शुक्रबार, कार्तिक ७ गते २०८३

हेलिकोप्टर दुर्घटनामा ईरानका राष्ट्रपतिको मृत्युले उत्पन्न सन्देह


जेठ १२, २०८१ शनिबार
हेलिकोप्टर दुर्घटनामा ईरानका राष्ट्रपतिको मृत्युले उत्पन्न सन्देह

सामान्यरुपमा हेर्दा ईरानका राष्ट्रपति ईब्राहिम रईसीको हेलिकोप्टर दुर्घटनमा परेर ईरानलाई शोकमा डुबाएर देहाबसान भयो । त्यसमा बिदेशमन्त्री र एक प्रान्तिय गभर्नर समेत ९ जना यात्री थिए । तर रईसीको यो दुर्घटनाजन्य मृत्युका बारेमा बिश्वमा जुन किसिमको छटपटीको स्थति देखिएको राजनीतिक पर्यबेक्षकहरु औंल्याइरहेका छन् त्यो पनि असमान्य जस्तै लाग्दछ । हुन पनि बिश्वको कुनै पनि कुनाबाट यस दुर्घटना सम्बन्धि प्रतिकृया जसरी आउनु पर्ने बताइन्छ त्यसरी आएको छैन । भनिन्छ मध्यपूर्ब स्तब्ध छ । यूरेयिशामा कुनै चालचोल छैन । अमेरिका भित्र पनि आश्चर्यचकित पार्ने खालकै मौनता छ । कस्तो लाग्दछ भने सबै साना ठूला राष्ट्रहरु  आफुलाई सभ्यताको एउटा यस्तो खोलमा लुकाइरहेका छन्  जहाँ अनाबश्यक शब्दको कुनै गुञ्जन नसुनियोस् । 
 एकथरीले बिरोधीले के पनि ठानिरहेका  छन् भने ईब्राहिम रईसी जस्ता अति रुढीबादी मानिएका मौवली र कथित ‘ईरानी कसाई’ करार समेत गरिएका मानिसको मृत्युमा राम्रा या नराम्रो कुनै प्रतिकृया छैन । अहिलेसम्म जे जे कुरा निस्केर बाहिर आएको छ  त्यस अनुसार खराब मौसमका कारणले हलिकोप्टर दुर्घटनाको शिकार भएको हो । तर जस्तो किसिमले दिबंगत रईसीले इजरायल र अमेरिकाकाप्रति कडा दृष्टि अपनाएका थिए त्यसलाई हेर्दा यो दुर्घटनामा कुनै षडयन्त्र थिएन होला भनेर ढुक्क हुने स्थिति नरहेको कुरा पनि उठिरहेको छ । यसमा पहिलो प्रश्न के उठाइन्छ भने रईसीको यात्रामा सामेल भएका दुइ अन्य हेलकोप्टर सुरक्षित र सहीरुपमा आफ्नो गन्तब्यसम्म के कसरी पुग्न सके । अर्को कुरा  बितेको चार बर्षयता पटक पटक ईरानका ठूला नेताहरुको हत्या भएको अभिलेख छ । त्यसलाई पनि षडयन्त्रभन्दा बाहिर मात्र राखेर हेर्न सकिदैन भन्ने सबल तर्क पनि रहेकै छ । चार बर्ष अघि २०२० जनवरीमा र्ईरानका कुर्द सेनका जनरल कासिम सुलेमानीको अमेरिकाले बाग्दादकै अन्तर्राष्ट्रय बिमान स्थलमा ड्रोन प्रयोग गरेर हमला र हत्या गरेको घटनालाई मानिसहरुले अहिलेसम्म पनि बिर्सिएका छैनन् । 
सुलेमानीको त्यो हत्याको केही समय पछि ईरानका मूख्य परमाणु बैज्ञानिक मोहसिन फखरीजोहको पनि हत्या गरिएको थियो । त्यस हत्याका लागि ईरानले अहिलेसम्म पनि इजरायली गुप्तचर एजेन्सी मोसादलाई दोषी मान्न छाडेको छैन ।  