नारायणप्रसाद शर्मा
हिजोलाई फर्काएर ल्याउन सकिन्न । भोलिलाई आजै ल्याउन जति बल गरे पनि त्यो भोलि मात्रै आउँछ । आउने जाने क्रम पानीको प्रवाह जस्तै हो । हामी मान्छेको जीवन पनि त्यस्तै हो । हामी वर्तमानमा छौं । हिजोबाट सिक्न सकिन्छ । भोलिलाई राम्रो बनाउने कल्पना गर्न सकिन्छ । जे गर्न सकिन्छ । जे गर्नुपर्ने हो त्यो आजै गरिहाल्नुपर्छ । छुट्यो त छुट्यो । हाम्रो एउटा सानो टिम (कार्यदल) विपश्यना ध्यान केन्द्रतिर जाँदै थियो । कुराकानी शुरु भइहाल्यो । अहिलेको नेपालको लोकतन्त्रले नेपालीलाई बाटो रोज्ने मौका दिएको छ । असल बाटोतिर लाग्ने कि खराब बाटोतिर लाग्ने ? यो आ–आफ्नो रोजाइ हो ।
राणाहरुको निरंकुश हुकुमी शासनको बेला भए नेपालीले विपश्यना ध्यान चलाउन पाउने थिएनन् । योगमायाहरुले सानातिना माग राखेर असल नेपाल बनाउन खोज्दा ६८ जनाको जत्थाले एकै पटक अरुण नदीमा जल समाधि लिनुपरेको इतिहास साक्षी छ । आजको जस्तो लोकतन्त्रको स्थापना भइसकेको भए गंगालाल, दशरथ चन्द, शुक्रराज र धर्मभक्तले फाँसीको सजाय पाउनुपर्ने थिएन । सय वर्षको संघर्ष र आन्दोलनपछि मात्रै हामी नेपाली रैती र प्रजाबाट स्वतन्त्र नागरिक बन्न पाएका छौं । र आ–आफ्नो बाटो रोज्न पाएका छौं ।
अब बिग्रने ठाउँ बाँकी छैन । जति भाँडभैलो, बेथिति हुनुपर्ने हो त्यति भइसक्यो । देख्नुपर्ने, भोग्नपर्ने अँध्यारो देखिसक्यो । कम्तिमा लोकतन्त्रले यति जनचेतना बढाइदिएको छ । असल बन्ने कि खराब हाम्रो हातमा आएको छ । यति भए पनि मुलुक अशान्त छ । आक्रोशित छ । दुःखी छ । बाटो भेटिरहेको छैन । कसरी सही बाटो पहिल्याउने ? को छ हाम्रो अगुवा, नेता या गुरु ? विपश्वी साधकहरु मात्र रहेको त्यो टिममा जवाफ एकदम सजिलो थियो । बुद्ध वाणी अनुसार आफ्नो अगुवा आफ्नो नेता या गुरु आफै हो । अरु अरुबाट धेरै सूचना र ज्ञान लिन सकिन्छ । आफ्नो चिन्तनले अनुमानले ब्रह्मले जे ठीक ठह¥यायो त्यही ग¥यो ।
फर्कने बेला पनि उही कुरा चल्यो । केही दिनअघि लुम्बिनीमा पाँच हजार मान्छेले एकै पटक ध्यान गरे । यस्तै संसारभरि ध्यान शिविर चलेका छन् । तैपनि अशान्ति, युद्ध, हत्या, हिंसा, बलात्कार प्रतिदिन बढेकै छन् । ध्यान मात्र सबै हो भने संसार सप्रिसक्नुपथ्र्यो । असल बनिसक्नुपथ्र्यो । खै त स्थिति सन्तोषजनक बनेको ? आफ्नै आलोचना, (टीका टिप्पणी) शुरु भो । मान्छेभित्र एउटा महारोग छ । कुवानी छ । हामी जे भन्छौं त्यो गर्दैनौं । गीताले भनेको छ– ‘मनुष्याणां सहश्रेषु कश्चित् यतति