शनिबार, आश्विन १७ गते २०८३

इन ड्राइभका आधिकारिक सेवा शुरु, अब चालकले १० प्रतिशत कमिशन तिर्नुपर्ने


बैशाख २५, २०८१ मंगलबार
इन ड्राइभका आधिकारिक सेवा शुरु, अब चालकले १० प्रतिशत कमिशन तिर्नुपर्ने

काठमाडौँ– ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा औपचारिक रूपमा आफ्नो सेवाको शुरुवात गरेको छ । इन्ड्राइभले न्यूनतम कमिशन लिएर पारदर्शी सेवा प्रदान गर्दछ । नेपालमा चालक र यात्रु दुवैका लागि निष्पक्ष र किफायती यात्रा सुनिश्चित गर्न इन्ड्राइभले चालकका लागि १०% सम्म कमिशन शुल्क लागू गरेको छ ।

पिपुल–टु–पिपुल मोडेल र ह्युमन ड्रिभन एप्रोचको कारणले इन्ड्राइभ एपको लोकप्रियता बढ्दै गएको छ । एल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड–हेलिङ एपहरू जस्तो नभई इन्ड्राइभले यात्रु र चालक दुबैलाई स्वतन्त्र रूपमा सवारीको भाडा बार्गेन गर्न सकिने अद्वितीय सुविधा प्रदान गर्दछ । यसले यात्रुहरुलाई आफ्नो सवारीको भाडा निर्धारण गर्न र चालकसँग सीधै एप भित्रै बार्गेन गर्ने स्वतन्त्रता दिन्छ ।

इन्ड्राइभ एपमा यात्रुहरूले आफ्नो सवारीको लागि आँफै भाडा प्रस्ताव गर्न सक्नुको साथै सवारी साधनको मोडेल, चालकको रेटिङ र चालक आउन लाग्ने समयको आधारमा कुनै एउटा चालकको राइड अफर लिन सक्छन् । यो नयाँँ प्रणालीले चालकहरूलाई पनि आफूलाई उपयुक्त हुने राइड रिक्वेस्ट लिन, आफ्नै मूल्य राख्न र आफ्नो सहजता अनुसार राइड असेप्ट गर्ने अधिकार दिन्छ । काठमाडौँमा इन्ड्राइभका ट्याक्सी  मोटरसाइकल  डेलिभरी  अन्तर–शहर यात्रा (सिटी टु सिटी) राइड सेवा रहेका छन् ।