शुक्रबार, कार्तिक ७ गते २०८३

बिक्रम सम्वतका महत्वपूर्ण विशेषता


बैशाख ५, २०८१ बुधबार
बिक्रम सम्वतका महत्वपूर्ण विशेषता

 आधिकारिक रूपमा १९५८ सालमा विक्रम सम्वत प्रचलनमा ल्याएका चन्द्र शमशेरको पालाभन्दा चारसय वर्ष पहिले रामशाहको पालादेखि नै प्रचलनमा रहेको पाइन्छ । भारतमा विक्रम संवतको नववर्ष चैत्र शुक्लप्रतिपदा तिथिमा मनाइने गरिन्छ । यो सम्बत नेपालमा सर्वाधिक प्रचलित र भारतका विभिन्न राज्यहरूमा पनि प्रचलित, इस्वी सम्वत भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडि, शाके सम्वतभन्दा १३५ वर्ष अगाडि र नेपाल सम्वतभन्दा ९३६ वर्ष अगाडि रहेको सौर्य पात्रो हो ।
नेपालको औपचारिक कामकाजमा प्रयोग हुने विक्रम संवत् सौर्यमानक हो । यो संक्रान्तिमा आधारित छ । साथै परम्परागत प्रचलनमा विक्रम संवत् चन्द्रमानक संवत् हो । संस्कृति र परम्परागत कार्यमा चन्द्रमानक पात्रो चलाईन्छ, जसमा औंसी, पूर्णिमा, एकादशी जस्ता दिन समानान्तर ढङ्गले तिथिको रुपमा मिलाईएको छ । यसै आधारमा खगोल शास्त्र तथा फलित ज्योतिषशास्त्र पनि मिलान गरिएको छ । बिक्रम सम्वतको यो विशिष्ट विशेषता हो, जब कि ईश्वी सम्वत सूर्यमानक मात्र हो । विसं १९६० अघि विक्रम संवत् चन्द्रमानक मात्र थियो । त्यसो त अहिले पनि चाड पर्व, संस्कृति, संस्कार, रीतिथिति लगायतका धार्मिक एवं सांस्कृतिक गतिविधिका लागि चन्द्रमानक पात्रोकै प्रयोग गरिन्छ ।
लिच्छवीकाल, मल्लकाल, सेनवंश, पृथ्वीनारायण शाहका शिलालेखहरू, पुरातात्विक महत्वका अभिलेखहरू, वंशावली आदि एवं भीमसेन थापादेखि कोतपर्वसम्म, जङ्गबहादुरकालिन पहिलो मुलुकी ऐन र नेपाल–अंग्रेज युद्धको बेलाका सबैजसो कागजातमा यो सम्वतको उल्लेख रहेको छ । नेपाल एकीकरणभन्दा पहिलेका बाईसे–चौबिसे लगायतका सबैजसो राज्यहरूमा प्रचलित रहेको थियो ।
विक्रम सम्बत भारतको उज्जयनीबाट राजा बिक्रमादित्यको नामसँग उठान भएको पनि भनिएको छ । इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार ‘जुन समय ई.पू. ५८ वर्षमा यो सम्बत् उठान भएको थियो, उस समयमा भारतको उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन । उज्जयनीका खण्डहरूको उत्खनन् हुँदा पनि विक्रमादित्यको अस्तित्वका चिन्ह भेटिएको छैन ।’ वि.स. १९३७ मा भारतको गुजरातका अनुसन्धाता पं.भगवानलाल इन्द्रजी नेपालमा आई लिच्छविकालमा उल्लेखित सम्बतहरूलाई विक्रम सम्बत ठहर्याएर २३ वटा अभिलेख सङ्कलन गरी लगेका थिए ।
वैदिककालदेखि तिथिको आधारमा चल्दै आएको विक्रम सम्वतमा तिथिहरू थपघट भइरहने हुनाले शासन व्यवस्थामा धेरै अप्ठ्यारो हुने हुँदा ज्योतिषहरूको सल्लाह र सुझावमा सजिलोका लागि चन्द्रशमशेरले गतेमा लेख्ने चलन चलाएका हुन् । यो सम्वत विश्व ब्रह्माण्डका ग्रहगति र प्रकृतिसँग सापेक्ष छ । नेपालमा विक्रम सम्बतले सबै जाति, भाषा, धर्म, संस्कृति र विविधतालाई समेटेको छ । बिक्रम सम्वत पूर्वीय ज्ञान–विज्ञानको क्षेत्रमा वैज्ञानिक तथा ब्यावहारिक पात्रो हो ।
यसै साथ : नववर्ष २०८१ आगमनको सुखद अवसरमा सबैको भलाई, सुख, समृद्धि होस् भन्ने हार्दिक प्रार्थना छ ।

;साभार -गाैतमजीकाे मुहारपुस्तिकाबाट
.............................
शुक्रबार, ३० चैत्र (मसान्त) २०८०