आइतबार, आश्विन १८ गते २०८३

शहबाज शरीफसँग बाइडेनको पत्राचारको रणनीतिक सन्देश


चैत्र १९, २०८० सोमबार
शहबाज शरीफसँग बाइडेनको पत्राचारको रणनीतिक सन्देश

आफ्नो राष्ट्रपतीय कार्यकालको समाप्तिभन्दा पहिले अमेरिकी राष्ट्रपति जो बाइडेनले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफलाई एउटा पत्र लेखेका रहेछन् जसको अत्यन्तै दूरगामी परिणाम हुने अनुमान बिश्लेषकहरुले गरिरहेका छन् । हुन त दुइ देशका शासन प्रमुखहरुका बीच आपसी सम्बाद आजकल फोनबाटै पनि हुने गर्दछ र प्रायजसो त्यसै हुने गर्दछ पनि । तर बाइडेनले पत्रै लेखेर जुन महत्वपूर्ण सन्देश भारत लगायत अन्य क्षेत्रका देशहरुलाई दिन खोजेका छन् त्यो निकै नै महत्वपूर्ण ठानिदैछ । यसले अमेरिका र पाकिस्तानको सम्वन्धमा नयाँ निकटताको अर्को अध्याय थपेको त मानिदैछ नै । यसमा अझ ध्यान दिइनु पर्ने कुरा के उल्लेख गरिन्छ भने यो पत्र इस्लामाबादमा रहेको अमेरिकी दूतावासले सार्बजनिक गरेको छ । त्यस पत्रमा सबैभन्दा महत्वपूर्ण कुरा के रहेको छ भने अमेरिका र पाकिस्तान क्षेत्रीय र बिश्व मामिलामा ‘राजनीतिक सहयोग’ जारी राख्ने छन् । यो राजनीतिक सहयोग भन्ने शब्दावली भारतका लागि चिन्ता र चासोको बिषय भएको या हुनसकने एकथरी भारतीय बिश्लेषकहरुले बताएका छन् । तर यसको भित्री मकसद भने त्योभन्दा अझ भिन्न र महत्वपूर्ण रहको औंल्याउँदै छन् । यस सम्बन्धमा उनीहरु के पनि भन्दैछन् भने यो बाइडेनले यो पत्र त्यतिबेला लेखेका छन् जतिबेला भारतमा आम निर्बाचन हुन लागेको छ र अमेरिकाले भारतलाई लोकतन्त्रको उपदेश दिइरहेको छ ।

अमेरिकिाको रणनीतिक लक्ष एकदमै स्पष्टै छ । अमेरिकाले पाकिस्तानबाट चीनलाई बेदखल गर्न चाहन्छ र ईरानका बिरुद्ध पाकिस्तानलाई खडा गर्न चाहन्छ । यस सम्बन्धमा के पनि उल्लेख गरिन्छ भने पाकिस्तानमा इमरान खानको सत्ताबाट हटाउनका लागि अमेरिकाले निकै ठूलो भूमिका खेल्यो । इमारान खान पार्टीका नेताहरुको कुरा सुन्ने हो भने अमेरिका शहबाज सरीफ सरकारलाई आफ्नो मुठ्ठीको कठपुतली सरह चलाउन चाहन्छ । भनिन्छ आफ्ना अनेक राजनीतिक कमजोरीका रहँदा रहँदै पनि इमरान खानले पाकिस्तानलाई स्वतन्त्र बिदेश नीतिको बाटोमा लान खोजेका र त्यसका निम्ति कोशिश गरेका थिए । त्यसै शिलशिलामा उनी रुसको भ्रमणमा पनि गएका थिए । भनिन्छ त्यही उनको सत्ता–राजनीतिक कार्यकालको अन्त्यको शुरुवात भएको र एउटा प्रमुख कारक बन्न पुग्यो ।