सिद्धये’ अर्थात धेरैले या सबैले सिद्धि प्राप्त गर्न चाहन्छन् । दौडमा पहिलो बन्न चाहन्छन् । तर सबै पहिला बन्न सक्दैनन् । तैपनि त्यो दौड त्यो व्यायामबाट केही न केही लाभ सबैले पाइहाल्छन् । हामी शुद्ध बुद्ध बन्ने तत्व सबै भित्र छ । तर विघ्न वाधा र व्यवधान चिर्न गाह्रो पर्छ । कैयौं ध्यानी मान्छे बिग्रन पुग्छन् । कति त कर्मकाण्डी शैलीका अथवा गरिटोपल्ने या रीत पुराउने चरित्रका हुन्छन् ।
जीवनको प्रत्येक क्षेत्रमा लागेका मान्छेहरु अनेक अवस्थाबाट गुज्रेका छन् । हिजो राजनीतिमा नाम कमाएका अनेक नेताहरु भ्रष्टाचारको अभियोगमा जेल पर्छन् । कति दुर्गन्धित भइसकेका हुन्छन् । कति अहिले पनि वेदाग छन् । तिनको लिस्ट लामै हुन सक्छ । वन र सहकारी क्षेत्रमा काम गर्नेहरुको एकताका कत्रो हाइहाइ थियो । आज बदनाम भइरहेका छन् । ती मध्ये सबका सब कुहिसके, दुर्गन्धित भइसके भन्ने हैन नि । राम्रो नराम्रो जहाँ पनि छ । राम्रोलाई प्रोत्साहन गर्ने र नराम्रोको पर्दाफास गरिदिने काम सबैको हो । त्यसमा सबभन्दा राम्रो भूमिका पत्रकारहरुको हुनसक्छ । तर आजको पत्रकारितामा अन्यत्र जस्तै गडबडी पनि छ ।
लोकगणतन्त्रले के बिराएको थियो र ? तर बाह्रबुँदे समझदारीदेखि आजसम्म सबका सब उपलब्धिलाई नकारेर मुलुकलाई पछाडि धकेल्नेतिर पनि केही नामी पत्रकारहरु लागिपरेका छन् । यथार्थमा भन्ने हो भने संसारका कुनै पनि जनआन्दोलनहरु तिथिमिति हेरेर विधि र कानुनका पाना पल्टाएर भएकै छैनन् । त्यहाँ कमी कमजोरी हुन सक्छन् । तिनलाई सुधार्दै लैजाने कि बिथोलि मात्र रहने ? जंगबहादुरले कुन विधान सम्झेर कोत पर्व चलाएका हुन् ? सात सालमा कुन कानुन पढेर नेहरु, राजा र राणा मिलेर त्रिपक्षीय सम्झौता गरेका थिए ? जेहोस् यस्तै क्रममा हामी प्रजातन्त्र हुँदै गणतन्त्रमा आइ पुग्यौं ।
म कोठामा आइपुगेर पनि यस्तै यस्तै कुरा सोच्दै थिएँ । वैशाख ११ गते राजाले पुनः संसद स्थापनाको घोषणा गर्न वाध्य हुन परेको दिन । त्यसपछि वृहत शान्ति सम्झौता हुँदै गणतन्त्रमा आइपुगेको १७ वर्ष पूरा भइसकेछ । तर यस्तो राजनीतिक खुशीको दिनमा दाङमा कसैले पनि एक शब्द लेखेको, बोलेको, भेट्न नपाउँदा अलिकति खल्लो लागेको हो । यसैबेला दाङको २०६३ सालको वैशाख १० गते नागरिकहरुको दुई ढाइ लाखको जुलुस प्रदर्शन सम्झें । त्यसबेलाका खुला क्रियाशील राजनीतिक दलहरु सामेल नभएको जुलुस अब होला नहोला । यस्तैलाई कतिले न भूतो न भविष्यति भनेका हुन् अर्थात अब त्यस्तो के सम्भव होला ?
