शनिबार, आश्विन १७ गते २०८३

आयात र निर्यात दुवै घट्दा व्यापार घाटा कम

बैशाख ९, २०८१ आइतबार
आयात र निर्यात दुवै घट्दा व्यापार घाटा कम

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा मुलुकको व्यापार घाटा साढे १० खर्ब रुपैयाँको रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको चैत मसान्तसम्म आइपुग्मादा व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँ भएको हो ।

गत आवमा मुलुकको व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख रुपैयाँको रहेको थियो जुन आँकडा चालु आवको ९ महिनाको तुलनामा २।७५ प्रतिशतले कम हो । 

चैतसम्ममा १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ जब कि गत आवमा १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख रुपैयाँको वैदेशिक व्यापार भएको थियो । जस अनुसार वैदेशिक व्यापार २।९२ प्रतिशतले कम भएको देखिन्छ ।

नेपालले ९ महिनाको अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । गत आवको तुलनामा यो वर्ष २।८४ प्रतिशतले कम आयात गरेको छ । गत आवमा नेपालले १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।

त्यस्तै चालु आवको ९ महिनामा निर्यात पनि ३.६६ प्रतिशतले घटेको छ । नेपालले गत आवको ९ महिनामा १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो भने चालु आवमा १ खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँको मात्र निर्यात गरेको छ । यस अवधिमा नेपाल सरकारले आयातित वस्तु तथा सेवाबाट ३ खर्ब ६ अर्ब ८० करोड १८ लाख रुपैयाँ राजस्व उठाएको छ ।