पाकिस्तानको राजनीतिक उथलपुथलको क्रममा पाकिस्तानका सेना अध्यक्ष असीम मुनीर र गुप्तचर एजेन्सी आईएसआई प्रमुखले वाशिङ्गटनमा अमेरिकी उच्च अधिकारीहरुसँग कुराकानी पनि गरेका बताइन्छ । त्यसैले बिश्लेषकहरु सहज अनुमान के लगाउने गर्दछन् भने त्यसै क्रममा पाकिस्तानको भाबी राजनीतिक परिदृष्यको लेखाजोखा गरियो होला ।  हुन पनि बितेका केही दिन पहिला पाकिस्तानमा चीनको आर्थिक हित बिरुद्धमा भएको पनि देखियो  र त्यसमा चीनका प्रशिक्षितकर्मीहरु पनि मारिएका थिए । यसका अतिरिक्त अमेरिकाको तर्फबाट के पनि स्ष्ट गरिएको बताइन्छ भने अमेरिका ईरान–पाकिस्तान तेल ग्यास पाइपलाईनको पक्षमा छैन । आफ्नो गिर्दो आर्थिक अबस्थाबाट बाहिर निस्कनका लागि पाकिस्तानलाई आईएमएफ र बिश्व बैंकको ऋणको आवश्यकता भएको र अमेरिकी प्रभावका ती बिश्वका बित्तीय सस्थाहरुले पाकिस्तानलाई त्यतिबेला मात्र ऋण दिने छन् जब पाकिस्तानले अमेरिकी रणनीतिक हितलाई पूरा गर्नेछ । हालका लागि अमेरिका यस कुरामा सावधान रहँदै गएको देखिन्छ कि उसले भारतसँगका आफ्ना ब्यापक राणनीतिक सम्वन्धमा नकारात्मक प्रभाव पर्न दिइनु हुँदैन । त्यसै कारणले हो कि पाकिस्तामा भारतसँग ब्यापारिक सम्वन्ध बहाल गर्ने बिषयमा चर्चा शुरु भइसकेको छ । भारतमा भने यतिबेला लोकसभा चुनावको मौसम भएकाले पनि उपमहाँद्विपमा बद्लिदै गएको शक्ति समीकरणमाथि खाशै महत्व दिने कुरामा ध्यान केन्द्रित छैन । चुनाव पछि बन्ने सरकारले त्यसबारे प्राथमिकता र झुकाव के कस्तो हुने प्रष्ट पार्ला नै । यसै बिच यूक्रेका बिदेशमनत्री कुलेवाको भारत यात्रालाई भारतीय बिदेशमन्त्री एस जयशंकरले निकै चतुर तरीकाले ब्यवस्थापन गरेको बताइदैछ । पहिला के सन्देह गरिदै थियो भने रुसले कुवेलाको भारत भ्रमणलाई पचाउन कठिन छ । तर उनको त्यो यात्रा पछि भारतीय बिदेश मन्त्रालयले जुन बिज्ञप्ति निकाल्यो त्यसमा रुसको उल्लेखसम्म पनि गरेन ।

आउँदा केही महिनाको समयमा पश्चिम एशियाको संकटको केन्द्रबिन्दू ईरान बन्ने देखिदैछ । गाजा नरसंहार बर्बादीको समयमा ईरान अमेरिकाको राडारमा केही धुमिल जस्तो देखिन पुगेको थियो । अब भने अमेरिका र इज्रायललाई कुन चिन्ताले सताउन थालेको उल्लेख गरिन्छ भने ईरानका परमाणु संस्थाहरुले खुलासा गरिरहेका छन् कि ईरानसँग झण्डै एक दर्जन परमाण बम बनाउन सक्ने परिष्कृत यूरेनियम उपलब्ध छ । यसमा हरेका साता बृद्धि पनि भइरहेको छ । यो यस्तो रेडलाईन हो जसलाई पार गर्ने अनुमति अमेरिकाले दिन सक्तैन भन्ने ढोल पनि पिटिदैछ ।यस रणनीतिक लक्ष पूरा गर्नमा पाकिस्तानले अमेरिकाको निम्ति  निर्णायक भूमिका  खेल्नसक्ने देखिन्छ ।  शिया–सुन्नी धार्मिक बिभाजनलाई तुल दिएर अमेरिका साऊदी अरब, कतार, यूएई र बहराइन जस्ता देशहरुसँग ईरान बिरोधी मोर्चा कायम गर्नसकने सम्भावना पनि त्यत्तिकै  छ । हुन त हालै ईरानले रुस र चीनसँग मिलेर त्यस क्षेत्रमा ठूलो स्तरमा नौ–सैनिक अभ्यास पनि गरेको छ । जे भए पन कुन सन्देहलाई अस्वीकार गर्न सकिदैन भने आउदा दिनहरुमा त्यो समुद्र क्षेत्रमा ठूलो आगो लाग्न पनि सक्तछ । तर स्थिति बिकास बाइडेन र शरीफले सोचे जस्तो सरल रेखामा जाला भनेर निष्कर्श निकाल्न पनि उपयुक्त नहुन सक्छ । आजको बिश्व परिबेशलाई समग्रमा हेरेर मात्र स्थिति बिकास कसरी होला ठम्याउन सकिन्छ । चीनको बढ्दो बिश्व प्रभाव र शक्तिलाई ध्यानमा राखेर बनाइएको क्षेत्रीय र बिश्व रणनीतिको हिसाव किताब चीनले पनि लिने कुरा निश्चितै छ ।