सगरमाथा आरोहणमा गएका एक केन्याली पर्वतारोही मृत फेला परेका छन् । सगरमाथाको चुचुरो नजिकैबाट उनी हराएका थिए । उनीसँगै रहेका शेर्पा गाइडको अवस्था अझै अज्ञात रहेको आधार शिविरका अधिकारीहरूले बताएका छन् ।
हराइरहेका पर्वतारोहीको खोजीमा गएका सेभेन समिट ट्रेक्सका उद्धारकर्ताहरूले सगरमाथाको चुचुरोभन्दा केही मिटर तल केन्याली पर्वतारोही चेरुइयोत किरुईको शव फेला पारेका हुन् । किरुईसँगै रहेका गाइड नवाङ शेर्पाको अवस्था भने अझै अज्ञात रहेको उनीहरूले बताएका छन्। अक्सिजन सिलिण्डरको प्रयोग नगरी सगरमाथा चढ्ने प्रयास गर्ने किरुई बिशप रक नजिकबाट सम्पर्कविहीन भएका थिए ।
नवाङले अन्तिम पटक विशप रकबाट आधार शिविरका अधिकारीहरूसँग कुराकानी गरेका थिए। किरुईले फर्कन नमानेको र सिलिण्डरबाट अक्सिजन समेत लिन नचाहेको जानकारी नवाङले दिएका थिए । आरोहीहरुले आज नवाङको अवस्था पत्ता लगाउने प्रयास गरिरहेको अधिकारीहरुले जनाएका छन् ।
नेपालपत्र संवाददाता