ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको साकोस कोषाध्यक्ष गोष्ठीको तयारी कहाँ पुग्यो ?
हामीले यही जेठ १८ र १९ गते साकोस कोषाध्यक्षहरुको गोष्ठी गर्न गइरहेका छौं । विगतका बर्षहरु देखि नै हामीले संघमा आवद्ध सदस्य संस्थाहरुको लागि विभिन्न शिक्षा तथा तालिम कार्यक्रम सञ्चालन गर्दै आएका छौं । त्यसका साथै समयसापेक्ष रुपमा अध्यक्ष, लेखा समिति र व्यवस्थापकको गोष्ठी गर्ने गरेका छौं । यही साता कोषाध्यक्षहरुको गोष्ठी गर्न गइरहेका छौं । सहकारी क्षेत्रमा अनेकन समस्याहरु देखापरेका छन् र हामीले पनि ती समस्याहरु अनुभव गरिरहेका छौं । सहकारी संस्थाले सदस्यको बचत फिर्ता गर्न सकेनन् भनेर बजारमा होहल्ला गरिएको छ । जति पनि सहकारी संस्थामा समस्या आएको छ, ती संस्थाहरुको अध्ययन गर्दा कोषाध्यक्षहरुले जुन भूमिका निवार्ह गर्नुपर्ने थियो, त्यो भूमिका निर्वाह गर्न नसकेको हामीले पाएका छौं । ललितपुर बचत संघमा आवद्ध सदस्य संस्थाहरुमा त्यस्तो समस्या नदेखियोस् भनेर हामीले गोष्ठी मार्फत कोषाध्यक्षहरुलाई सक्रिय बनाउन लागेका हौं । सहकारी संस्थाका कोषाध्यक्षहरु दक्ष बनुन् र उनीहरुले संस्थामा आफ्नो काम, कर्तव्य र अधिकार थाहा गर्न सकुन् भनेर नै हामीले यो गोष्ठी गर्न लागेका हौं ।
सहकारी संस्थाको कोषाध्यक्ष रहिरहँदा आफ्नो भूमिका थाहा गर्दै संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सकुन् भन्ने पनि गोष्ठीको उदेश्य रहेको छ । आफुले जानेका कुराहरु अरुहरुलाई सिकाउन र नजानेका कुराहरु प्रशिक्षकहरु बाट सिक्न सकुन् भने गोष्ठीको लक्ष्य छ । हामीले ललितपुरमा रहेका बचत तथा ऋणको कारोबार गर्ने सम्पूर्ण संस्थाका कोषाध्यक्षहरुलाई गोष्ठीमा सहभागी हुन अनुरोध गरेका छौं । संघमा आवद्ध रहेका ४ सय भन्दा बढी सहकारी संस्थाका कोषाध्यक्षलाई एकैपटक गोष्ठीमा सहभागी गराउन सक्दैनौं । त्यसमध्ये १ सय संस्थाका कोषाध्यक्षहरुलाई मात्र गोष्ठीमा सहभागी गराउन सक्ने भएकाले ‘फष्ट कम फष्ट सर्भिस’ को आधारमा सहभागिता गराउँछौं । संस्थाको कोषाध्यक्ष रहँदा आफ्नो काम, कर्तव्य र अधिकारलाई थाहा गर्नुपर्छ र संस्थाको कारोबारमा तलमाथि भएमा मैले केही थाहा पाइँन भन्ने अवस्था नआओस् भन्ने सुनिश्चित गर्न गोष्ठीले सघाउन पु¥याउने छ । गोष्ठीमा सबै संस्थाका कोषाध्यक्षहरुलाई सहभागी हुन म हार्दिक अनुरोध गर्दछु । आफु आवद्ध संस्थालाई राम्रो बनाउन र सहकारी अभियानमा ऐक्यवद्धता जनाउन सबैलाई गोष्ठीमा सहभागी हुन मेरो आग्रह छ ।
जिल्ला तहदेसख केन्द्रीय तहसम्म गोष्ठी हुने गरेको भए पनि त्यसबाट प्राप्त उपलब्धी भने खासै देखिँदैन नि ?
