शनिबार, आश्विन १७ गते २०८३

विश्वविद्यालयहरूले बजारकेन्द्रित शैक्षिक कार्यक्रम ल्याउन आवश्यक


जेठ ६, २०८१ आइतबार
विश्वविद्यालयहरूले बजारकेन्द्रित शैक्षिक कार्यक्रम ल्याउन आवश्यक

विश्वविद्यालहरूले बजारको माग बमोजिम शैक्षिक कार्यक्रमहरू ल्याउनुपर्ने सरोकारवालाहरूले औंल्याएका छन् । नेपाल उद्योग परिसंघले शिक्षा प्रणाली र शैक्षिक कार्यक्रमका बारेमा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुसँग छलफलका क्रममा सो कुरा औंल्याइएको हो । 

पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा बिजु कुमार थपलिया, लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्ण बज्राचार्य र मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुव कुमार गौतमसँग अबको शिक्षाको प्रणाली तथा संयन्त्र कस्ता हुनुपर्ने, विश्वविद्यालय र उद्योगहरुबीच सहकार्यको सम्भावना र बजार केन्द्रित शैक्षिक कार्यक्रमलगायतका विषयमा परिसंघको शिक्षा परिषद्को संयोजनमा छलफल भएको हो । 

छलफलमा परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले उद्योगको आवश्यकता अनुरुप प्रयोगात्मक शिक्षा प्रणाली आवश्यक रहेको जनाउँदै यसका लागि परिसंघ विश्वविद्यालयहरुसँग समन्वय, सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।  

लुम्बिनि विश्वविद्यालयका उपकुलपति बज्राचार्यले नेपालमा शिक्षाको गुणस्तर बृद्धि गर्न आवश्यक रहेको भन्दै बजार आवश्यकता अनुसारको पाठ्यक्रम बनाउन जरुरी रहेको बताए । 

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति थपलियाले नेपालले सञ्चालन गरिरहेका प्रोग्राममाथि पुर्नविचार गर्नुपर्ने बताए । शिक्षामा नयाँपनको आवश्यकता रहेकोले पूर्वाञ्चल विश्वविद्यालयले आर्टिफिसियल इन्टलिजेन्समा स्नातक तहको पाठ्यक्रम सञ्चालनमा ल्याएको उनले जानकारी दिए । 

मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति गौतमले विदेशी विद्यार्थीहरुलाई नेपालमा आर्कषित गर्न विश्वविद्यालयहरु ङकिङमा केन्द्रीत हुनुपर्ने बताए । विद्यार्थीहरुले ङकिङमा हेरेर विश्वविद्यालय छनौट गर्ने भएकाले नेपाली विश्वविद्यालयको ङकिङ बृद्धि गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।