शनिबार, आश्विन १७ गते २०८३

आरबीबीएल म्यानेजमेन्ट कन्फरेन्स, आर्थिक वृद्धिदर बढाउनुपर्नेमा जोड


चैत्र ४, २०८० आइतबार
आरबीबीएल म्यानेजमेन्ट कन्फरेन्स, आर्थिक वृद्धिदर बढाउनुपर्नेमा जोड

 

राष्ट्रिय बाणिज्य बैंकको आयोजनामा आयोजित म्यानेजमेन्ट कन्फरेन्स सम्पन्न भएको छ । हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरुको बारेमा अर्थविद्, बैंकिङ्ग विज्ञ तथा उद्यमीहरुका बीचमा ब्यापक छलफल गरी बैंकिङ्ग क्षेत्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ्ग विकासका लागि दिशा निर्देशका लागि बैंकले कन्फरेन्स गरेको जनाएको छ । 

प्रमुख अतिथि एवं माननीय अर्थमन्त्री बर्षमान पुनले कन्फरेन्सको उद्घाटन गरेका थिए । कार्यक्रममा अर्थविद् डा. स्वर्णीम वाग्लेले विकसित राष्ट्रहरुको आर्थिक वृद्धिदर कम हुने र नेपाल जस्तो विकासोन्मुख देशको आर्थिक वृद्धिदर बढी हुनुपर्ने भएता पनि सो अनुरुप हुन नसकेको बताए । आर्थिक सुशासन कायम भएको खण्डमा ७–८ प्रतिशत आर्थिक वृद्धि सम्भव रहेको तर हाल कोभिड–१९ को प्रभावले वृद्धिदर कम रहेको उनले जनाए । बजेटको आकार अनुसार पूँजीगत खर्च नभएकाले आर्थिक क्रियाकलाप चलायमान हुन नसकेको, विदेशी क्षेत्र अन्तर्गत भारतीय मुद्रासँगको पेग दिगो नरहेको तर हाम्रो आर्थिक अवस्था अहिले कमजोर भएकाले ठिकै मान्नुपर्ने अवस्था रहेको उनले बताए । देशमा “नाफा जति निजीकरण, घाटाजति सार्वजनिकीकरण”को अवस्था भएमा आर्थिक विकासमा फड्को मार्न नसकिने उनको भनाई थियो । 

अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. रामप्रसाद घिमिरेले हाम्रो अर्थतन्त्रको आकार अनुसार हाम्रो आर्थिक वृद्धिदर निकै न्यून रहेको बताए । वर्तमान अर्थतन्त्रका प्रमुख ३ चुनौतिका रुपमा उत्पादन वृद्धि, रोजगारीमा वृद्धि र पूँजीगत खर्चको वृद्धि रहेको उनले उल्लेख गरे । 

अर्थविद् एवं राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले हाल तरलताको अवस्था सकारात्मक रहेको, विदेशी मुद्राको सञ्चिति राम्रो अवस्थामा रहेको, ब्याजदर न्यून रहेको अवस्था हुँदाहुँदै पनि निजी क्षेत्र आशावादी हुन नसकेको, आन्तरिक मागमा कमी आएको, श्रमको अभाव भएको, उत्पादनशीलता बढ्न नसेको अवस्थाका कारण अर्थतन्त्रमा आशातित गतिशीलता आउन नसके भएपनि अर्थतन्त्र सकारात्मक दिशामै अगाडि बढ्ने संकेत देखिएकोले आशा गर्ने ठाउँ भने रहेको जनाए ।   

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्यमी भवानी राणाले बैंकिङ्ग क्षेत्रमा पर्याप्त स्रोत हुँदाहुँदै पनि कर्जा लगानी हुन नसक्नुका कारण पत्ता लगाउन निजी क्षेत्र र बैंकिङ्ग क्षेत्रबीच ‘ग्याप एनालिसिस’ गर्नुपर्ने बताए । 

बैंकर परशुराम कुँवरले बैंकिङ्ग क्षेत्रको विकासमा धेरै फड्को मारेका अवस्था भए पनि प्रविधिको क्षेत्रमा अझै पनि धेरै कार्य गर्न बाँकी रहेको बताउँदै भारतको बैंकिङ्ग प्रविधिबाट धेरै कुरा सिक्न सकिने उल्लेख गरे । 

फिनटेक विज्ञ संजीव सुब्बाले नेपाल राष्ट्र बैंकको नियामकीय भूमिका महत्वपूर्ण रहेकोमा अर्थतन्त्रमा सूचना प्रविधिको प्रयोगबाट रुपान्तरण सम्भव रहेको जनाउँदै बैंकिङ्ग क्षेत्रले सूचना प्रविधिको उपयोगको सन्दर्भमा कोर बैंकिङ्ग सिस्टमभन्दा बाहिर पनि सोच्ने बेला आईसकेको जनाए । 

बरिष्ठ बैंकर भुवन दाहाल तथा किरणकुमार श्रेष्ठ, कमनसेन्स विज्ञ सुजीब शाक्य लगायतले विषयगत रुपमा आ–आफ्नो प्रस्तुतिकरण गरेका थिए ।