काठमाडौं, ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ले दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन गर्ने भएको छ । ब्लोदानले पत्रकार सम्मेलन गरी दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन आगामी फागुन २६ र २७ गते आयोजना गरिएको जानकारी गराएको हो ।
सम्मेलनमा भारत र अन्य देशका गरी १८ जना विदेशी प्रतिनिधिहरु सहभागी रहने ब्लोदानले जनाएको छ । स्थानीय क्लब, संघ–संस्था, तथा व्यक्ति गरी करिब ३ सय जनाको सहभागिता सम्मेलनमा रहने बताइएको छ ।
ब्लोदानले रगतको सोधभर्ना दिनुपर्ने, दान गरेको रगतको शुल्क तिर्नुपर्ने, समयमै रगत नपाउने, रगतको भण्डारणमा समस्या उत्पन्न हुने, दक्ष जनशक्ति र उपकरणको अभाव हुने आदि समस्यालाई न्यूनीकरण गर्नका लागि राष्ट्रिय रक्तसञ्चार नीतिलाई समयानुकूल परिमार्जन एवं व्यवस्थित गर्नु अबको थप चुनौती रहेको बताएको छ ।
ब्लोदानका केन्द्रीय उपाध्यक्ष तथा दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन प्रचार प्रसार उपसमितिका संयोजक राजेश श्रेष्ठले रक्त सञ्चार सेवामा सुधार ल्याउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताए ।
ब्लोदानका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापतिले आफूहरु निरन्तर रक्तदान अभियानमा रहेको बताए । विरामीको उपचारमा रगतको अभाव नहोस् भनेर आफूहरुले नेपाली रक्तदाताहरुलाई अभिप्रेरित गर्ने प्रयास जारी राखेको बताए । यस अघि २०७० जेठ ३० र ३१ गते प्रथम अन्तर्राष्ट्रिय रक्त सम्मेलन आयोजना गरिएको थियो ।
नेपालपत्र संवाददाता