‘प्रोटेक्ट योर मनि, सेक्योर योर फ्युचर’ भन्ने नाराका साथ यस पटकको ‘ग्लोबल मनि विक २०२४’ शुरु भएको छ ।
सप्ताहव्यापी कार्यक्रमको शुरुवात गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय पहुँचका लागि वित्तीय सचेतना अनिवार्य रहेको जनाए । राष्ट्र बैंकमा आयोजित शुभारम्भ समारोहमा उपस्थिति विद्यार्थीलाई लक्षित गर्दै बचत भनेको भोलि कमाएर मात्र गर्ने मात्रै होइन, भाइबहिनीहरुले सानैदेखि आफ्नो पकेटखर्च जोगाएर बचत गर्न थाले भविष्यका लागि सहयोगी हुने गभर्नर अधिकारीले उल्लेख गरे ।
साताभर हुने कार्यक्रममा अन्य नियामक निकाय एवं सहकारी संस्थाहरुको समेत सहभागिता हुने अपेक्षा गभर्नर अधिकारीको थियो । ओइसीडीले प्रत्येक वर्ष मनाउँदै आएको यो कार्यक्रमको १२औं संस्करण मार्च १८ देखि २४ सम्म मनाइनेछ ।
विश्वव्यापी रुपमा मनाइने यो जागरूकता अभियानले युवाहरूलाई सानैदेखि, तिनीहरू आर्थिक रूपमा सचेत छन्, र सही वित्तीय निर्णयहरू गर्न आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरू क्रमश: प्राप्त गर्दैछन् भन्ने सुनिश्चित गर्न खोज्छ । उनीहरु वित्तीय रुपमा सबल बनुन् र वित्तीय आधार प्राप्त गर्न सकुन् भन्ने ध्येय र ‘ग्लोबल मनि विक’ को रहेको छ।