बैदेशिक रोजगारमा जाने नेपाली श्रमिकले अब एक घण्टामै श्रम स्वीकृत पाउने भएका छन् । ताहाचलस्थित बैदेशिक रोजगार कार्यालयले आइतबारबाट यस्तो सेवा सुरु गर्न लागेको हो ।
श्रमिकले अनलाइन प्रक्रियाबाट एक घण्टामा श्रम स्वीकृत पाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले बताए । यस सेवाको शुभारम्भ गर्दै उनले यसले अनियमितता र विकृति कम गर्न सहयोग गर्ने बताए । हाल बैदेशिक रोजगारमा जाने कामदारलाई श्रम स्वीकृत लिन चार दिनसम्म समय लाग्ने गरेको छ । अनलाइनमार्फत आवेदन दिने लगायतका प्रक्रिया पूरा गरेको चार दिनमा बल्ल श्रम स्वीकृत प्राप्त हुने गरेकोमा अब अनलाइनमार्फत आवेदन दिएको एक घण्टामै श्रम स्वीकृत पाउन सकिने छ ।
अर्यालले पत्रकार सम्मेलनमा कार्यालय समयभित्र अनलाइनबाट कागजात पेश गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गरिने बताए । उनले पहिलो पटक यो प्रयास सुरूवात भएको भन्दै भोलिका दिनमा पनि यसले निरन्तरता पाउने बताए ।
नेपालपत्र संवाददाता