कथा

सिर्जना शर्मा
“धत् लाटा छोरा मान्छे भएर पनि यसरी आँशु तुरुक्कै चुहाउनु हुन्छ त ? न रो । चुप् चुप् ।”
दायाँ हातका औँलाले ल्वाप्पाको संकेत गर्दै सर्वजित प्रधानले गिज्याएपछि ओमले टिलपिल गर्दै आँखाका डिलबाट झर्नै लागेका आँसुलाई कमिजका बाहुलाले सरक्क पुछ्यो ।
“हुन पनि यति धेरै मान्छेका अगाडि आँसु खसाल्नु त भएन नि मैले ?” उसले मन दरो बनाउने प्रयास गर्दै रुन्चे हाँसो निकाल्न खोज्यो, तर सकेन । आफ्नो आँगनमा जम्मा भएर खलबल गरिरहेका प्रत्येक मानिसका अनुहारहरु नियाल्यो । आफ्नो कान्छो भाइ रमेश, जो छ वर्षमा उक्लँदै गरे पनि तोतेबोलीमै संवाद गथ्र्यो, उसको अनुहारमा पुलुक्क हे¥यो । रमेश जिल्ल परेर उभिइरहेको थियो । घरी पिढीमा गएर थचक्क बस्थ्यो घरी उठेर यताउता गथ्र्याे । उसले कमिजका टाक दाँतले टोकेर एकोहोरो छिनालिरहेको थियो ।
उसले एकाएक परिवर्तन भएको आफ्नो घरको परिस्थितिको बारेमा छेउटुप्पो बुझेको थिएन ।
“यति धेलै मान्छे हाम्मो घलमा किन जम्मा भएका दाइ ? यी मान्छेहलु हामीलाई हेलेल किन लोएका होलान् ?” ओमलाई अबोध आँखाले प्रश्न गरिरहेको थियोे ऊ ।
यशोधा ओम र रमेशकी एक मात्र बहिनी । उसले भर्खरै तोतेबोेलीमा संवाद गर्न सिक्दै छे ।
“कठै यी चिचिला ! त्यो फुच्ची यशोधाचाहिँ फाल्गुनमा चार मात्र पुगी । ठूलोचाँहि आउदो मंसिर १२ गते १३ वर्षको हुन्छ । कान्छो छ वर्षको पुग्दै छ । यति कलिला केटाकेटी के गर्लान् अब ?” पल्लो गाउँबाट आएका महिलाहरुसँग कुरा गर्दै थिइन् कमला । कमला ओमकी सानिआमा हुन् बाले एकै वर्षमा दुई श्रीमती भित्र्याएको कथा सुनेको थियो ओमले । सानिआमाको घर अलिक माथि डाँडोमा थियो । सानिआमाका चार सन्तान छन् । ओम आमाको पहिलो सन्तान र बाबुको दोस्रो सन्तान हो । सुबोधले घरमा दुइटी श्रीमती भित्र्याएपछि बाबुले नै दुबै बुहारीलाई अंशबन्डा गरिदिएका थिए । सुबोध ओमका बाबु एक महिना जेठीसँग एक महिना कान्छीसँग बस्थे । ओमका बाबु सुबोध प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन् । उनी एक हप्ता अगाडि कामको सिलसिलामा काठमाडौँ गएका छन् ।
