व्यावसायिकता विकास हुन नसक्नु, इन्टरनेटमा आधारित नयाँ मिडियाका कारण ग्राहक घट्नु, खानेपानी संस्थानमा महशूल बक्यौता उच्च हुनु, स्थानीय तहसँगको कमजोर समन्वय, महशूल समयानुकूल वृद्धि गर्न नसक्नु, उदयपुर सिमेन्ट उद्योग लिमिटेड आधा भन्दा कम क्षमतामा संचालन हुनु, प्रशासनिक खर्च उच्च हुनु जस्ता कारण रहेको औंल्याइएको छ ।
त्यसैगरी दुग्ध विकास संस्थानले आफ्ना उत्पादनको बजारीकरण गर्न नसक्नु, बजारको आवश्यकता माग भन्दा बढी दुग्ध पदार्थ उत्पादन गरी स्टक राख्नु, समग्र व्यवस्थापकीय कमजोरी हुनु, साँवा र व्याज समयमा भुक्तानी गर्न नसक्नु जस्ता समस्याहरूले खुद नोक्सान तथा संचित नोक्सानी कम गर्न सकेको देखिदैन। ती संस्थानको व्यावसायिक योजनाको कार्यान्वयन अवस्था समेत कमजोर रहेको छ।
अर्कोतर्फ सबैभन्दा बढी नाफा आर्जन गर्ने ५ संस्थानहरूमा नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष रहेका छन् । यी ५ संस्थानले कुल आ.व.२०७८र७९ मा ७८ अर्ब २४ करोड मुनाफा सरकारलाइ दिलाएका छन् ।
नेपालपत्र संवाददाता