शुक्रबार, कार्तिक ७ गते २०८३

यस देशको राजनीतिको अपराधीकरण भईसकेको छ.... : अरविन्द केजरीवाल


चैत्र २१, २०८० बुधबार
यस देशको राजनीतिको अपराधीकरण भईसकेको छ.... : अरविन्द केजरीवाल

भारतको राजधानी प्रदेश दिल्लीका सातौँ मूख्यमन्त्री अरविन्द केजरीवाल (१९६८– ) आयकर विभागको ज्वाईन्ट कमिश्नरका रुपमा पूर्वसरकारी कर्मचारी (१९९५–२००६), अन्ना हजारेको भ्रष्टाचारविरोधी ‘जनलोकपाल आन्दोलन’का एक मूख्य सारथी, एशियाको नोबेल पुरस्कार भनिने रामन म्यागसेसे पुरस्कार विजेता र हाल भारतमा स्वच्छ राजनीतिको प्रतिक भएर उदाएको ‘आम आदमी पार्टी’ (स्था. २०१२) का राष्ट्रिय संयोजक हुन् ।
रक्सीमा नीतिगत भ्रष्टाचार गरी भा.रू. ३३८ करोड घुस लिएको, सो रकम गोवा राज्यको निर्वाचनमा खर्च गरेको र नीतिगत हेरफेरको लागि आफ्नै निवासमा दिल्ली राज्य सरकारको क्याबिनेट बैठक राखेको अभियोग लगाएर भारतको प्रवर्तन निर्देशालय (Enforcement Directorate : ED) ले गत २१ मार्चमा मूख्यमन्त्री केजरीवाललाई पक्राउ गरी हिरासतमा राखेको छ।
हाल उनी हिरासतबाटै दिल्ली राज्य सरकार चलाई रहेका छन् । उनको गिरफ्तारी बिरुद्ध २८ पार्टी सम्मिलित INDIA राजनीतिक गठबन्धनले ऐक्यबद्धता जताईरहेको छ । पदमा बहाल रहेर पक्राउ र हिरासत भोग्ने उनी पहिलो भारतीय मूख्यमन्त्री भएका छन् ।
अघिल्लोपटक अल्पमतको प्रदेश सरकार बनाएर विश्वासको मत नपाएपछि ४९ दिनमै उनको सरकार भंग भएको स्थितिलाई प्रधानमन्त्री नरेन्द्र मोदीले ‘AK 49’ भनी उडाउने गर्थे । ‘खाँसीवाले’, ‘गलबन्दीवाले’, ‘स्वेटरवाले’ आदि निजात्मक जीवनशैलीका विषयलाई लिएर पनि उनलाई उडाउने काम भयो । जवाफमा उनी पनि ‘भाजपा निराधार हल्लाहरूको राष्ट्रिय उद्योग हो’ भन्ने गर्छन् ।
हरयाणाको अग्रवाल समुदायको शिक्षित परिवार र ईलेक्ट्रिकल ईन्जिनियरका २ छोरा अरविन्द र गोविन्दराममध्ये यिनी जेठा हुन् । यिनकी एक बहिनी पनि छन् गीता देवी । विगतमा भाजपाका नेताहरू नितिन गडकरी, अरुण जेट्ली, कीर्ति आजाद, काँग्रेस नेता कपिल सिब्बल जस्ता हस्तीलाई भ्रष्ट भनी एक्सपोज गर्ने हुँदा दशौँ करोड क्षतिपूर्ति माग राखी उनीहरूले मानहानी मुद्दा दिएपछि यिनले ती नेताहरूसँग लिखित माफी माग्नुपरेको थियो ।
सन् २०१० मा भएको एशियाली खेलकूदको अवसरमा केजरीवालले भ्रष्टाचार विरोधी आवाजलाई मुखरित गरे। उनले नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ कै जस्तो अर्धन्यायिक अधिकारसहितको संवैधानिक संस्था स्थापना गरी केन्द्रमा ‘लोकपाल’ र राज्यहरूमा ‘लोकायुक्त’को व्यवस्थाको माग रहेको अन्ना हजारेको लोकपाल आन्दोलनमा हलचल ल्याए।

