बुधबार, भाद्र ३ गते २०८३

बुद्धका बिज्ञानसम्मत ज्ञानगुनका कुरा बुझाैं


जेठ ९, २०८१ बुधबार
बुद्धका बिज्ञानसम्मत ज्ञानगुनका कुरा बुझाैं

अज्ञानता र अशान्तिका श्राेतहरूका अन्त्य नै बुद्धत्वकाे अबस्था

बुद्धको ज्ञानको खोज र शिक्षा अद्भूत थियो । बुद्धले आफ्नो सबैभन्दा आश्चर्यजनक खोज हरेक मनुष्यले निर्वाण प्राप्त गर्न सक्तछ भन्ने थियो । यसको स्ष्ट अर्थ के हो भने बुद्धले आफुलाई सर्बसाधारण मानिसभन्दा भिन्न अनौठो र महान गुरुकोरुपमा स्थापित गर्ने कुनै प्रयास पटक्कै गरेनन् । बरु उनले के भनेका छन् भने जे जति कुरा उनले बुझका छन् त्यो प्रत्येक मानिसको पहुच भित्रकै कुरा हो । दुःखको कारण खोजेर त्यसलाई समाप्त पार्न प्रयत्न गर्ने न बुद्ध पहिलो ब्यक्ति हुन् न अन्तिम नै भन्ने कुरा बुद्ध स्वयंले बारम्बार स्पष्ट पारेका छन् ।

यसरी बुद्धले कहिले पनि एउटा ब्यक्ति बिशेषको सत्ता स्थापना गर्न नै खोजेनन् र गरेनन् । न त ब्यक्ति बिशेषको पूजा अर्चना र बिभिन्न कर्मकाण्डको नै कुरा गरे बुद्धले त बारम्बार के भनेका छन् भने - जे म भन्दछु त्यसलाई केवल मैले भनेको भनेर स्वीकार नगर्नु । जस्तो किसिमले एउटा सुनारले सुनको शुद्धतालाई जाँच गर्दछ, त्यसलाई कसी दल्छ, परिक्षण गर्दछ त्यसरी नै मेरा शिक्षाहरुको पनि परीक्षण गरिनु पर्दछ र त्यसपछि मात्र त्यसलाई अपनाउनु पर्दछ । बुद्धले तर्क र ब्यक्ति भित्र पहिलादेख नै बसेको प्रज्ञालाई बिकसित गर्ने कुरामा जोड दिएका छन् ।

उनले स्थापित धर्महरुको ब्याखा तथा तिनका रुढीहरुमाथि कठोरतापूर्वक प्रश्न खडा गरे । उनको अन्तिम शब्द 'अप्प दीपो भव' अर्थात् 'स्वयम प्रकाश बन' ले यसै सत्यतर्फ संकेत गर्दछ र रहेक मनुष्यलाई आफ्नो बाटो आफै खोज्नु पर्ने दिशा निर्देश गर्दछ । आफ्ना अनुयायीहरुलाई आफ्नो अन्ध प्रभावबाट मुक्त गर्नका लागि पूरा इमानदारीकासाथ बुद्धले प्रयास गरे । अबश्य पनि बुद्धका शिष्यहरु थिए । उनको बिहारमा उनको देशना(प्रवचन, उपदेश) सुन्न मानिसहरु एकत्रित हुन्थे तर पनि बुद्धले कहिले पनि अन्ध भक्तिलाई कत्ति पनि प्रश्रय दिएनन् । यसको सबैभन्दा ठूलो उदारण बुद्धको यो बक्तब्य रहेको छ ः 'मेरा कुरा चन्द्रमातर्फ इशारा गर्ने औला समान हुन् । तिमीले चन्द्रमालाई हेर्नु पर्दछ र यो औंलालाई चन्द्रमा सम्झिनु हुदैन' । वास्तवमा धर्मका बिषयमा भक्तहरुले यस्तै गल्ती गर्ने गर्दै आएका छन् । अन्ध भक्ति, ब्यक्ति पूजा, गुरुप्रति मूढतापूर्ण श्रद्धा तथा गुरुहरुद्वारा शिष्यहरुको शोषण यसैको परिणाम हो ।

त्यसैले, कुरा एकदमै प्रष्ट छ - बुद्धको वास्तबिक मर्मलाई पक्रदा मात्र बुद्ध पूर्णिमा मनाएको सार्थकता हुन्छ ! हामीले बुद्धको देश भनेर गौरब गर्नु, बुद्धलाई सम्मान गर्नु र त्यस आधारमा बुद्धभूमिलाई अनेक किसिमले पर्यटकीय स्थलको रुपमा बिकसित गर्ने योजना र कार्यक्रम ल्याउनु एउटा महत्वपूर्ण पक्ष अबश्य हो । तर बुद्धको जुन मूल मर्म हो शान्ति र मानब कल्याण त्यसका लागि अशान्तिका राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक सबै श्रोतहरुलाई पूरै बदल्न तत्पर नभइ र त्यस किसिमको बस्तुगत आधार नबनाई बुद्धको सार्थक सम्मान नहुने र बिधि पुर्‍याउने कर्म काण्ड मात्र दोहोरिइरहने एउटा साँस्कृतिक उत्सवमा मात्र यो सीमित रहन जानेछ । राज्य, सरकार र सरोकारवाला सबैको ध्यान यस कुरामा केन्द्रित हुनु अत्यावश्यक छ । नत्र हामी माल पाएर पनि चाल नपाउने हुस्सुमै फेरि पनि दरिन पुग्ने कुरा बाहेक अरु केही हुने छैन । बुद्धको अमर त्याग, तपस्या, ज्ञान र बिवेकबाट सिकौं र स्वाधीनता,स्वतन्त्रता, समानता र बन्धुत्वयुक्त समुन्नतिको दिशामा अगाडि बढौं !