नेपालपत्रले यही बैशाक ५ गते ३२ बर्ष पूरा गरेर ३३ बर्षमा प्रवेश गरेको छ । साप्ताहिकरुपमा बिधिवत प्रकाशित हुन शुरु गरेपछि पनि अनेक उतार चढाव बेहोर्दै बेला बेलामा स्थगन र सञ्चालन हुदै आएको नेपालपत्र पछिल्लो समयाबधि अर्थात् २०६६ देखियता भने यो अर्थ–राजनीतिक साप्ताहिककोरुपमा निरन्तर प्रकाशित भइरहेको हो । यता पछिल्लो समयमा पुनः सरकारी हमला र नियोजित अबमूल्यन पछि यसलाई साप्ताहिकबाट मासिक मेगाजिनकोरुपमा र अनलाइन नेपालपत्र न्यूज डटकमका रुपमा नियमित सञ्चालन गर्न थालिएको छ । यसका लागि यस पत्रिकाका शुभ चिन्तक, सहयोगी, लेखक,पाठक, ग्राहक तथा बिज्ञापनदाताहरु एबं बितरकहरु सबैको उत्तिकै योगदान रहेको छ । यसको निरन्तरता र ३३ वर्ष–प्रवेशको यो सुखद् अबसरमा हामी उहाँहरु सबैप्रति हार्दिक आभारका साथ कृतज्ञता र सम्मान प्रकट गर्न चाहन्छौ । साथै यस पत्रिकामा कडा मेहनतकासाथ काम गर्ने सबै सञ्चारकर्मी मित्रहरु र बितरक सहयोगीहरुप्रति पनि हामी उत्तिकै आभारी छौ । वास्तवमा उहाँहरुकै अथक परिश्रमले यस पत्रिकाले निरन्तरता पाइरहेको हो र पाइरहेको छ । अनि बिगतमा जस्तै आगामी दिनमा पनि हाम्रा सबै शुभचिन्तक, पाठक, ग्राहक, बिज्ञानपनदाता मित्रहरुको बिश्वास,भरोसा र सहयोग रहने र अझ बढ्नेछ भन्ने बिश्वास र अपेक्षा हामीले गरेका छौं । सबैको सकारात्मक सुझाव र सल्लाहको हामी सदा र्सबदा सम्मान र कदर गर्ने बिश्वास पनि नयाँ बर्ष २०८१ प्रवेशको यस सुखद अबसरमा हामी पुन दोहोर्याउन चाहछौं र सबैमा नब बर्षको हार्दिक मंगलमय शुभकामना पनि ब्यक्त गर्न चाहन्छौं ।
अर्थ–राजनीतिक पत्रिकाकोरुपमा यसलाई सञ्चालनगर्न थालेपछि यसले एकातिर देशको राजनीतिक उतार चढावमा खाशगरी परिवर्तनका पक्षधर बाम तथा लोकतान्त्रिक शक्तिहरुका गल्तीकमजोरीहरु औंल्याउने र तिनले परिवर्तनका उपलब्धीहरुलाई संस्थागत गर्न खेल्नुपर्ने र खेल्नसक्ने भूमिकाबाट बिचलित हुँदा त्यसको आलोचना गर्दै र निरन्तर सजग गराउने काम एकातिर गर्दै आएको छ भने अर्कोतिर देशको कृषि, सहकारी, उद्योग, ऊर्जा, ब्यापार, अर्थनीतिका बिबिध पक्षका साथै स्वास्थ्य,शिक्षा,कला सँस्कृति, ज्ञान बिज्ञान तथा अन्तर्राष्ट्रिय क्षेत्रका गतिबिधिहरुमा पनि बिभिन्न किसिमले निरन्तर आवाज उठाउदै आएको छ । यी याबत क्षेत्रहरुका बिभिन्न पक्षहरुको बिकासको गतिमा आएको मन्दता र कमजोरीहरुको उजागर र सकारात्मक पक्षलाई उल्लेख गर्दै ती क्षेत्रहरुलाई सबल बनाउन सरोकारवाला सबैले खेल्नु पर्ने सार्थक र सकारात्मक भूमिकाका बारेमा पनि अबिरल कुरा उठाउदै आएका छ । अनि तिनका बिकृति र बिसंगतिहरुप्रति औंला ठड्याउँदै आएको छ । यसरी नेपालले सञ्चार क्षेत्रले सन्तुलित किसिमले सबै क्षेत्रलाई समेट्नु पर्दछ भन्ने मान्यतालाई अघि बढाइरहेका छ । यसमा रहेका कमी कमीकजोरीहरुलाई सकारात्मक किसिमले उजागर गरिदिएर हामीलाई देश र जनताप्रति अझ बढी जिम्मेवार बन्न सचेत पाठकहरुले उत्प्रेरित गरिरहनु हुने नै छ भन्ने नेपालमत्रको अनन्त बिश्वास रहेको छ ।

