आइतबार, आश्विन १८ गते २०८३

भूमि अधिकार तथा श्रमिक संगठनको आयोजनामा महिला सशक्तिकरण महोत्सव हुँदै


चैत्र ३०, २०८० शुक्रबार
भूमि अधिकार तथा श्रमिक संगठनको आयोजनामा महिला सशक्तिकरण महोत्सव हुँदै


भूमि अधिकार तथा श्रमिक संगठन नेपालको रचनात्मक क्रियाकलाप विभागको संयोजन तथा व्यवस्थापनमा ‘महिला सशक्तिकरण महोत्सव– २०८१’ को आयोजना गरिएको छ । आज (बिहिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत नेकपाको ७५औं स्थापना दिवसको विशेष अवसरमा आगामी वैशाख १४ गतेदेखि २९ गतेसम्म महिला सशक्तिकरण महोत्सव आयोजना गरिएको जानकारी गराइएको हो ।

महोत्सवको मूल नारा ‘स्रोतसाधन र शक्तिमा समान अधिकार, महिला सशक्तिकरणको मूल आधार !’ रहेको छ । उक्त महोत्सव काठमाडौंको आलोकनगरमा आयोजना गरिएको छ । महोत्सवले महिला सशक्तिकरणको विविध आयामको सन्देश आम रूपमा बहसमा ल्याउन र विचार प्रवाहका साथै आ–आफ्नो व्यवसाय प्रवर्द्धनका माध्यमबाट आर्थिक सवलीकरण गर्न टेवा पुर्याउने अपेक्षा गरिएको छ । महोत्सवमा महिलाहरुबाट व्यापार व्यवसायका पसल स्टलहरु तथा चमेना गृहहरु सञ्चालन हुने बताइएको छ । साथै, विभिन्न प्रकारका मनोरञ्जनात्मक खेल तथा विविध साँस्कृतिक कार्यक्रमसमेत  सञ्चालन हुनेछन् ।

त्यसैगरी, महिला सशक्तिकरण विविध आयामका मुद्दामा वहस, छलफल तथा अन्तरक्रिया कार्यक्रम हुनेछ । त्यस्तै कार्यक्रममा भूमि अधिकारबाट बञ्चित महिला र असंगठित महिला श्रमिकहरुको व्यापक सहभागिता रहने आयोजकको भनाइ छ । महोत्सवलाई आफ्ना आवाज सुनाउने ठाउँ नपाएकाहरुको लागि सुनाउने ठाउँ ÷ मञ्च बनाइने बताइएको छ । भूमिअधिकार तथा श्रमिक संगठन नेपालकी अध्यक्ष शान्ता चौधरीले उक्त महोत्सव फरक प्रकृतिको भएकाले ऐतिहासिक बन्ने स्पष्ट पारिन् ।

महोत्सवलाई व्यवसायिक रुपले मात्रै नभएर नेतृत्व विकास गर्ने र महिला आन्दोलन र श्रमिक आन्दोलनमा लागेका महिलाहरुलाई बोलाएर बहस गर्ने उनको भनाई छ । महिला आन्दोलन र श्रमिक आन्दोलनमा लागेकाहरु अहिले काठमाडौं केन्द्रीत भएको कारण काठमाडौंबाट यसप्रकारको महोत्सवको सुरुवात गरिएको उनको भनाइ छ ।