आफ्नै कोठामा सुरक्षित ‘नागरिक आवाज’ नामको दाङकै नागरिक समाजले २०८० सालमा प्रकाशित गरेको ठ्याक्कै सय पेजको पुस्तिका सरर हेरिभ्याएँ । यहाँको नागरिक समाजको स्थापनाकालको इतिवृत्ति पढेर ती पुराना दिनको सम्झना भयो । संविधानसभा, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र संघीयताप्रति त्यस पुस्तिकाको समर्पण भाव देखाउने लेखकहरुलाई मनमनै धन्यवाद दिएँ । त्यसैमा प्रकाशित निर्देशिकाले पनि दाङको नागरिक समाजलाई बाटो देखाएको छ । यस विपरीत गएर नागरिक समाजलाई पश्चगामी चिन्तन बोक्नेहरुले ध्वस्त नपारुन् भन्ने उद्देश्यमा पत्रिका चनाखो भएर उभिएको छ ।
माथि भनिए झैं आज नेपालको भविष्य बन्न नदिने शक्तिहरुलाई या पछाडि पर्कन खोज्नेहरुलाई मात्र पनि दोष नदेऔं । लोकगणतन्त्रवादीहरुले आफ्ना वाचा अनुरुप प्रतिबद्धता अनुरुप काम गर्न सकेको भए यो स्थिति नै आउने थिएन । उही बाटाकै गफगाफ फेरि सम्झें– जति बिग्रने हो बिग्रिसक्यो । यहाँ भन्दा बढी बिग्रिने ठाउँ नै छैन । अब बाँकी छ– सप्रने बाटो । उत्थान र पतनको भुमरी यस्तै हुन्छ । इतिहासको गति यस्तै छ । पुरानो भनाइ पनि यस्तै छ– नरकपछि स्वर्र्गै हो । अर्को ठाउँ नै छैन । राम्रो काम गरेर पछि बिग्रेकाले सिक्ने यस्तै हो । महाभारतको कथामा धर्मराज युनिष्ठिरलाई स्वर्ग जाँदा पहिले नरकतिर लगियो । उनले ठूला ठूला भूल गरेका थिए । पछि मात्र स्वर्ग देख्ने पाए ।
कुरो दुईचार जनाको गफ मात्रै हैन । यस्तै हुँदै आएको छ । ग्रिक सभ्यताले पनि त्यही देखायो । युरोपको इतिहासमा इसाको तेह्रौं शताब्दीदेखि पन्ध्रौं शताब्दीसम्मलाई अन्धकारको युग मानिन्छ । त्यतिबेलाका शासकहरु, धर्मधिकारी, पुरोहित पादरीहरुले जनतामाथि गर्नुसम्म अत्याचार गरे । विरोधीहरुलाई जिउँदै जलाउने, शूली चढाउने जस्ता अति भएपछि मान्छेभित्रको मानवता उर्लियो । यस्तो मानवतावाद ग्रीसको प्राचीन शहर एथेन्समा आएको थियो । यसैलाई पुनर्जागरण काल भनिन्छ । नेपालमा पनि यस्तै जागरणको बिउ पहिलेदेखि नै थियो । त्यो प्रस्फुटित हुन पाएको थिएन । लोकगणतन्त्रको रुपमा त्यो उदाइसकेको छ ।
खासगरी युरोपको पुनर्जागरणको झल्को दिने जागरणकालको बिउ, बुद्धकालीन समयमा मानवतावादी समाजको त्यस्तो बिउ नेपालमा उम्रिसकेको थियो । मान्छेलाई जातभात, वर्ण, वर्ग, लिंगको आधारमा हैन बिशुद्ध मान्छेकै रुपमा बुझ्ने बुद्धको चिन्तन चोखो मनले जान्न खोज्न बाँकी छ । मान्छेको दुर्भाग्य हो– मान्छेलाई सत्य पच्दैन । ऊ लकीरको फकीर बन्नमै मस्त छ । लोकगणतन्त्रको सदुपयोग गर्न सिकौं, आफै उदाहरण बनौं, नेपाललाई भूस्वर्ग बनाउन । पुर्खाले स्वर्गको कल्पना गरेका थिए । त्यसलाई हामी व्यवहारमा साकार पारौं । गर्न सक्नेलाई अनन्त सम्भावना छन् ।
साभार - नयाँ युगबोध अनलाईन
बिहिबार, बैशाख १३, २०८१