रातीभरी पानी प¥यो अहिले पनि हावा लाग्न छोडेको छैन । मध्यपश्चिमको एउटा सानो गाऊँ जहाँ क्षेत्री ब्राह्मणको बाहुल्यता छ । अधिकांश मानिसहरुको पेशा भनेको खेती किसानी नै हो । यहाँका मानिसहरु दयालु छन् सहयोगी छन् मर्दापर्दा सबै गाउँले एक ठाउँमा हुन्छन् । एक अर्कालाई सरसहयोग गर्छन् । आज सुवोधको घरमा सबै जम्मा भएका छन् । गाउलेहरुले सुबोधलाई मास्टरसाव भनेर सम्बोधन गर्छन् । रातभरी परेको पानीले बाटो बिग्रीएको छ । जिल्लाको सदरमुकामसम्म पनि बाटो पुगेको छैन । मान्छेहरु बाहिर जानुपर्ने भयो भने सल्याण जिल्लामा पुग्नुपर्ने बाध्यता छ । आकाशमा उड्ने हवाइजहाजको पनि कुनै टुङ्गो हुँदैन । पानी प¥यो हावा चलेको हप्तादिनसम्म हवाइजहाज आकाशमा देखिदैन । हप्तामा एकपल्ट झर्ने हवाइजहाज आउने आज पालो त हो तर खोइ आउँछ आउदैन पत्तो छैन । मास्टरसाबलाई चिठी पठाएर कहिले पुग्ला ? सदरमुकाम गएर आवा गरिदेऊ गाउँलेहरु एकआपसमा कुरा गर्र्दै थिए । यशोधालाई यहाँ नराख दुइ तीनटी मिलेर उसलाई कतै लिएर जाऊ । यहाँको दृश्य उसले नदेखोस् बिचरी सानै छे ऊ यस्तो कुरा बुझ्न सक्ने भएकी छैन मन डोलाउछे जिपाल्नी बज्यैको कान्छी र मैनालाई आदेश थियो यो ।
कान्छी र मैना यशोधालाई बोकेर पल्लो गाउँतिर लागे । अई कान्छी हेर त हवाइजहाज आयो कि ? हातले सूर्यको प्रकाश छेक्दै मैनाले भनी । हो त हवाइजहाज नै हो मास्टरबाजे आउनु भो कि ? आएको भए त हुन्थ्यो नि घरमा बलियो मान्छे कोही छैन ससाना केटाकेटी मात्र घरमा छन् । दैव पनि कति निष्ठुरी हुन सकेका है जो राम्रो उसैलाई लिदो रहेछ । अब यी केटाकेटीले के गर्लान् कसरी खालान् ? जिन्दगी के रहेछ र मैना, लामो सास फेर्दै कान्छीले भनी । हाम्ली आमा खैत कान्छी दी ? पिठ्युमा बुई चढेकी यशोधाले तोते बोलीमा सोधी । तिम्री आमा बिरामी हुनुहुन्छ त्यसैले अस्पताल औषधी ल्याउन जाने रे । हेर त आमालाई लिन ऊ त्यो हवाइजहाज आएको छ कान्छीले आकाशमा उडेको हजाइजहाजतिर औँला देखाउदै भनी । त्यतो भए आमा कैल आउछिन् त ? यही हवाइजहाजले भोलि ल्याइदिहाल्छ नि किन पीर गरेकी ? बरु तिमी नुनु गर । मैनाले यशोधाको टोपी मिलाइदिदै भनी ।
वरपरको तीन गाउँ सुनिने गरी दमाहा बज्यो । बाटोमा दमाहा बोकेका मान्छेदेखेपछि यशोधाले सोधी मैना दिदी यो के गरेको ? आँखाका डिलमा पुगेका आँसु पुछ्दै मैनाले भनी गाउँमा चोर आएका छन् रे चोर धपाउन दमाहा बजाका हुन् तिमी आँखा चिम्म गर । नार्इँ के अघि भरखर त म आमासँग नुनु गरेको अब गर्दिन (हिजो आमासँग सुतेकी यशोधालाई के थाहा कि अब ऊ कहिल्यै आमासँग सुत्न पाउने छैन)
