सरदार’ उपाधि प्राप्त, प्रा. यदुनाथ खनाल (वि.सं. १९७०–२०६१) अन्तर्राष्ट्रिय स्तरमै ख्याती कमाएका नेपालका कुटनीतिज्ञ हुन् । विदेश नीति वा अन्तर्राष्ट्रिय सम्बन्धमा यिनका विचार वा सूत्रहरू शाश्वत र सर्वस्वीकार्य मानिन्छ ।
परराष्ट्रमन्त्री, परराष्ट्र सचिव, भारत, चीन र अमेरिकाका लागि नेपाली राजदूतका रुपमा पनि जिम्मेवारी सम्हालेका स्व. खनाल नेपाली, अँग्रेजी, संस्कृत लगायतका धेरै भाषाका ज्ञाता थिए । कलकत्ता विश्वविद्यालयबाट अँग्रेजी साहित्यमा एम.ए. गरेका उनले यी भाषामा १ दर्जनजति पुस्तक लेखेका छन् ।
सरदार यदुनाथ खनाल सानै उमेरमा तनहुँबाट काठमाडौँ बसाई आए । उनले त्रिचन्द्र कलेजमा शिक्षकका रुपमा सेवा शुरू गरे । ७० को दशकमा दक्षिण एशियाका साना मुलुकहरूमा सार्वभौम अस्तित्व जोगाउने ठूलो खतरा आइपरेको थियो ।
सिक्किम भारतमा बिलय, पाकिस्तानको विभाजन तथा बाँग्लादेशको रुपमा नयाँ राष्ट्रको जन्म, अफगानिस्तानमा सोभियत संघको सेनाको सशक्त उपस्थिति जस्ता खतराको कालो बादल मण्डराईरहेको बेलामा भारत र चीन ‘दुई ढुङ्गाको तरुल’ को रुपमा रहेको नेपालको स्वाधीन अस्तित्व जोगाउनमा उनको असाधारण योगदान इतिहासमा अङ्कित छ ।
उनले राजा महेन्द्रदेखि गिरिजाप्रसाद कोइरालासम्मलाई परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा गहकिला सल्लाह दिए । गिरिजाप्रसाद र कृष्णप्रसाद भट्टराई (किसुनजी) पहिलो पटक प्रधानमन्त्री भएको बेला खनाल उहाँहरूका विदेश मामिला प्रमुख सल्लाह रहेका थिए । नेपाल आएका सबैजसो जिम्मेवार विदेशीहरू उनलाई भेट्न लालायित हुन्थे ।
२०६१ असोज १४ बिहिबार ९२ वर्षको उमेरमा उनको निधन भयो । आफ्नो निधनबारे कसैलाई थाहा नदिई र ठूलो तामझाम नगरी सामान्य ढङ्गले पशुपति आर्यघाटमा दाहसंस्कार गरिदिनु भन्ने उनको अन्तिम इच्छा थियो, त्यस्तै भयो ।
स्व. खनालको माथिको विचार अन्तर्राष्ट्रिय स्तरको अँग्रेजी म्यागजिन ‘न्युजवीक’ मा भारिन्द्रा तारजी वित्ताची (Varindra Tarzie Vittachi-१९२१–१९९३) नामक श्रीलंकाली स्तम्भ लेखक (पत्रकार) ले सेप्टेम्बर २५, १९९२ को अंकमा The Whale and Minnows (ह्वेल र भुरा माछा) शीर्षक लेखमा उल्लेखित थियो । मैले अमेरिकी पुस्तकालयबाट सो लेख फोटोकपी गरेर संकलनमा लिएको थिएँ :
"For a small country the best neighbor is a rich country with a small army like Japan; the most dangerous is poor country with big army."
पोहोर २०७९ जेठको यसै बेलातिर परराष्ट्र मन्त्रालयले 'यदुनाथ खनाल प्रवचन माला' कार्यक्रम सम्पन्न गरेको थियो। त्यो निकै प्रभावकारी सिद्ध भएको थियो।
चन्द्रमणि गाैतम