बुधबार, भाद्र ३ गते २०८३

बिकास (संसारका ग्रामीण समुदायप्रति समर्पित )

फाल्गुण २४, २०८० बिहीबार
बिकास (संसारका ग्रामीण समुदायप्रति समर्पित )
 
-कवि सन्तोष कुमार पोखरेल
 
गाउँले बिकास कस्तो हुन्छ भन्ने कुरो सुनेको थियो
बिकास झुलूक्क देखा पर्यो
आयो मुख देखयो
अनि थाहै नदिई हरायो ,
कता हरायो कसैलाई थाहा भएन ।
पहिलाजस्तै फेरि बिहान भयो
सुर्य पूर्वमा फेरि उदायो, न मुस्कुरायो
यस पटक पनि हेरिमात्र रह्यो लाचार ।
नाति केटो स्कूलको फिश भरिदिन गनगन गर्दै थियो
बाउ कोदालो काँधमा हालेर निस्क्यो
आमा ले आज पनि धोतीको फेरको गाँठो खोलिन्
त्यहाँ पैसो थिएन।
भुडीभरि भात् नखाइकनै नाति निस्क्यो।
पल्लो छिमेकमा कलह सुनियो
छोरोले तासमा बाउको पैसो हारेछ
बाउ बम्किंदै थियो
छोरो चुप थियो,
छोरी सुँक्क सुँक्क रोएको सुनियो
उसको बिहेलाई राखेको पैसो सकिएछ ।
यो कुरो नातिले पनि सुन्यो, उ टोलायो
टोलाउदै स्कूल पुगिसकेछ
गेट्मै शिक्षकले सोधेछन्
आज फिश ल्यायौ?
यो बर्ष पनि पानी बेस्सरी परेछ त्यो गाउँमा
फसल पाकिसकेछ,
शहरमा सरकार बदलिएको हल्ला थियो,
गाउँमा भने चैंन थियो।
बतास चलेको थियो चिसो चिसो
चाड पर्व सबै एकैपटक आउँदै थिए
आमाले धोतीको फेरको गाँठो छामिन्।
त्यहाँ केही थिएन।
हजुरबाउ किंर्तव्यबिमूढ यो सब हेरिरहेको थियो।
नातिलाई झ्वाँक चलिरहेको थियो
उ टोलाएर हराएछ पराई देशमा।
(सर्वाधिकार कविमैं सुरक्षित।)
मार्च ७, २०२४। भक्तपुर, नेपाल ।