वास्तबमा आजको हाम्रो राष्ट्रको र बिश्वभरीकै राष्ट्र समुदायको चौतर्फी बिकास अझ बढी सचेतना र सही सूचना बिना सम्भव छैन । त्यसैले हामीले ’सचेतता र समुन्नतिका निमित्त सञ्चार’ भन्ने मान्यतालाई बिकसित र बिस्तार गरिर्नुपर्दछ भन्ने कुरा निरन्तर उठाउँदै र अघि सार्दै आयौं । आज पनि यसको सान्दर्भिकता उसैगरी कायमै छ । अझ हामी ‘जिम्मेवार र प्रभावकारी सञ्चार, जनताको लोकतन्त्रको पूर्वाधार’ भन्ने मान्यतालाई हामी सदा सर्बदा आत्मसात गर्दै हिड्ने प्रयत्नमा निरन्तर छौं । यसले हाम्रो लोकतान्त्रिक मूल्य, मान्यता, पद्धति र बिचारहरु जनता र राष्ट्रको सर्बोपरी हितका लागि हुन् र हुनु पर्दछ भन्ने कुरालाई अनुभूत गरेको छ र गरिरहनेछ । अर्को थप यसको के पनि अर्थ हो भने सञ्चार जगतले जन सरोकार र आवश्यकताका हरेक ज्वलन्त राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वपूर्ण बिषय बस्तुहरुमा समेत ध्यान केन्द्रित गर्न सक्नु र सिक्नु पर्दछ । यस प्रकारको निरन्तर सजगता नै लोकतन्त्रको निरन्तरताको आधार हो भन्ने कुराप्रति हाम्रो अखण्ड बिश्वास रहेको छ ।
देशको आजको बस्तुगत राष्ट्रिय राजनीतिक स्थिति बिश्वसनीय र भरपर्दो छैन । पछिल्लो परिबर्तन पछि जेनतेन संबिधान बनेर दोश्रो आबधिक निर्बाचन पछिको चरणबाट देश गुज्रिरहेकाे भए पनि निर्णायक तहमा पुगेका दलहरुकोबिगतदेख अहिलेसम्म अनेक छल प्रपञ्चका गतिबिधि,बिकृति र बिसंगतहरू निरन्तर देखेर जनता निराश र आक्रोशित छन् । देशको सबैभन्दा ठूलो बिकासको ऊर्जा – यूवा शक्ति रोजगारीको खोजीमा बिदेशतिर बाहिरिन बाध्य छ । यस प्रकार सामाजिक र आर्थिक बिकृति र बिसंगतिहरुले नेपाली समाज अन्यन्तै आक्रान्त छ । यस्तो स्थितिमा एकातिर अनिश्चित भबिष्य र अर्कोतिर बाह्य हस्तक्षेपका अबाञ्छित गतिबिधिहरु अझ बढ्ने र बढिरहेको अमान्य र अस्वीकार्य एबं घातक स्थिति उत्पन्न भइरहेकोछ । देशको यस्तो स्थिति जनताले चाहेको स्वाधीनता, शान्ति र सम्बृद्धि सुहाउँदो र अनुकूल स्थिति पटक्कै होइन । त्यसैले आज सचेत राष्ट्रिय एकताको अझ बढी खाँचो छ । यसको लागि निष्ठाबान क्रान्तिकारी लोकतान्त्रिक र बामपन्थी शक्तिहरु देश र जनताप्रति अत्यन्तै संबेदनशीलता र गम्भीरताकासाथ एकाबद्ध हुनुको बिकल्प छैन । यस दिशामा जिम्मेवारीपूर्बक अग्रसर हुने बिबेक र बुद्धि पलाओस् भन्ने नेपालपत्रकाे ३३ बर्ष प्नबेशकाे उपलक्षामा सबैमा शुभकामना ।