शनिबार, आश्विन १७ गते २०८३

भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने


बैशाख १८, २०८१ मंगलबार
भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य हुनसक्ने धारणा व्यक्त गरेका छन् । नेपालमा तीव्र आर्थिक विकासका लागि ठूलो परिमाणमा वैदेशिक लगानी आवश्यक रहेको उल्लेख गर्दै उनले भियतनामी लगानीकर्ताका लागि सहजीकरण गर्न सरकार तयार रहेको बताए ।

नेपालका लागि भियतनामका गैरआवासीय राजदूत न्हुएन थान हाईसँग सोमबार भएको शिष्टाचार भेटमा उपप्रधानमन्त्री श्रेष्ठले दुई मुलुकबीचको कुटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै आर्थिक क्षेत्रमा सहकार्य बढाउनुपर्ने धारणा राखे ।

नेपालमा लगानी सम्मेलन जारी रहेको सन्दर्भ उल्लेख गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले भियतनामसँग नेपालले पर्यटन, कृषि लगायतका क्षेत्रमा सहकार्य गर्न चाहेको बताए। सो अवसरमा राजदूत न्हुएन थान हाईले नेपाल र भियतनामबीच कूटनीति सम्बन्ध स्थापनाको ५० वर्ष पुग्नै लागेको उल्लेख गर्दै लगानी सहजीकरणमा आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए । दुई मुलुकबीच लगानी अभिवृद्धिमा सहकार्य गर्नुपर्ने उनको धारणा छ । भियतनामबाट सिधा हवाई उडानको सम्भाव्यताबारे आफुहरुले हेरिरहेको उल्लेख गर्दै राजदूतले यसो हुन सकेमा पर्यटनमा ठूलो टेवा पुग्ने बताए ।

नेपाल बुद्ध जन्मस्थल भएकाले भियतनामबाट ठूलो संख्यामा पर्यटक नेपाल आइरहेको उल्लेख गर्दै उनले आउँदा दिनमा पर्यटन लगायतका क्षेत्रमा सहकार्य गर्न आफ्नो मुलुक इच्छुक रहेको उनको भनाइ छ । भारत र भुटानका लागि समेत भियतनामी राजदूत रहेका न्हुएन थान हाई काठमाडौंमा आयोजित लगानी सम्मेलनका निमित्त नेपाल आएका हुन् ।