शनिबार, आश्विन १७ गते २०८३

कर्जा प्रवाह २२२ अर्ब र निक्षेप ४०९ अर्बले बढ्याे


बैशाख ३०, २०८१ आइतबार
कर्जा प्रवाह २२२ अर्ब र निक्षेप ४०९ अर्बले बढ्याे

 

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह रु. २ खर्ब २२ अर्ब २१ करोडले बढेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को चैत्र मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.१६१ अर्ब ९८ करोड अर्थात् ३.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा गत चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ । 

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ प्रतिशत र ३५.९ प्रतिशत रहेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.७ प्रतिशतले, विकास बैंकहरुको ४.२ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ५.५ प्रतिशतले बढेको छ । 

उक्त कर्जामध्ये ११.४ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.६ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । गत नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ११.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.८ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशतले बढेको छ । 

प्रवाहित कर्जामध्ये आवधिक कर्जा १७.८ प्रतिशतले, नगद प्रवाह कर्जा २७.४ प्रतिशतले, रियल स्टेट कर्जा ६.९ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा १२.९ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४३.७ प्रतिशतले, ट्रष्ट रिसिट कर्जा ०.२ प्रतिशतले र हायरपर्चेज कर्जा १६.९ प्रतिशतले घटेको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४ खर्ब ९ अर्ब ४ करोड अर्थात ७.२ प्रतिशतले वृद्धि भएको छ ।