शुक्रबार, कार्तिक ७ गते २०८३

जग्गा हेरेर ऋण लगानी गर्दा अहिले  समस्या आयोः खतिवडा

बैशाख २६, २०८१ बुधबार
जग्गा हेरेर ऋण लगानी गर्दा अहिले  समस्या आयोः खतिवडा

नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा.युवराज खतिवडाले जग्गा मात्र हेरेर ऋण दिदा वित्तीय प्रणालीमा अहिले समस्या आएको बताएका छन् । नेफस्कूनले आयोजना गरेको लेखा सुपरिवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठीमा बोल्दै उनले धितोमुखी ऋण प्रणाली नै अहिलेको समस्या भएको बताए । धितोमुखी भन्दा पनि प्रतिफल दर हेरेर ऋण लगानी गर्न सक्दा असुलीमा समस्या नहुने र अर्थतन्त्रलाई टेवा पुग्ने उनको दावी छ । बैक तथा वितीय संस्थासँगै सहकारीले पनि घर जग्गामा लगानी गर्दा समस्या आएको उनको धारणा छ ।

बैंक तथा वित्तीयले संस्थामा २० प्रतिशत तरलता राखेका हुन्छन् तर सहकारीले भने तरलता नै नराखी लगानी गर्दा बचत फिर्तामा समस्या भएको उनले जनाए । सहकारीले शेयर पुँजीको १५ प्रतिशतसम्म बचत संकलन गर्न पाउने व्यवस्था ऐनमा भए पनि त्यसको पालना नहुँदा पनि तरलता व्यवस्थापनमा  समस्या भएको उनको धारणा छ । कतिपय संस्थाले एउटै सदस्यबाट अधिक बचत लिदा पनि  बचत फिर्तामा समस्या आएको उनले सुनाए ।  सदस्यले सहकारी संस्थाका सञ्चालकलाई नियन्त्रण गर्नु पर्ने भए पनि त्यो हुन नसक्दा सञ्चालकहरुमा अरजक्ता बढेको उनको दावी छ । आफुले आफैलाई शासन गर्न नसकेपछि  अब सहकारीमा अर्काले शासन गर्ने खतिवडाको भनाई छ ।

बैंकमा ग्राहकले राखेको निक्षेपको सुरक्षा भए पनि सहकारीमा त्यो हुन नसक्दा समस्या आएको उनले जनाए । सहकारी ऐनमा भएको व्यवस्था अनुसार बचत तथा कर्जा सुरक्षण कोष सञ्चालनमा आउन सकेको भए सहकारीमा गरेको स सानो बचत सुरक्षित हुने र सदस्यको विश्वास बढ्ने उनको अनुभव छ । सरकारले कानुन पालना गर्ने कुरामा सम्झौता गर्न नहुने भन्दै उनले यस्तो स्थितिले वित्तीय प्रणाली अगाडी बढाउन समस्या हुने बताए । सरकारले सहकारी ऐनमा भएको व्यवस्था लागू गर्नु पर्ने र त्यसका लागि आवश्यक नीति नियम बनाउनु पर्नेमा उनले जोड दिए । सम्भब भए संसद र नभए अध्यादेशबाट भए पनि कानुन ल्याएर  सहकारीलाई सहजीकरण गरिदिनु पर्ने खतिवडाले बताए ।

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता