
शिव भटराई
विक्रम सम्वत्को २०८० पनि हाम्रा लागि विगतका वर्षहरु जस्तै बितेर गयो । उपलब्धी र प्राप्ति पनि ऐजन विषय मात्र नै भयो । इतिहासद्वारा बरोबर धोका खाएका र समयकालमा पनि निकै पछि परेका हामी नेपालीलाई २०८० को अघि र यसकै सेरोफेरो पनि आयो अनि गयो मात्रै । हाम्रो समयभित्र पसेको र ३६५ दिनसम्म बसेको २०८० को वर्ष, वास्तवमा राजनीतिक चर्चाको, परिवर्तनको वा प्रत्यावर्तनका कथासित गाँसेर हेर्न पनि मिच्छ्याहट लाग्ने विद्रुप रुपमा वा आकृतिहरुको अर्थ–सन्दर्भ र उपयोगिताको अन्तर्य छुट्याउन सक्ने चेत नै हामीमा नभएर गयो ।
राजनीतको खेल भनेको हामीकहाँ जालझेलमै सीमित भएको कुरा ठह¥याउनै परेन । हत्या, हिंसा, धोखा, षड्यन्त्रबाट आजित भएको राणाशासनको १०४ वर्ष होस् वा शाह शासनको अकर्मण्यताले पिरोलिएको देशको दुरावस्था; सुगौली सन्धिले पनि, भीमसेन हत्या, रणबहादुर शाह वा दरबारका रानी महारानीहरुले पनि, अथवा कोतका धारिला तर्बारका चोटहरुले पनि । तर अहिले पहिलेका कुरा सम्झेर मुटु मिचि पीडा पोख्छु भनेर पीडा सकिने त होइन । निश्चय पनि अनेकथरी पीडा बोकेर नेपालीले २००७ सालमा सशस्त्र क्रान्ति सफल पारे । प्रजातन्त्र आयो पनि भनियो तर आम नेपाली भने देशमा शाहको छातामुनि पञ्च प्रपञ्चको विशाल काया हुर्कियो–३० वर्ष पञ्च राजनीतिको ‘प्रजातन्त्र’ले आफ्नै अनुकूलको शासनानन्द लियो । तर पनि इतिहास रोकिएन । मानवीय चेतनाले चिमोटी रह्यो। २०४६ सालसम्म आइपुग्दा क. पुष्पलालको संयुक्त संघर्षको आव्हानले सफल आकृति लियो र लोकतन्त्र हुँदै गणतन्त्रमा नेपालीले फड्को मा¥यो । तर राजनीतिले भने किन हो फड्को मार्नै सकेन । के हाम्रो देशको राजनीति भनेकै, विसंगतिहरुको किचलो अथवा हुँडलोहरुको उत्ताउलो प्रवृत्तिहरु मात्रको आवृत्ति हो त ?
अब त, आफ्नै अल्पज्ञताले होला देशको इतिहासले अतीतको दुःखान्त कथा र व्यथाहरुको गाथा गाउन छोडछन् जस्तो लाग्न र देख्न थालिएको छ । ७ सालको क्रान्ति कालमै पनि पुष्पलालले प्रजातान्त्रिक शक्तिहरुसित मिलेर राणा र सामन्तहरुलाई परास्त गर्न सकिने प्रस्ताव काँग्रेस सामु राखेका थिए । प्रजातन्त्रका हठी नेता र सामन्ती सत्ताको अपवित्र गठबन्धलने तगारो लगायो । नेपालको राजनीतिले मूल बाटोमा लैजान सकेन । ती वर्षका प्रवासबास भनौं या निर्वासनबाट ४६ सालको संयुक्त जनआन्दोलनको मूल बाटोमा आएर पुष्पलालको पथगामी भएपछि पाएको लोकतान्त्रिक र गणतन्त्रको सार र रुप यही हो भनेर खुट्याउन । के हामी आलाकाँचा हौं वा अलि बढी नै बाठाटाठा । जनताको संविधान त्रिभुवन, महेन्द्र र राजा विरेन्द्रले दिएनन् भन्ने गुनासो पनि अब छैन । जनताकै संविधान जनताकै प्रतिनिधिले लेखेर जनताद्वारा अनुमोदित भइसकेको संविधानबाटै जननिर्वाचित जनताको सरकार छ । देशमा सबै प्रकारको व्यवस्थाको सञ्चालन र व्यवस्थापन तिनै जनप्रतिनिधिहरुद्वारा उत्तरदायी सरकार देशले पाएको छ । तर, किन्तु, परन्तुको शब्दजालभित्र बसेर यो अव्यवस्थित व्यवस्थाको कारण केही उदाहरण प्रस्तुत गरौं भने अझै पनि अलमल्लममा पर्छौं ।
निश्चय पनि ४६ को आन्दोेलन अलि अपुरो थियो र राज र राजतन्त्रको गन्धले राज्य व्यवस्थाका सबै अंगहरु दुर्गन्धित नभएपनि सुगन्धित हुन सकेनन् । फरस्वरुप ५२ सालले ‘जनययुद्ध’लाई आव्हान ग¥यो र देशले हिंसात्मक बाटोबाट समाधान खोज्ने प्रयत्न ग¥यो । ५० लाख टाउकाको मोल तोकेर दमनको उन्माद फैलाएपनि अन्ततः क. पुष्पलालकै संयुक्त संघर्षको रणनीति शीरोधार्य गरी शान्तिसम्झौता र बाह« बुँदे सम्झौतामा सबैखाले राजनीतिक दलहरु समाहित हुनु नै प¥यो । तर तयो शान्ति सम्झौताले नेपाली मनको अपेक्षालाई अलि अलि मात्र होइन अलि धेरै अल्मल्यायो । शान्ति–प्रगति –संवृद्धिको नेपाली मनोकांक्षले मूर्तता पाउन सकेन सकेन उल्टो गति लिन खोजेको आभाष पो आउन थाल्यो ।
यी र यस्तै धेरै राजनीतिक गन्तब्यले हाम्रो राजनीतिक मन्थन अति नै धमिलियो । राजनीति सरल र सोझो बाटोबाट नहिँडेको बिरह पोखेर दोहो¥याइरहनु परेन । धेरै टाढा पनि जानुपर्दैन । कोत पर्व र जङ्गे शासनले जन्माएका असहिष्णु शासन र शासकको अहंकारले आफ्नै जेठा छोरा भीमजंगको लट्ठी प्रहारबाट जंगबहादुर मर्नुप¥यो । १०४ वर्षको राणा शासनका केही सकारात्मक उपलब्धीहरुले अहिलेसम्म पनि देशको इतिहासभित्रको अँधेरो कुना कुर्न परेको छ । तर पनि हामी नेपाली जनताले देशका लागि केही विारम गरका छैनौं । र पनि शासकीय अहंकारका हुँकारहरुबाट तर्सिनुपर्ने भयावरणको भारीलाई बोक्न बाध्य बनाइएका छौं । आखिर यो सबै किन ? शासकिय सत्ता र शक्तिको प्रदर्शन लात्ती प्रहारसम्मको बाणीमा गुञ्जिन्छ र मुखै देखेमा पनि कुल्ला गर्नुपर्ने व्यवहारमा बर्सिन्छ । राजनीतिक भाषा, वाणी, व्यवहारशैली र सँस्कृतिबाट पाएको परिचय यही हो हामीले । वीपी र पुष्पलालको राजनीतिक यात्राभित्र देखिएका वा भेटिएका जीवनदर्शन, आदर्श, सँस्कृतिको यो कस्तो रुपान्तरण हो ?