त्यस अघि २०१० र १२ का बीचमा पनि ईरानका चारजना परमाणु बैज्ञानिकहरुको सन्देहास्पद किसिमको मृत्यु भएको मानिसहरुले बिर्सेका छैनन् । त्यसैले ती सबै घटनाक्रमहरुको आलोकमा के सन्देह अहिले पनि गरिदै गरेको देखिन्छ भने राष्ट्रपति रईसीको मृत्युलाई सामान्य दुर्घटना मान्न र यो मृत्युलाई सहज स्वीकार्न ईरानले सकिरहेको छैन । अर्को प्रश्न के पनि छ भने एक पछि अर्को यस प्रकारका घटना घटिरहँदा  पनि ईरानले अहिलेसम्म सुरक्षा सावधानीको उचित शिक्षा लिन किन सकिरहेको छैन ? हर घडी शत्रु देशहरुका गुप्तचरहरुको निगरानीमा रहिरहनु परेको ईरानले आफ्ना भिआईपी महानुभावहरुको कतै आवत जावतका बेला राख्नु पर्ने कडा सावधानी र सुरक्षा गोपनीयता राख्न किन असफल भएको हो । रईसीको मृत्यु कतै ईरानी गुप्तचर एजेन्सीहरुको गोप्य चुवाहटको परिणाम त होइन ? के इरानलाई यो कुरा थाहा थिएन कि इजरायलले लामो समयदेख अजरबाइजानलाई माध्यम बनाएरै इरानको नाभिकीय गतिबिधिरुमाथि दृष्टिपात गर्दै आएको छ ।  रईसी २०२१ मा त्यति बेला ईरानको सत्तामा आएका थिए जतिबेला ईरान आन्तरिक असहमति र  पश्चिमा शक्तिहरुसँग  लडिरहेको थियो ।  अमेरिकाद्वारा ईरानसँगको ऐतिहासिक परमाणु सम्झौताबाट हट्ने र कोभिड–१९ को प्रकोपको कारणले समेत ईरान गम्भीर आर्थिक चूनौतिहरुका बीचमा घेरिएको थियो । कमजोर अर्थब्यवस्था तथा मुद्रा संकटको कारणले समेत ईरानको ब्यापार उद्योग सबै नराम्रोसँग प्रभावित भइरहेका थिए । जसले गर्दा क्यान्सर र मधुमेहको औषधिसम्मको पनि त्यहाँ हाहाकार थियो । 
 ईरानका केन्द्रिय बैंकहरुमाथि बिश्वब्यापी प्रतिबन्ध खाशगरी पश्चिमा प्रतिबन्धका कारण औषधी कम्पनीहरुले पनि ईरानसँग ब्यापार गर्न  हिच्किचाइरहेका या डराइरहेका थिए । अर्कोतिर अमेरिकाले रईसीमाथि ब्यक्तिगतरुपमा पनि प्रतिबन्ध लगाइराखेको थियो । षडयन्त्रको एउटा कोण ईरानका सर्बोच्च नेता आयातुल्ला खामेनेईका पुत्रतर्फ पनि जानसक्ने देखिन्छ भन्ने एकथरीको सन्देह पनि छ ।रईसीलाई खामेनेईको  बहुतै निकट मानिन्थ्यो । यतिसम्म कि रईसीको खामेनेईकै उत्तराधिकारीकारुपमा समेत हेरिन थालेको पनि औंल्याइदै थियो । १९८९ मा सुप्रिम नेता बन्नुभनदा पहिले  खामेनेईले  पनि राष्ट्रपतिको पद सम्हालसकेका हुन् ।
 केही समय पहिला मात्रै पनि खामेनेईले रईसीलाई अत्याधिक अनुभव भएका भरोशा गर्न सकिने योग्य  क्यक्ति भनेर प्रसंशा पनि गरेका थिए । त्यसपछि ईरानमा के अडकल गरिदै थियो भने खमेनेई रईसीलाई आफ्नो उत्तराधिकारीकारुपमा प्रस्तुत गर्ने सोचिरिहेका छन् । अर्काेतिर खमेनेईका पुत्र मोजतबा आफ्नो पितको बिरासतलाई अगाडि बढाउन चाहन्छन् र रईसी उनका लागि ठूलो चूनौतिकोरुपमा थिए पनि भनिन्छ । अहिलेको घटनाले उनको त्यो बाधा हटेको जस्तो  भएको हो त भनिदैछ । गत बर्ष अक्टोबर २०२३ मा ईजरायल–हमास युद्ध शुरु भए पछि ईराक र सीरियामा ईरान समर्थक मिशिशियाले अमेरिकी ठेगानाहरुमा निशाना बनाएको पनि देखिएको हो । अनि इजरायलले सीरियामा ईरानको बाणिज्य दूतावासमा हमला पनि गरेको हो । त्यस हमला पछि नै ईरानले पनि इजरायललाई पाठ सिकाउनका लागि यसै मे महिलनामा ड्रोन र मिसाईल हमला गरेको थियो । झण्डै सात महिनादेखि चलेको इजरायल–हमाज युद्धमा त्यो नै पहिलो अवसर थियो जुन ईरान र इजरायलले एक अर्कोमाथि सोझै हमला गरेका थिए । 