हामीले गोष्ठीको लागि मात्र गोष्ठी गर्न लागेका छैनौं । हामीले धेरै शुल्क लिएर नलिइ न्युनत शुल्क लिएका छौं र बचत संघको शिक्षा कोषबाट पनि खर्च गर्ने गरी गोष्ठी गर्दैछौं । कोषाध्यक्ष भए पछि संस्थाको सम्पूर्ण वित्तीय कारोबारको बारेमा जानकारी हुनुपर्छ । यसअघि संघले अध्यक्षहरुको गोष्ठी आयोजना गरेको थियो, त्यससम्बन्धमा राम्रो फिडव्याक पायौं । संघको उदेश्य भनेको सदस्य संस्थाका पदाधिकारीहरुलाई आ–आफ्ना जिम्मेवारीका बारेमा प्रष्ट रुपमा जानकारी गराएर सहकारी संस्थालाई राम्रो बनाउन अभिप्रेरित गर्नु हो । कोषाध्यक्षहरुले पनि आफ्नो भूमिका प्रष्टसँग बुझ्नु भयो भने मात्र संस्था व्यवस्थित रुपमा अगाडि बढ्छ भन्ने हाम्रो बुझाई रहेको छ ।
अहिले सहकारी क्षेत्रमा के भइराखेको छ, के कस्ता प्रविधिको प्रयोगमो छन् र सहकारी अभियानलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर छलफल तथा अन्तरक्र्रिया गर्छौं । गोष्ठी सकिएको भोलिपल्ट नै त्यसबाट परिणाम आउँदैन, त्यसका लागि समय लाग्छ नै । गोष्ठीमा सिकेका कुरालाई आफ्नो संस्थामा लागु गर्न समय लाग्छ र क्रमश लागु गर्दै जान सकियो भने यसले सहकारी अभियानलाई शुद्धिकरण गर्न मद्दत पु¥याउँछ । हामीले गोष्ठी आयोजना धेरै मेहनतकासाथ गरेका छौं, गोष्ठीमा विषय विज्ञबाट नयाँ नयाँ कुरा सिकाइन्छ, उहाहरुँँलाई विषयकेन्द्रित रहेर प्रस्तुतिकरणको लागि भनेका छौं । उहाँहरुबाट धेरै भन्दा धेरै आउटपुट निकाल्ने गरी गोष्ठीलाई अगाडि बढाएका छौं । गोष्ठीमा अन्तरक्र्रिया हुन्छ, थाहा नभएको कुरा थाह गर्न पाइन्छ, आफुसँग भएका सीप र अनुभवहरुलाई अरुहरुलाई पनि शेयर गर्ने अवसर मिल्छ । यसर्थ गोष्ठीबाट सहभागीहरुले धेरै कुरा सिक्न र बुझ्न पाउँछन् भन्ने हाम्रो विश्वास छ ।
सहकारीमा कोषाध्यक्षको भूमिका कस्तो हुनुपर्छ ?
अहिले जुन जुन संस्थामा समस्या आएको छ, ती संस्थाहरुको अध्ययन गर्दा कोषाध्यक्षहरुले आफ्नो भूमिका निर्वाह गर्न नसकेको पाइएको छ । अध्यक्ष र व्यवस्थापकलाई देखाएर पन्छिने गरेको देखिन्छ । यस्तो प्रवृत्ति संस्थाको लागि राम्रो होइन भनेरै हामीले कोषाध्यक्षलाई जिम्मेवार बनाउन गोष्ठी गर्न लागेका हौं । हिजोको दिनमा संस्थामा अध्यक्ष र व्यवस्थापक हावी भए होलान्, अब सबै पक्ष सच्चिनुपर्छ । त्यो मौका हामीलाई समयले दिएको छ । समयमा नै हामी सच्चिएनौं भने मुलुकको सहकारी अभियान धराशायी हुनसक्छ । अब लहैलहैमा संस्था सञ्चालन गरेर सफल हुँदैन, एक दिन दुर्घटनामा पर्न सक्छ । समयमा तालिम तथा गोष्ठी मार्फत सहकारी सञ्चालनको बारेमा ज्ञान लिएर संस्थाहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । संस्थामा कोषाध्यक्ष भाइटल रोलमा हुन्छ । बचत तथा ऋण सहकारीले पैसाको कारोबार गर्छ । कोषको सम्पूर्ण जिम्मेवारी कोषाध्यक्षमा निहित रहन्छ । कोषाध्यक्षले चेकमा हस्ताक्षर मात्रै गर्ने होइन, हस्ताक्षर गर्नूपूर्व मैले केका लागि हस्ताक्षर गर्दैछु भन्ने कुरा प्रष्ट रुपमा बुझ्नुपर्छ । संंस्थामा बचतको अवस्था कस्तो छ, कुन प्रकारको बचत छ, कुन कुन क्षेत्रमा ऋण लगानी भइरोखको छ, ऋण लगानी गर्दा कस्तो धितो लिइएको छ, कर्मचारीको क्षमता कति छ, यी सबै कुरालाई बुझ्न जरुरी छ । कोषाध्यक्ष नाम मात्रको हनुहुँदैन र बनाइनु पनि हुँदैन । कोषाध्यक्ष भइसकेपछि साक्षीको रुपमा मात्र आफुलाई उभ्याउनु हुदैन । सम्पूर्ण संस्थाका पदाधिकारीहरुले आफ्नो पदिय जिम्मेवारी अनुसार आफ्नो काम गर्नैपर्छ ।
एउटा कोषाध्यक्षले आफ्नो जिम्मेवारी थाहा गर्न सक्यो भने संस्थामा वित्तीय पारदर्शिता कायम हुन्छ त ?
