शनिबार, आश्विन १७ गते २०८३

वैदेशिक व्यापार ३६ अर्ब ६९ कराेडले घट्याे

जेठ ८, २०८१ मंगलबार
वैदेशिक व्यापार ३६ अर्ब ६९ कराेडले घट्याे

 

नेपालको वैदेशिक व्यापारमा कमी आएको छ। आयात र निर्यातमा कमी आउँदा चालू आर्थिक वर्षको १० महिनामा वैदेशिक व्यापार ३६ अर्ब ६९ करोड १९ लाख १२ हजार रुपैयाँले घटेको हो। गत वर्षकाे साेही अवधिकाे तुलनामा वैदेशिक व्यापार २.५० प्रतिशतले घटेकाे हाे।

भन्सार विभागका अनुसार १० महिनाकाे अवधिसम्म पुग्दा अनुसार नेपालको आयात क्रमशः २.३९ प्रतिशत र निर्यात ३.६१ प्रतिशतले घटेको छ। बैशाख मसान्तसम्म नेपालले १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँको आयात गर्दा १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख ४८ हजार रुपैयाँको मात्र निर्यात गरेको छ।

वैशाखसम्म नेपालको कुल वैदेशिक व्यापार १४ खर्ब २९ अर्ब ५३ करोड ५ लाख ८७ हजार रुपैयाँको भएको छ। सोही अवधिमा अघिल्लो वर्ष १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख ९९ हजार रुपैयाँको व्यापार भएको थियो। 

नेपालले सो अवधिमा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख ९१ हजार रुपैयाँ व्यापारघाटा व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपालको व्यापार घाटा १२ खर्ब ४ अर्ब ४२ करोड २४ लाख २५ हजार रुपैयाँ थियो। व्यापारघाटा अघिल्लाे साेही अवधिकाे तुलनामा २७ अर्ब २३ करोड ८९ लाख ३४ हजार रुपैयाँले घटेको छ जुन २.२६ प्रतिशत हो । 

अघिल्लो आवको १० महिनामा नेपालले १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख ६२ हजारको आयात र १ खर्ब ३० अर्ब ९० करोड ३७ हजार रुपैयाँको निर्यात गरेको थियो। चालु आ.व.मा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८.८३ प्रतिशत र आयातको हिस्सा ९१.१७ प्रतिशत रहेकाे छ।