निश्चय पनि विपीले पुष्पलालसित राजनीतिक सहयात्रा गर्न नरुचाएकै हो र गिरीजाप्रसाद कोइराला पनि त्यही बाटोमा धेरै नै लहसिएका हुन् । उनका राजनीतिक पोष्यपुत्रहरुमा अहिलेसम्म पनि कम्युनष्टिप्रति घृणाको धङधङे छँदैछ । यद्यपि प्रचण्डले सत्ता सुखको पुष्पशैया पाउन दलाल पुँजीवादको पाउ समाउन पनि तत्परता देखाएको घामजस्तै छर्लङ्ग छ । र पनि नेपाली काँग्रेसको कम्युनिष्ट घृणाको निकृष्ट राजनीतिले सिँगौरी खेल्दैछ । काँग्रेस, कम्युनिष्ट राजनीतिक शक्ति मिलेर संघर्षमा उत्रँदा दुईसय वर्ष पुरानो राजतन्त्रको गोडा काँप्दो रहेछ र राजा समेत मिल्दा राणातन्त्रनै भाग्दो रहेछ । भने राजनीतिक शक्ति संयोजनको चाँजोपाँजो मिलाउन सके र मिलेमा अझै पनि देशको राजनीतिको बिथोलिएको बाटोले मूल बाटो भेटाउन र देशको कायापलट गर्न सक्छ । हामीले धेरै हरायौंं र केही पनि पाएनौं र केही पाएको भएपनि त्यसको उपयोग गर्न सकेनौं । सुगौली सन्धिको पीर र बीरताको गाथा गाएका हाम्रा गोर्खाली बीरहरुले प्रदर्शन गरेका बीरता र बहादुरी खुँडा र खुकुरीको चम्किलो धारमा मात्र देखिने हो अथवा अर्को देशको सीमा घटाउन वा छोट्याउन, आफ्नो देशको गुमेको सीमा पनि लिन नसक्ने र कराउने मात्र हो । हाम्रो राजनीति र अक्षमताले सैनकि क्षमतालाई पनि होच्याएको यो पृष्ठभूमिले हामीलाई अलिहे पनि गिज्याइरहेकै छ । यस्तो स्थितिबोधको पिरलोमा प्रबुद्ध नेपाली परिरहेकै छन् ।
निश्चय पनि सत्ता समीकरणको राजनीतिक माखे साङ्लो भित्र परेको लोकतन्त्र भनिएको राजननीति ठालूतन्त्रको सँस्कारहीन राजनीति नै हो । त्यसैले हामीकहाँ हुर्कन खोजेको लोकतन्त्रातमक ठालूतन्त्र सत्तामुखी शासकको माखेसाङ्गलो भित्र परेको छ । यस्तो राजनीतिको परिणति भनौं अथवा परिणाम सत्ताप्राप्तिमा नै रङ्गमङ्गिएको छ। यस्तो राजनीतिको जन्म अस्वीकार्यताको गर्भबाट हुन्छ । ४६ सालले चुकै यहीँनेर हो । सूर्यबहादुर, लोकेन्द्रबहादुर देखि गिरिजाप्रसाद र शेरबहादुरले खेलेको राजनीतिले निम्त्याएको अस्थिरताले जनयुद्धको विश्रामसम्म पुगेर यसको अवसानपछि धेरै नेपालीहरुले देशमा शाहकाल(रणबहादुर शाह) देखि भाँडिएको राजनीति, राज्यव्यवस्था, सुशासन र सम्बृद्धिले निश्चित बाटो पाउँछ कि भन्नेमा निकै ठूलो आशा धेरैको थियो । कतिले ठूला सपना देखेका थिए । आशा निराशामा फेरि फर्कियो । सपना पनि दुःस्वप्नमा परिणत भएको ठह¥याउन बाध्य भयो । नेपाली जनहरु स्तंभित र अचंभित दुवै हुनुप¥यो । अस्ति भर्खरको कुरा त हो, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरीजाप्रसाद, मनमोहन, सहाना, मदन भण्डारीहरुले पुष्पलालले देखाएको संयुक्त संघर्षको राजनीतिक बाटो हिँडेर, लोकतान्त्रिक पद्धतिलाई नै पछ्याएका हुन् । समयको मागले अतीत भइसकेका धेरै विसंगतिहरुलाई बिर्सन खोजेको तर बिर्सन नसकेरै होला विसंगतिकै भुमरीमा आफै परेको राजनीतिको चक्रवात कसरी रातारात घुम्छ र कहिले केपी ओलीको बार्दली वरिपरि घुम्छ त कहिले स्वाभाविक र अस्वाभाविक रुपमा आफुले आफैंलाई गिज्याइरहन्छ । नैतिक अनैतिकको पाठ आफ्नै कार्यकर्ताहरुलाई पढाइरहन्छ ।
वास्तवमा हामीजस्ता अबुझहरुले आफ्नै नीति र अनीतिको चिनारी नगरेसम्म मेची महाकारीभित्र छरपष्ट भएका राजनीतिक घटाकाशहरुको छिनोफानो वा पटाक्षेप गर्न मुश्किल छ । सच्चाइसित संघर्ष गर्ने इच्छाशक्ति नै नभएपछि आआफ्नो बार्दली र बैठकमा भनाभन र घोँचपेच बाहेक अरु उपाय के नै हुन्छ र ? अहिले हामीले देखेका वा भोग्नुपरेका असन्तुलित राजनीतिक शक्ति सञ्चालनका बृथा या कृतकलाहरुले हाम्रो विकासको कस्तो बिहानीलाई बोलाउने हो र कस्तो चिन्तनको प्रकाश फैलाउने हो हामी अन्यौलभित्रै मडारिएका छौं ।