शनिबार, आश्विन १७ गते २०८३

आठ महिनामा १० खर्बको आयात १ खर्बको निर्यात


चैत्र २३, २०८० शुक्रबार
आठ महिनामा १० खर्बको आयात १ खर्बको निर्यात


चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो आठ महिनामा १० खर्बको वस्तु मुलुकमा आयात भएको छ भने १ खर्बको वस्तु बाहिरी राष्ट्रमा निर्यात भएको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको सो अवधिको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्ममा कुल वस्तु आयात २.७ प्रतिशतले कमी आई रु. १०३० अर्ब २२ करोड कायम भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९.१ प्रतिशतले कमी आएको थियो । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.८ प्रतिशत र २२.९ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३३.७ प्रतिशतले बढेको छ । 

यता मुलुकको निर्यात व्यापारमा समेत कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा कुल वस्तु निर्यात ४.० प्रतिशतले कमी आई रु.१०० अर्ब ६२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २९.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ७.७ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः २७५.५ प्रतिशत र ०.३ प्रतिशतले वृद्धि भएको छ ।