बैंक तथा वित्तीय संस्था सम्बद्ध बैंकर्स संघ, विकास बैंक संघ, वित्तीय संस्था संघ र लघुवित्त संघ संघहरूले एक संयुक्त विज्ञप्ति प्रकाशित गर्दै बैंक तथा वित्तीय संस्थामाथि ज्यादती भइरहेकोमा विरोध जनाएका छन् ।
विगत केही समययता केही व्यक्ति तथा समूहले आफ्नो निहित स्वार्थ पूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था विरुद्ध अनर्गल प्रचार गर्ने, ती संस्थाका कार्यालय तोडफोड गर्ने, कर्मचारीहरु लाई तर्साउने तथा धम्क्याउने, काममा अवरोध पुऱ्याउने जस्ता अराजक क्रियाकलाप हुने गरेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् । पछिल्ला दिनहरुमा यस्ता क्रियाकलाप झन् बढ्दै गएको र विशेष गरी लघुवित्त वित्तीय संस्थाहरुलाई त्यस्ता अराजक व्यक्ति तथा समूहहरुले थप लक्षित गरेको देखिएको उनीहरूको भनाइ छ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र लिइ ऐन, नियम, कानून र नेपाल राष्ट्र बैंकको निर्देशनको परिधि भित्र रही पब्लिक लिमिटेड कम्पनीको रुपमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुले छरिएर रहेको रकमलाई संकलन गरी देशको विभिन्न ठाउँमा रहेका व्यवसायी, उद्योगी र दुर्गम क्षेत्रमा समेत सरल र सहज तरिकाले वित्तीय सेवा प्रदान गर्दै देशको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याउँदै आइरहेकोमा पछिल्लो समय विभिन्न लघुवित्त संस्थाहरुका केही शाखामा केही अप्रिय घटनाहरु भएको, कर्मचारीहरुलाई भौतिक आक्रमण गर्ने, तर्साउने, धम्क्याउने, कार्यालय तोडफोड गर्ने लगायतका कार्यहरु निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ।
आफ्ना निहित स्वार्थ पूर्तिका लागि नियोजित रुपमा आक्रमण गर्ने त्यस्ता व्यक्ति तथा समूहहरुको अराजक क्रियाकलापको उनीहरूले भत्सर्ना गरेका छन्। लघुवित्त क्षेत्रमा व्याप्त अन्यौलको स्थितिलाई समाधानका लागि नेपाल सरकारले कार्यदल गठन गरी कार्य गरिरहेको अवस्थामा समेत भईरहेका यस्ता अवाञ्छित गतिविधिले वित्तीय सेवा सहज रुपमा पाउने अधिकारबाट ग्राहकवर्ग बञ्चित हुन पुगेको जनाइएको छन् ।
व्यवसायिक सहजीकरणका लागि हाम्रो नियमनकारी निकाय नेपाल राष्ट्र बैंक तथा आवश्यक सहयोग र सुरक्षा प्रदान गरिदिनका लागि स्थानिय सरकार तथा सम्बन्धित अन्य निकायहरुलाई उनीहरूले अनुराेध गरेका छन् ।