नेपाल सरकारले अर्को अधिवेशन (बजेट अधिवेशन) को लागि पर्याप्त समय हुँदाहुँदै अप्रत्यासित र असामयिक रुपले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको भन्दै नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।
सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा संघीय संसद भवनमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले जनताका प्रत्यक्ष सरोकारका विषयमा गैरजिम्मेवार हुँदै संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयको घोर भत्सर्ना र निन्दा गरेको छ । साथै सरकारलाई यस्ता अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका विरुद्ध कार्य नगर्न कडा चेतावनी दिने जनाएको दलले जनाएकाे छ ।
संघीय संसदमा सबै विपक्षी दलहरुले आमनागरिकसँग प्रत्यक्ष सरोकार भएको सहकारीमा बचत भएको रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको त्यसमा सरकारका केहि बहालवाला मन्त्रीसमेत संलग्न भएको विषय उठानबाट भाग्न सरकारले अधिवेशन अन्त्य गरेको नेपाली काँग्रेस संसदीय दलको आज बसेको बैठकले आरोप लगाएको छ ।
सरकारमा रहेका वहालवाला उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत संलग्न रहेको भन्दै स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानविनको सुनिश्चितताका निम्ति संसदीय छानविन समिति गठन गर्नुपर्ने विषयमा सरकारलाई विपक्षीको माग प्रति गम्भीर हुन नेपाली काँग्रेस साथै सत्तापक्षकै कतिपय साँसदले समेत सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।
सरकार संसदका प्रति उत्तरदायी हुनुपर्ने, जवाफदेही ढङ्गले प्रस्तुत हुनुपर्ने संसदीय मूल्य मान्यताका वर्खिलाप संसदीय अभ्यासमा आघात गर्ने र प्रकारात्मकले संसदीय व्यवस्थालाई कमजोर बनाउने हर्कत गरेको छ । प्रतिपक्षको अवरोधका कारण संसद चल्न नसकेको भनि सत्तापक्षबाट हुने गरेका तर्क हास्यास्पद मात्र होइन लज्जास्पद रहेको उसले जनाएको छ ।
“नेपाली कांग्रेस सहित विपक्षी दलहरुले उठाउँदै आएको लाखौं जनताले सहकारीमा जम्मा गरेको अरबौं रकम हिनामिना ठगी भएको र उक्त जनविरोधी अपराधजन्य कार्यमा स्वयं सरकारका मन्त्री संलग्न रहेको विषय घाम जस्तै छर्लङ्ग भई सकेको भन्दै यदि मन्त्रीको संलग्नता थिएन भने किन संसदीय छानविन समिति गठन गर्न तर्सिनु पर्ने ? किन सरकार सदनबाट भाग्नु पर्ने ?” विज्ञप्तिमा भनिएको छ ।
बैठकले सहकारी पिडितका पक्षमा, सहकारीको रकम ठगी गर्ने अपराधीका विरुद्धमा र यस विषयको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानविनको पक्षमा थप दृढतापूर्वक उभिई रहने प्रतिवद्धता जनाएको छ ।
नेपालपत्र संवाददाता