नेपालमा एकपटक पनि चुनाब नगराई ‘बाँदरको हातमा नरिवल’ का रुपमा फालिएको स्थानीय स्वायत्त शासन ऐन, २०५५ र त्यससम्बन्धी नियमावली २०५६ लाई यिनले अध्ययन गरेर विकेन्द्रीकरणको उत्कृष्ट उदाहरण भनी प्रशंसा गरेका थिए । तर आज उक्त ऐन र नियमावलीलाई त चिहानमा पुर्याईसकियो, अख्तियारको अधिकारक्षेत्र खुम्च्याउने षड्यन्त्र खुब चलिरहेको छ ।
केजरीवालले भनेजस्तो ‘राजनीतिको अपराधीकरण’ त नेपालमा झन् यसैगरी भईरहेको छ । त्यसो त केजरीवालको पार्टीलाई गुरु थापेर बाबुरामले विघटित ‘नयाँ शक्ति’ र रविन्द्र मिश्रहरूको ‘विवेकशील साझा पार्टी’ स्थापना नभएको होइन । नक्कल गर्नु, जुनसुकै कुरालाई पनि फेसनको रुपमा लिनुले सफल राजनीति हुनु थिएन, भएन ।
२०१३–१४ को ४९ दिने सरकार भंग भएपछिको आमनिर्वाचनमा उनी मोदीका विरुद्ध संसदीय चुनाब प्रतिष्पर्धा गर्न बनारस नै गएपछि दिल्लीका जनताले र्याखर्याख्ती पार्दै सोधेका थिए, “तपाईँको कर्मभूमि कहाँ हो पहिले हामीलाई प्रष्ट नपारी भोट पाउनु हुन्न....।” त्यसपछि आफू दिल्ली छोडेर अन्यत्र चुनाब नलड्ने उनले वाचा गरे ।
केजरीवालको विगत कार्यकालमा दिल्लीको विजुली, खानेपानी, सरसफाई, यातायात व्यवस्थापनजस्ता आधारभूत आवश्यकता परिपूर्तिमा उल्लेखनीय सुधारबाट राजधानीका जनता खुसी भएकोले आम आद्मी पार्टीको राम्रो बर्चश्व देखिन्छ । कोरोना महामारीको अवस्थामा पनि उनको नेतृत्वको प्रदेश सरकारले उत्कृष्ट सेवा सम्पादन गरेको छ। सन् २०२२ मा भएको प्रान्तीय निर्वाचनमा उनको पार्टीले दिल्लीका अतिरिक्त पञ्जाब जस्तो अत्यन्त महत्वपूर्ण भारतीय राज्यमा दुईतिहाइ बहुमत पाएर सरकार गठन गरेकोले पनि यस पार्टीको वर्चश्व र प्रभाव निरन्तर विस्तार भएको प्रमाणित भएको छ।
अरविन्द केजरीवाल र उनको आम आद्मी पार्टी (AAP) सत्तारुढ भारतीय जनता पार्टी (BJP) को प्रभावशाली बिरोधी हुँदै फैलिरहेको शक्ति ठहर गरी भाजपा नेतृत्वको केन्द्र सरकारले केजरीवाललाई फसाउने साजिश रचिएको भन्ने प्रतिपक्षीहरूको आरोप छ। आफ्ना बिरोधीलाई निमिट्यान्न पार्ने भाजपा को सरकारको रणनीति रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनले अपनाएको रणनीतिकै अनुकरण हो भन्ने विपक्षी आरोपमा दम देखिन्छ ।

साभार - गाैतमजीकाे मुहारपुस्तिका