सहकारीमा चाहिने भनेकै वित्तीय पारदर्शिता हो । सञ्चालकहरु स्वनियमनमा बस्नुपर्छ र संस्थामा बचत तथा ऋणको हिसाबकिताबलाई पारदर्शी रुपमा राख्नुपर्छ । संस्थाको कारोबारलाई पारदर्शी बनाउन टेवा पुन्याउनको लागि नै यो गोष्ठी आयोजना गरिएको हो । कोषको बारेमा कोषाध्यक्षलाई नै थाहा भएन भने अरु कसलाई थाहा हुन्छ । कसैले लेखिदिएको प्रतिवेदन साभारणसभामा पढ्ने मात्र कोषाध्यक्ष हुनुुहुँदैन भन्ने हाम्रो भनाई हो । रिपोर्टमा उल्लेख भएको एक एक अंक केलाउन सक्ने कोषाध्यक्ष हुनुपर्छ । रिपोर्टमा उल्लेख भएको अंक कहाँबाट ल्याइएको हो, त्यसको आधार के के हो भन्ने कुरा कोषाध्यक्षले प्रष्टरुपमा बुझ्नुपर्छ । आफुले बुझेर सदस्यहरुलाई पनि बुझाउन सक्ने कोषाध्यक्ष हुनपर्छ ।
बचत तथा ऋण सहकारीले पैसाको कारोबार गर्ने भएकाले एउटा कोषाध्यक्षमा न्युनतम शैक्षिक योग्यता आवश्यक पर्ला नि ?
सम्बन्धित विषयको अध्ययन गरेको व्यक्ति हुँदा संस्थामा राम्रो हुन्छ नै । हामीले पढ्दाखेरी डेविट क्रेडिट गर्नुपथ्र्यो, मेन्युल्ली चार खातामा भर्नुपथ्र्यो । अहिले सफ्टवेयरको प्रयोग बढेर गएको छ । यसले कारोबारलाई सहज र पारदर्शी बनाउन सजिलो बनाएको छ । सफ्टवेयर सञ्चालन गर्न त्यहि विषयको विज्ञ हुनुपर्छ भन्ने छैन । हाम्रो समयमा डेविट क्रेडिट म्यानुअल रुपमा पढ्नुपथ्र्यो । अहिले सफ्टवेयर आएपछि डेविट क्रेडिट नै चाहिँदैन । पैसा आउदा यसरी रेकर्ड राख्ने र निकाल्दा यसरी राख्ने भनेर सिक्न सकियो भने विषयविज्ञ नै हुनुपर्दैन । सफ्टवेयरको प्रयोग बारे जानकारी लिएर त्यसमा कसरी हिसाब राखिन्छ भनेर जान्न सकियो भने पनि संस्थाको कारोबार हेर्न र व्यवस्थित गर्न सकिन्छ ।
संस्थामा बचत र ऋणको प्रकार के छ, नियमित र आवधिक बचतको हिस्सा कति छ? संस्थाको नाफा घाटा र कोषहरुको अवस्था के छ, संस्था जोखिममा छ कि छैन भन्ने जस्ता कुराको जानकारी राख्न सके संस्थालाई सही दिशामा अगाडि बढाउन सकिन्छ । भल्ट र बैंकमा कति रकम छ , ऋण लगानी प्रक्रिया के छ, सही ठाउँमा ऋण लगानी भएको छ कि छैन र ऋण लगानीबाट साँवाव्याज उठेको छ कि छैन भन्ने जस्ता सामान्य कुराको जानकारी राख्न सकियो भने पनि संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सकिन्छ ।
सहकारीमा तालिम तथा गोष्ठी धेरै हुने भए पनि त्यसको प्रभावकारिता सहकारी संस्थामा देखिए नि ?
