बुधबार, भाद्र ३ गते २०८३

बीमकहरुले कृषि बीमालेख जारी नगर्ने, बाँकी भुक्तानीका लागि सरकारलाई दवाब

फाल्गुण २३, २०८० बुधबार
बीमकहरुले कृषि बीमालेख जारी नगर्ने, बाँकी भुक्तानीका लागि सरकारलाई दवाब

 

बीमा कम्पनीहरूले कृषि बीमालेख स्थगन गर्ने जनाएका छन् । सरकारले कृषि बीमा वापतको २ अर्ब रुपैयाँ भुक्तानी नदिएपछि कृषि सम्बन्धि बीमालेख चैत्र १ गतेबाट जारी नगर्ने चेतावनी बीमा कम्पनीहरूले दिएका हुन् । 

कृषि बीमाको अनुदान वापतको बाँकी रकम सरकारले नदिएपछि नेपाल बीमक संघले प्रेस  विज्ञप्ती जारी गर्दै कृषि सम्बन्धि बीमालेखको पुरा बीमाशुल्क प्राप्त भएपछि मात्र बीमालेख जारी गर्ने बताएको छ । 

संघले भनेको छ, ‘बीमा ऐन २०७९ अनुसार बीमालेखहरू उधारोमा जारी गर्न नपाइने भएकोले कृषि मन्त्रालय तथा विभागलाई पटक पटक जानकारी गराईएको हो । चैत्र १ गतेदेखि कृषिसँग सम्बन्धित बीमालेखको पनि बीमाशुल्क पुरा भूक्तान नभएसम्म बीमालेख जारी नहुने सर्वसाधारण तथा सरोकारवाला निकायलाई जानकारी गराउँदछौ ।’ 

सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशुल्कमा क्रमश: अनुदान दिँदै आएको छ । विगत १० वर्षदेखि बीमा कम्पनीहरूले नेपाल बीमा प्राधिकरणको निर्देशिका बमोजिम कृषि बीमालेख जारी गर्ने, क्षति हुँदा क्षतिको दाबी भूक्तानी गर्ने गर्दै आएका छन् तर सरकारले तोकेको अनुदान १ वर्षपछि मात्र प्राप्त हुने गरेको बीमक संघले जनाएको छ ।

सरकारले कृषि बीमाशुल्कमा तोकेको अनुदान रकमवापद बीमा कम्पनीहरूलाई हालसम्म २ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ । सो अनुदान रकम उपलब्ध गराउन सरोकारवाला निकायहरु कृषि तथा पशुपछि मन्त्रालय, कृषि विभाग र बीमा प्राधिकरणमा ताकेता गर्दा समेत सुनुवाइ नभएको गुनासो बीमा कम्पनीहरुको छ ।