सडकमार्गहुँदै काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख नाका नागढुंगामा बनिरहेको सुरूङ्ग मार्ग ब्रेक थ्रुको नजिक पुगेको छ। काठमाडौँको दहचोकदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुङ्गा सुरुङमार्ग छिचोलिने करिब दुई मिटर मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुन दुई मिटर मात्र बाँकी छ, सबै कुरा यथावत् रहे वैशाखको ३–४ गतेसम्म छिचोलिसक्ने जनाएका हुन् । केहि दिन अघि रहेको स्थानीयबासीको अवरोध हटेको र काम सुचारू भइरहेको उनले जनाए ।
सुरुङ ‘ब्रेक थ्रु’ भए पनि सुरुङमार्गबाट गाडी गुड्नसक्ने बन्न भने एक वर्षको समय लाग्ने जनाइएको छ । सडकको फिनिसिङ, लाइटिङ, आकस्मिकद्वार, एयर कन्डिसनरको व्यवस्था गर्न बाँकी रहेकाले सवारी गुडाउन समय लाग्ने भएको हो ।
आयोजनाको कुल लागत २० अर्ब ६० करोड रुपियाँ रहेकोमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को तर्फबाट १५ अर्ब ८० करोड र नेपाल सरकारको तर्फबाट चार अर्ब ८० करोड रुपियाँ खर्च गरिने छ ।
सुरुङमार्ग निर्माणका लागि जाइकाले सन् २०१५ मा प्रारम्भिक अध्ययन गरेको थियो । जाइकासँग शून्य दशमलव १ प्रतिशत ब्याजदरमा ४० वर्षभित्र फिर्ता गर्नेगरी सो ऋण सम्झौता भएको हो । यो सुरुङमार्ग जापानको हाज्मा आन्द्रो कम्पनीले निर्माण गरिरहेको छ ।
कुल लम्बाइ २।६८८ किलोमिटर रहेको सुरुङ मार्गमा ३।५ मिटर चौडाइका दुई वटा लेन रहने र दुवैतर्फ पानी बग्ने नालीहरू रहने जनाइएको छ । पुल, कल्भर्ट र अन्य संरचना १२ वटा हुनेछ । चौबीसै घण्टा भेन्टिलेसन रहने सुरुङ मार्गमा आपत्कालीन उद्धार प्रणाली पनि हुने बताइएको छ ।