निकै लामो समयदेखि बिरामी परिरहेकी बिमला आफैले धामी झाक्री बैद्य डाक्टर अस्पताल धाएकी थिइन् उनलाई के भएको हो कसैले पत्ता लगाउन सकेको थिएन । जिउ सुक्दै गएको थियो । एक महिना अघि श्रीमानका साथ काठमाडौँ गइन र उनलाई ब्लड क्यान्सर भएको डाक्टरले पत्ता लगाएछन् । यो कुरा उनी आफैलाई पनि थाहा थिएन । एक हप्ता अघि मात्र अब म सञ्चो भैसके भन्दै काठमाडौँबाट घर आएकी बिमला अस्ती रातीदेखि फेरि बिरामी परिन् हिजो राती छोरी यशोधालाई काखी च्यापेर सुतेकी थिइन् र आज बिहानै उनले यो धर्ती छोडिन । अत्यन्त दयालु मिलनसार बिमलाको निधनले सम्पूर्ण गाउँलेहरु शोकमा थिए । उनको निधनको खबर सुनेर बिहानै तीन गाउँका मान्छे जम्मा भैहाले ।
यता घरमा लासलाईं घाटमा लिने तयारी गाउँलेहरुले गरे, ओम र रमेशको कपाल खौरिदिए । रमेशले आफ्नो टाउको छाम्दै भन्यो मेरो यति राम्रो कपाल किन काटिदिएका दाइ ? तोरीको तेल लगाएर आमाले लरक्क लर्कने बनाइदिएकि छिन् काट्दिन भन्दा भन्दै जवरजस्ती काटिदिए यी माइलाबाले । रमेश आमाले बनाइदिएको कपाल आमालाई नै हामीले दिएका हौँ पीर नगर कपाल फेरि आइहाल्छ नि रमेशलाई सम्झायो ओमले ।
घरमा यत्रो दुख परेको बेला काध थाप्ने बलियो खम्बा पनि छैन । काका बिरामी परेर सल्ले अस्पताल मा भर्ना हुनुभएको छ । बा कहिले आउनुहुन्छ होला ? आजै आए त हुन्थ्यो नि । किन ढिला गरेको होला बाले थाहा पाउनु भएको होला कि छैन होला । ओमलाई आफ्ना बाप्रति पनि रिस उठयो । आमालाई एक्लै काठमाडौँबाट नपठाइदिएको भए पनि त हुन्थ्यो । आमा घर नआएको भए यस्तो हुँदैनथ्यो कि ? बा आफू पनि सँगै आउनुपर्छ नि ।
आँगनमा चिरनिद्रामा सुतेकी आमातिर हे¥यो “के हाम्रो बत्ति निभेकै हो त? ममताको द्वार सुकेकै हो त ? आशा भरोषाको केन्द्र टुटेकै हो त ? हाम्रो धर्ती भासिएकै हो त ? हाम्री आमा अब नउठ्ने गरी निदाएकै हुन् त ?” ओमले आमाको अनुहार हेरिरह्यो । निधार छाम्यो मुटुको स्पन्दन सुन्यो । अहँ चलेका िथएनन् हातगोडा बन्द थियो मुख खुलेनन् आँखा । आमा हिजो मात्र यो कपाल छोएर सुम्सुमाएकी थियौँ अब रहेन मेरो कपाल उठेर हेर न एकपल्ट मेरो टाउको हात राख न ऊ आमाका हात चलाउन थाल्यो । एक पल्ट उठ न आमा ऊ मनमनै चिच्यायो । रोक्न सकेन आँसु र दौडेर शौचालयमा छि¥यो र रुन थाल्यो । आमा कसरी जान सक्यौ तिमी एक्लै हामीलाई छोडेर दुध खाँदै गरेकी यशोधालाई के भनेर सम्झाउ मैले तिमी नभै नसत्ने रमेरलाई कसरी सुताउँ मैले । यो घर व्यवहार कसरी चलाउँ मैले हाम्रो धर्ती आकाश हाम्रो घरको छानो हाम्रो मियो तिमी त हौँ आमा अब हामी कसरी बाँच्ने । सानिआमाले तिमी हुँदा त हामीलाई हेला गर्थिन् अब झन् के होला ? हाम्रा बाले हामीलाई कहिल्यै माया