 बिश्लेषहरु भन्दन् – ‘‘समग्रमा भन्ने हो भने  गाजा युद्धमा रईसीको भूमिका सकारात्मक थिएन । उनको नेतृत्वमा ईरानले लगातार उक्साउने खालका कारबाहीहरु गर्दै आएको थियो । त्यसैले पनि ईरान अमेरिका र इजरायलको निशाना त बनेकै थियो । यस्तो स्थितिमा सन्देहको सुई इजरायलकासाथ साथै अमेरिकामाथि पनि घुम्न जाने कुरा अस्वाभाविक हुँदैन । यद्यपि इजरायलले हत्तनपत्त यो हेलिकोप्टर घटनामा इजरायलको मोसादको कनै लिनुदिनु छैन भनेर तर्किने कोशिश गरेको छ । अनि अमेरिकाको तर्फबाट यस सम्बन्धा कुनै आधिकारिक बयान अहिलेसम्म आएको छैन । अनि ईरानलाई पनि यस्तो कुनै सबूत प्रमाण प्राप्त भएको छैन जसको आधारमा उसले सोझै षडयन्त्रका लागि अमेरिका या इजरायललाई कठघरामा उभ्याउन सकोस् । ६४ बर्ष उमेरका इब्राहिम रईसी ईरानभित्र भने बिशेष लोकप्रिय नेता नै देखिन्थे । बिदेश नीतिको मोर्चामा पनि उनले ईरानलाई निकै नै सन्तुलित गरेका थिए । उनले चीन, रुस साऊदी अरबसँग सम्बन्ध सबल तुल्याएका थिए । पाकिस्तानसँग पनि अनेक सम्झौतारु गरेका थिए । भारतसँग पनि चाबहार बन्दारगाह सम्झौता गरेका थिए । राम्रो र सन्तुलित बिदेश नीतिका सर्जक हुँदा हुदै पनि उनलाई राजनीतिक इतिहासले भने लोकतन्त्र र ब्यक्तिगत स्वतन्त्रता कुल्चिने क्रूर शासकको कल्की पनि लगाइदिएको छ ।’’ 
हुन पनि दुइ बर्ष अघि २०२२ को अन्त्यतिर मोरल पुलिसको हिरासतमा २२ बर्षकी महसा अमिनीको मृत्यु उनको क्रूर शासनको सबैभन्इदा ठूलो उदाहरण भनिएको थियो । हिजाबका बिरुद्ध खडा भएकी महसा अमिनीको मृत्यु पछि ईरानमा बिरोध प्रदर्शनको जुन शिलशिला शुरु भयो त्यसले महिनौसम्म इरानलाई नराम्रोसँग हल्लाएर राखेको औंल्याइन्छ । रईसीकै शासन कालमा अशान्ति फैलाएको आरोपमा सात जना मानिसहरुलाई सार्बजनिकरुपमै फाँसी दिइएको थियो । अनि अन्य ५०० जनालाई गोप्यरुपमा मारिएको नि उनमाथि आरोप छ । यद्यपि त्यस्ता घटनाहरु  देशहरुको आन्तरिक मामिलको कुरा पनि मानिदो होला  । तर रईसी हेलिकोप्टर दुर्घटनाको यथार्थ वास्तबिकताको गम्भीर छानबिन हुनु पर्छ र सत्यतथ्य सार्बजनिक हुनु पर्दछ भन्ने कुरामा अपराधमा प्रत्यक्ष परोक्ष जोडिएका बाहेक अरु कसैको बिमति हुन सक्तैन । हुन पनि मध्य पूर्बमा शान्ति र स्थिरतका लागि यो घटना कम महत्वको पनि होइन । यसको प्रतिध्वनी लामो समयसम्म सुनिने कुरा परिस्थितिले प्रष्ट औंल्याइरहेको छ ।