जति पनि सहकारीमा समस्या देखिएको छ, ती सहकारी संस्था कुनै संघमा सदस्य बनेको जस्तो मलाई लाग्दैन । ती सहकारीका सञ्चालक र कर्मचारीहरु जिल्ला बचतसंघ, नेफस्कून, सहकारी बैंक र राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको कुनै पनि तालिम तथा गोष्ठीमा सहभागि भएको पाइँदैन । ती संस्था आफ्नै ढंगले सञ्चालन भए र संघ महासंघले दिएको गाइडलाइनमा हिँडेनन् । ललितपुर जिल्ला बचत संघमा समुदायमा आधारित संस्था धेरै रहेका छन् र संघले सञ्चालन गर्ने तालिम तथा गोष्ठीमा नियमित जसो सहभागि हुन्छन् । ती संस्थाका पदाधिकारी र कर्मचारीको क्षमता विकासमा तालिम तथा गोष्ठीले धेरै टेवा पुगेको हामीले महशुस गरेका छौं । संघले प्रदान गर्ने तालिम तथा गोष्ठीमा सहभागी संस्थाहरु अहिलेको विषम परिस्थितिमा समेत राम्रैसँग सञ्चालन भइराखेका छन् ।
बजारमा सहकारीप्रति जुन हल्ला फिजाइएको छ, त्यही हल्ला अनुसारको समस्या सहकारी क्षेत्रमा छ त?
सहकारीमा समस्या छैन भनौ भने हजारौं मानिसले बचत फिर्ता नपाएको भनेर सडकमा आन्दोलन गरिराखेका छन् । सडक देखि सदनसम्म अर्थात जताततै सहकारीको विषयमा आवाज उठिरहेको छ । यसले सहकारी संस्थाहरुमा समस्या भएको पुष्टी गर्छ । सहकारी संस्थामा कुनै पनि ऐननियम पालना भएन । सबैले आआफ्नै ढंगले संस्था सञ्चालन गरे । कतिपय संस्थाले देशभर कार्यक्षेत्र लिएर सदस्यबाट बचत संकलन गरेर अहिले फिर्ता नगरेको अवस्था छ । सहकारी अभियानमा भयावह अवस्था ल्याउनुमा यी सहकारीहरुको ठुलो हात छ । संख्यात्मक हिसावले समस्यामा पर्ने सहकारी संस्था कम छन् तर ती संस्थामा लाखाैं सदस्यको बचत फसेको छ । एउटा व्यक्ति धेरै वटा संस्थामा सदस्य बनेर कारोबार गरेको छ । जसले गर्दा थुप्रै संस्थामा सदस्यहरुको बचतहरु डुबेको छ । गलत गर्ने संस्थाहरुको प्रभाव राम्रा संस्थाहरुममा पनि छिट्टै पर्ने भएकाले समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्छ । सदस्यको डुबेको बचत तत्काल फिर्ता गर्ने वातावरण बनाउनुपर्छ र भोली पर्सि फिर्ता गर्छौं भन्ने अवस्थाको अन्त्य गर्नुपर्छ । सहकारीको बचत कहाँ अपचलन भएको छ, त्यसको खोजिनीति गर्नुपर्छ । सदस्यले जम्मा गरेको पैसा त्यतिकै खोलामा बगाएको छैन होला । कहिँकतै लगानी गरेको हुनसक्छ । त्यसको खोजी गरेर सरकारले सदस्यको बचत फिर्ता गर्ने वातावरण क्रमशः बनाउनुपर्छ । त्यो गर्न सकिएन भने सहकारीप्रति अविश्वास बढेर जान्छ ।
सहभागि हुन चाहनेहरुलाई के अपील गर्नुहुन्छ ?
सीट सीमित भएकाले सहकारी संस्थाका कोषाध्यक्षहरुलाई यथाशिघ्र संघमा आएर नाम दर्ता गराउन आग्रह गर्दछु । हामीले थाह पाएनौ र सुचना नै आइपुगेन भनेर नबस्नु होला । गोष्ठीमा सहभागि भएर आफुसँग भएको अनुभव बाँड्नुस र थाह छैन भने नयाँ कुरा सिकेर जानुस् । सिकेको कुरा कोषाध्यक्ष रहँदा मात्र नभई जिवनपर्यन्त काम लाग्छ । त्यसैले सबै संस्थाका कोषाध्यक्षहरुले सक्रिय सहभागिता जनाइदिनु हुन अनुरोध गर्दछु ।