गर्दैनन् हामीसँग बस्दैनन् अब झन् के गर्लान् तिनले । छाती पिटी पिटी ओम रुन थाल्यो कसैले नदेख्ने ठाउँ शौचालय जहाँ उसले झरेका आँसुलाई बगाउन सक्थ्यो । छोरा मान्छे भएर रुन्छन् भन्ेहरु थिएनन् यहाँ । आफूले नखाएर भोकै सुतेर छोराछोरीलाई खुवाएर सुतेकी आमा आँखा अगाडि आइरहिन् । बाहिरबाट कसैले बोलाएको जस्तो लाग्यो र छिटोछिटो आँसु पुछ्यो ।
आमाको अन्तिम दाहसंस्कार गर्न मुग्लु खोला लगियो । गाउँलेहरुले ठूलो सहयोग गरे । घरमा बलियो खम्बा थिएन । ओमका बाबु आइपुगेका थिएनन् । दागबत्ति दिने बेला भयो रमेशले बल्ल थाहा पायो उसले आमाको शरीरमा आगो लगाउन दिएन आमालाई पोल्छ दाइ आगो किन लगाइस् भनेर रुन कराउन थाल्यो गाउँलेहरुले उसलाई फकाए । अब आमा फर्केर आउदिनन् मरेका लाशलाई नडढाइ हुँदैन बाबु यो त प्रकृतिको नियम नै हो यो कुरा तिमी ठूलो भएपछि बुझ्छौ भागवत सरले सम्झाए उसलाई भागवत सरलाई चिन्दथ्यो ऊ उनले भनेको मान्थ्यो पनि ।
आमाको दाहसंस्कार सकेर घर पुग्दा ओमका बाबु आइपुगेका थिए । ऊ बालाई देखेर झन् रोयो । सुबोध पनि छोराहरुको त्यो अवस्था देखेर आफूलाई सम्भाल्न सकेनन् र डाको छोडेर रोए । १३ दिनपछि काजक्रियाको काम सकियो । सुबोधले सबै परिवार एकै ठाउँमा राख्न खोजे । ओमले भन्यो हुँदैन बा हामी सधैँ एक्लै बस्यौँ आमाले जति दुख कष्ट गरेर यो घर सम्भालिन हामी पनि यो घर टुट्न दिन्नौँ । यो घरमा बस्दा हाम्री आमा हामीसँगै छिन् भन्ने लाग्छ त्यसैले हामी एक्लै बस्छौँ भनेर अड्डी कस्यो । सुबोधले जति नै सम्भ mाए पनि उसले मानेन । गाउँ लेहरुले पनि सम्झाउदा नमानेपछि ठिकै छ ओमले जे गर्छ गर्छ भनेर छोडिदिए ।
ससाना भाइ बहिनीको जिम्मेवारी आफ्नो काधमा बोकेर पढ्दै थियो ओम । दुख सुख गरेर दुई वर्ष बित्यो । एकदिन पिढीमा बसेर ओम र रमेश गृहकार्य गर्दै थिए । यशोधा बाटोतिर तन्केर हेर्दै थिई उसले बटुवालाई मुन्टो तानी तानी तन्केर हेरेको ओमले देख्यो र सोध्यो यशोधा आँखा झिम्म पनि नगरी के हेरेकी त्यसरी ? बाटोतिर दौडिरहेका आँखालाई दाइतिर फर्काएर यशोधाले भनी हेर न दाई हवाइजहाजले आमालाई लगेर गएको धेरै भयो अहिलेसम्म ल्याइदिएन कान्छी दिदीले भोली ल्याइदिन्छ भन्थिन् तर कतिओटा भोलि भैसके आमा खोइ त ? बाटोमा आमा आउछिन् कि भनेर सधैँ हेर्छु तर आमा आइनन्. ।
यशोधा .....बोल्दा बोल्दै ओमको गला अवरुद्ध भयो र कापेको स्वरमा भन्यो - आमा त अब कहिल्यै नफर्कने बाटोबाट गएकी हुन् ।
नेपालपत्र संवाददाता