आमाको आफ्ना सन्तान र परिवारप्रतिको अतुलनीय र असीम र प्रेम, ममता, अपनत्व र समर्पणप्रति आफ्ना सन्तानले, समाजले र राज्य समेतले अनुगृहीत हुन मनाइने पर्बको नाम हो मातृ दिवस । यो दिन नेपाल लगायत विश्वका प्राय हरेकजसो देशमा तर भिन्न भिन्नै समयमा र भिन्नाभिन्नै साँस्कृतिक आधारमा मनाउने गरिन्छ । जे जसरी मनाए पनि यो पर्व आमामा समर्पित र उनको आदर सम्मानका खातिर मनाउने कुरा भने सबै ठाउँमा एउटै छ ।
आज परिवर्तन हुँदै गएको पारिवारिक बनावटको सन्दर्भमा यो मातृ दिवसको सन्दर्भिकता र यसको महत्व यस कारणले पनि अझ बढ्न गएको छ कि बृद्ध माता पितालाई बृद्धाश्रममा छोडेर या घरमै छोडेर छोराछोरीहरु बिदेशमा गएका हुन्छन् र माता पिताहरु परिवारबिहीन र एक्लो महसुश गर्नु पर्ने स्थिति बढ्दै गएको छ । कम्तिमा बर्षको एक पटकसम्म नै भए पनि आफ्ना सन्तानले भेटघाट गर्ने, सम्झने र सम्मान गर्ने दिन भएकोले यस दिनले आमा बुवाप्रतिको छोराछोरीको दायित्वको बोध पनि गराउँदछ भने माता पिताको जीजीबिषालाई पनि ऊर्जा प्रदान गर्दछ ।
वास्तवमा आज यस दिनलाई बर्षकाे एक दिन आमालाई फलफल, मेवा मिस्टान्न खान दिने, लत्ता कपडा लगायत अन्य बहुमूल्य उपहार दिने कुरामा मात्र सीमित नराखी खाशगरी विपन्न वर्ग तह र तप्काका वृद्ध माता पितालाई एक्लो र शून्य अवस्थाका अनुभूति नहुने किसिमले मातृ दिवस पितृ दिवस मनाउने प्रबन्ध गर्नुपर्ने आवश्यकता बढेर गएको छ । उनीहरुको सुस्वास्थ्य र दीर्घायुको लागि उनीहरुको समाजिक सुरक्षा बृद्धि गरिनु पर्ने र परिवार, समाज र राष्ट्रले समन्वयात्मक किसिमले यो दिवसलाई रचनात्मक एवं सद्भावपूर्ण किसिमले मनाउने ब्यवस्था गर्न सके यसको सार्थकता र सान्दर्भिकता अझ बढेर जाने र आमाको ममताको पनि अझ फराकिलो किसिले समाजमा सम्मान हुने संस्कारयुक्त साँस्कृतिक वातावरण बनाउनु उपयुक्त र आवश्यक छ ।
किनकि आमाहरुका लागि सुस्वास्थ्य, दीर्घायु, शान्त र सुरक्षित हुने उपयुक्त सामाजिक स्थिति र परिवेश निर्माण नगरिएसम्म 'आमाहरु र मातृभूमि स्वर्गभन्दा पनि ठूला' अर्थात् 'जननी जन्मभूमिश्च स्वर्गादपि गरीयशी' भनेर जतिसुकै महिमा गान गरिए पनि त्यसले सार्थकता पाउँदैन र 'श्राद्धमा बिरालो बाध्ने' कथा जस्तै एउटा औपचारिकता निर्बाह गर्ने कुरा मात्र हुन जाने यथार्थ मनन गरिनु अत्यावश्यक छ ।
नेपालपत्र संवाददाता