नेपालमा वित्तीय कारोबारमा डिजिटल प्रविधिको प्रयोग बढ्दै गएसँगै विभिन्न प्रकारका समस्या समयसमयमा आउने गरेका छन् । यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय कारोबारमा अपनाउनुपर्ने सुरक्षा र सजगताको बारेमा जानकारी दिएको छ।
जनचेतनाका लागि एक सूचना दिँदै राष्ट्र बैंकले डिजिटल वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङ लगायतका विद्युतीय भुक्तानीका माध्यमबाट भुक्तानी गर्दा वा रकमान्तर गर्दा कारोबार सफल नहुँदानहुँदै पनि कहिलेकाहीँ प्राविधिक कारणवश खाताबाट मौज्दात घट्न सक्ने जनाएको छ।
ग्राहकले खबर गरेमा वा नगरेपनि यस्तो अवस्थामा देहायबमोजिमको अवधिभित्र ग्राहकको खातामा रकम हिसाब मिलाउनुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको हो ।
त्यस्ताे अवस्थामा विद्युतीय भुक्तानीका माध्यमहरू जारी गर्ने संस्था र भुक्तानी जानुपर्ने संस्था एउटै भएमा कारोबार भएपछिको एक दिन भित्र, विद्युतीय भुक्तानीका माध्यमहरू जारी गर्ने संस्था र भुक्तानी जानुपर्ने संस्था फरक फरक भई दुवै नेपाली संस्था भएमा कारोबार भएपछिको ३ दिन भित्र र विद्युतीय भुक्तानीका माध्यमहरू जारी गर्ने संस्था र भुक्तानी जानुपर्ने संस्था फरक फरक भई कुनै एक विदेशी संस्था भएमा कारोबार भएपछिको ३० दिन भित्र हिसाब मिलान गरिसक्नुपर्ने जनाएकाे छ।
उपर्युक्त समयसीमाभित्र हिसाब मिलाउने दायित्व त्यस्ताे उपकरण जारी गर्ने र प्रयोग हुने दुवै संस्थाको हुने राष्ट्र बैंकले जनाएको छ । त्यस विषयमा थप जानकारी आवश्यक भएमा सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट बैंकले भनेको छ।
