शनिबार, आश्विन १७ गते २०८३

नौ महिनाको अवधिमा व्यापार घाटा १० खर्ब ५३ अर्ब

बैशाख ३०, २०८१ आइतबार
नौ महिनाको अवधिमा व्यापार घाटा १० खर्ब ५३ अर्ब


आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा कुल वस्तु व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्ष तुलनामा २.८ प्रतिशतले कमी आएको । गत सोही अवधिमा यस्तो घाटा १७.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयातबीचको अनुपात ९.८: १ रहेको छ । 

नेपाल राष्ट्र बैंकद्वारा जारी देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आ व २०८०/८१ नौ महिनाको यो अवधिमा कुल वस्तु आयात २.८ प्रतिशतले कमी आई रु. ११ खर्ब ६७ अर्ब ३७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ३.२ प्रतिशत र २२.६ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३३.४ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, हवाइजहाजको स्पेयर पार्टपुर्जा, विद्युतीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने सुन, कच्चा सोयाबिन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ । 
त्यसैगरी कुल वस्तु निर्यात ३.७ प्रतिशतले कमी आई रु. ११३ अर्ब ९५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २६.३ प्रतिशतले कमी आएको थियो ।

भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६.२ प्रतिशत र २ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात २३२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंकसिट, पार्टिकल बोर्ड, जुस, पोलिस्टर धागो, तयारी पोसाक लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाबिन तेल, ऊनी गलैचा, चिया, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको छ ।