शनिबार, आश्विन १७ गते २०८३

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यको सहमति


बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यको सहमति

नेपाल र कतारबीच द्विपक्षीय लगानी र विविध क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर शेख तमिम बिन हमाद अल थानीसहितको प्रतिनिधिमण्डलबीच बुधबार बिहान भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

दुवै देशका सरकारी तहका विभिन्न मन्त्रालय अन्तर्गतका ६ वटा र निजी क्षेत्रका थप २ सहित ८ विषयमा सम्झौता भएको हो । दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।

सहमतिपत्रमा नेपालको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारी समकक्षीले हस्ताक्षर गरेका छन्। काठमाडौंको होटल सोल्टीमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता र सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र कानुनमन्त्री पदम गिरी लगायत सहभागी थिए ।

यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच समेत सम्झौता भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबीच पनि लगानी आदान प्रदानसम्बन्धी समझदारी पत्रमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका तर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरेका हुन् ।