शुक्रबार, कार्तिक ७ गते २०८३

०७२ को भूकम्पलाई ०८१मा सम्झँदा !


बैशाख १२, २०८१ बुधबार
०७२ को भूकम्पलाई  ०८१मा सम्झँदा !
शनिबार, १२ वैशाख २०७२ (२५ अप्रिल २०१५) बिहान ११.५६ बजे, ८१ वर्षको अन्तरालमा ९० सालपछिको ठूलो (८ म्याग्निच्यूड वा ७.६ रेक्टर स्केलको) भुईंचालो गयो ।
 
गोरखाको बारपाक केन्द्रविन्दु भएको (१५ कि.मि.गहिरो भूगर्भभित्र) यो भुकम्पले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, रामेछाप, रसुवा, धादिङ, गोर्खा, लमजुङ, तनहुँ र मकवानपुरमा सबभन्दा बढी जनधनको नोक्सानी गरायो । ३९ जिल्लाका ८० लाख जनता यो भूकम्पबाट प्रत्यक्ष पीडित भए ।
 
७ हजार ८८५ भन्दा बढी नेपालीको मृत्यु (४३ विदेशी नागरिक), १५ हजार ९४४ भन्दा बढी घाईते (विदेशी ४६, वेपत्ता विदेशी ४१), पुरिएका मध्ये ८७२ जनाको जिवितै उद्धार गरिएको थियो ।
 
उद्धार तथा राहत सेवाको लागि भारत, चीन, अमेरिका, बेलायत, जापान लगायतका २२०० उद्धार तथा राहतमा निपुण सहयोगीहरू नेपाल आए । नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार मा सक्रियता देखेर ती विदेशी पनि छक्कै परे ।
 
सामान्य साधन र उपकरणको भरमा संकटग्रस्त ठाउँमा पसिहाल्ने ! १ लाख ४८ हजार, १८२ घर र ६६८ विद्यालय भवन पूर्णरुपमा ध्वस्त भए । घर सकुशल भएकाहरू पनि सार्वजनिक स्थलमा पाल हालेर बसे । खाली स्थान, चौर, सडकछेउमा समेत महिनौंसम्म पाल हालेर बस्ने काम भयो ।
 
करिब ६ सय पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदा ध्वस्त भए। काठमाडौं उपत्यकाको भौगर्भिक अवस्थिति ३ मिटर दक्षिणतर्फ धकेलियो ।
 
भोलिपल्ट आईतबार १३ गते वैशाखमा पनि दिउँसो १२ बजेर ५४ मिनेटमा अर्को त्यस्तै ठूलो स्केलको भूकम्प गयो । २९ वैशाखको पनि त्यति नै ठूलो भुकम्प थियो । साना-ठूला परकम्प त कति हो कति !
 
धन्य, शनिबार परेको थियो, विद्यालय विदा थिए, नत्र हाम्रा छोराछोरीको के हालत हुन्थ्यो होला !